Comments Add Comment

महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख होटलमा भेटिएपछि…

८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए ।

त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका थिए । उनको साथमा एक युवती र अन्य केही व्यक्ति पनि थिए ।

सोधपुछ गर्दा ती व्यक्तिले केही ‘गन्यमान्य’ व्यक्तिको नाम लिँदै प्रहरीलाई अभद्र व्यवहार गर्न खोजेपछि प्रहरी टोलीले सामान्य बल प्रयोग गर्दै खनतलासी लियो । उनको साथमा ११ लाख रुपैयाँ बरामद भयो । ‘ठूलो परिमाणमा रकम बरामद भएपछि उनी व्यापारी हुन् कि भन्ने लागेको थियो’, अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन् ।

उनले रकमको स्रोत खुलाउन सकेनन् । प्रहरीले उनको परिचय पत्र माग्यो, उनी नेपाल सरकारको अधिकृत प्रचण्डदेव बिष्ट भएको खुल्यो ।

उनी महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको निमित्त प्रमुखको रुपमा कार्यरत भएको थाहा पाएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गर्‍यो । आयोगको टोली घटनास्थलमा पुगेपछि बिष्टलाई थप कारबाहीका लागि आयोगकै जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए ।

आयोगका प्रवक्ता तारानाथ अधिकारी बिष्टलाई महानगरीय प्रहरी वृत्त, जनसेवाले दाखिला गरेको बताउँछन् । ‘अनुसन्धानको सिलसिलामा आयोगले पनि हेर्नुपर्ने घटना भएकाले हामी कहाँ पठाइएको छ’, अधिकारीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment