
९ असोज, हेटौंडा । मकवानपुरको मनहरीस्थित एक पार्टी प्यालेसमा पानी तान्ने मोटर मर्मतका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय सुरज शाह र २६ वर्षीय उत्सव नेपाली रहेका छन् । सुरज पार्टी प्यालेस सञ्चालकका छोरा हुन् ।
नियमित पानी तान्दै आएको पम्पले पानी नतानेपछि पम्प मर्मतका लागि सुरज इनारभित्र पसेका थिए । तर सुरज लामो समयसम्म बाहिर ननिस्किएपछि उनको उद्धारका लागि भन्दै उत्सव पनि इनारभित्र पसेका थिए ।
धेरैबेरसम्म सुरज र उत्सव इनारबाट बाहिर ननिस्किएपछि डोरीको सहायताले आनन्द लो पनि उनीहरुको उद्धारका लागि इनार भित्र पसेका थिए । इनारको मध्य भागमा पुगेपछि उनी एक्कासी अचेत भएपछि स्थानीयले उनको उद्धार गरेको थियो । उद्धार पश्चात उनको मनहरी स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । स्वास्थ्य चौकीमा उपचार गरिएका आनन्दको होस खुलेपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
नेपाली सेनाको टोलीले इनारबाट सुरज र उत्सवको शव निकालेको प्रहरी नायव उपरीक्षक रानाले बताए ।
प्रतिक्रिया 4