Comments Add Comment

साढे ११ सय नयाँसहित ६,४९४ आयोजना प्रोजेक्ट बैंकमा

८ असोज, काठमाडौं । देशभरबाट साढे ६ हजार वटा आयोजना प्रोजेक्ट बैंकमा समावेश भएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार, यीमध्ये १ हजार १ सय ५३ वटा आयोजना नयाँ हुन् । ५ हजार ३ सय ४१ आयोजना कार्यान्वयनको चरणमा छन् ।

सरकारले १५औं आवधिक योजनाबाट प्रोजेक्ट बैंकको अवधारणा ल्याएको हो । पूर्वतयारी सकिएका आयोजना प्रोजेक्ट बैंकमा समावेश गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पार्दा कार्यान्वयन प्रभावकारी हुने योजना आयोगको अपेक्षा छ ।

आयोगले योजनावद्ध र औचित्य पुष्टि भएका आयोजनालाई मात्र बजेटमा पार्ने उद्देश्यले प्रोजेक्ट बैंकको अवधारणा ल्याएको हो । आयोगका अनुसार, प्रोजेक्ट बैंकको पूर्ण कार्यान्वयनका लागि आर्थिक वर्ष २०७९/०८० सम्म लाग्ने छ ।

बजेट निर्माणका क्रममा प्रोजेक्ट बैंककै आधारमा आयोजनाको पुनःप्राथमिकीकरण गरिने र त्यसरी सन्चालित परियोजना कुन चरणमा छ भनेर थाहा हुने योजना आयोग बताउँछ ।

त्यसरी छानिएका आयोजनाहरु आगामी आर्थिक वर्षको लागि बजेट पाउन योग्य बन्नेछन् । प्राथमिकतामा पर्ने आयोजनालाई एयरमार्क नै गरेर मन्त्रालयहरुमा बजेटको सिलिङ जानेछ । यसरी प्राथमिकता प्राप्त, १५औं योजनाले अगाडि बढाउन खोजेको र तयारी अवस्थामा रहेका आयोजनाले पुग्दो बजेट पाउँछन् ।

विगतमा आयोजनालाई बजेटमा पार्न कुनै खास मापदण्ड थिएन । खुद्रे आयोजनाहरुमा अन्धाधुन्ध बजेट खनाइन्थ्यो । कतिपय आयोजना शुरु भएपनि औचित्य पुष्टि हुन नसकेर अलपत्र छन् । कतिपय आयोजना अगाडि बढे पनि स्रोत अभावका कारण सरकारले हरेक वर्ष बजेट दिन सकेको छैन ।

आयोजनाहरु यसरी अलपत्र नपरुन् भन्ने उद्देश्यले प्रोजेक्ट बैंकको अवधारणा ल्याइएको हो ।

यो पनि पढ्नुहोस ‘प्रोजेक्ट बैंक’ कार्यान्वयनमा, रोकिएला त खल्तीका योजना झिक्ने सिलसिला ?

पूर्वतयारी सकिएका आयोजनालाई मात्र बजेट

प्रोजेक्ट बैंकमा समावेश भएका आयोजनाहरुलाई योजना आयोगले बनाएको मापदण्डमा आधारित रहेर बजेट विनियोजन गरिन्छ । अब कार्यान्वयनमा जानासाथ काम शुरु भइहाल्ने आयोजनाले मात्र बजेट पाउने योजना आयोग स्रोत बताउँछ ।

आयोगका अनुसार, आयोजना कार्यान्वयन पूर्व गर्नुपर्ने कामहरु– विस्तृत सम्भाब्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव अध्ययन, मुआब्जा तथा जग्गा प्राप्ती प्रक्रिया, स्रोतको जोहो भए–नभएको आधारमा परियोजनाको ‘रेडिनेस’ जाँच गरिन्छ ।

यसरी तयारी अवस्थामा रहेका आयोजनाले मात्र बजेटमा स्थान पाउने गरी प्रोजेक्ट बैंक अगाडि बढेको छ । पूर्वतयारी र लेखाजोखा सकिएर कार्यान्वयनमा जान योग्य भएका आयोजनाको सूचि नै प्रोजेक्ट बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment