Comments Add Comment

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२५ वर्षअघि छेडागाड नदीमा बनाइएको तुइन ।

९ असोज, जाजरकोट । २०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए ।

तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५ वर्ष पुगिसक्दा पनि जाजरकोटका नागरिकहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । जाजरकोटको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु वर्षौंदेखि तुइनकै सहारामा छेडागाड खोला वारपार गर्दै आएका छन् ।

पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जानका लागि शिवालयकै सालतडा र बालुवामा नागरिकहरुले जोखिम मोलेर तुइनबाट वारपार गर्छन् ।

नजिकै पुल नहुँदा तुइनकै सहारामा छेडागाड तर्नु परेको जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुनको गुनासो छ । झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले बताए ।

यहाँ २५ वर्षअघि तुइन बनाइएको हो । त्यसअघि बर्षातमा अझै जोखिम मोलेर डुङ्गा, चिन्डालगायतका साधनबाट नदी तर्ने गरेको छेडागाड नगरपालिका-१२ कार्की गाउँका रामबहादुर खत्रीले बताए ।

‘ वर्षातको समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गर्थ्यौं,’ खत्रीले भने,’चिन्डा, नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।’

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ ।

पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कति राम्री आँचल

Advertisment