Comments Add Comment

फिल्मबाट नाम, भिडियोबाट दाम

पल भन्छन्–‘भिडियोले दाम, चलचित्रले नाम दियो’

नायक पल शाहले चलचित्रमा १० देखि २० लाखको विचमा पारिश्रमिक लिन्छन् । बर्षमा २ वटासम्म चलचित्र खेल्ने पलले पुरा पारिश्रमिक नपाएको प्रसंग केही समय अगाडि उठाएका थिए । वर्षमा २ वटा मात्र चलचित्र खेलेर कलाकारलाई आफ्नो जीवन अगाडि बढाउन सहज छैन । फेरि, चलचित्रका लागि गर्नुपर्ने मिहिनेत निकै गाह्रो छ । एउटा चलचित्र निर्माणदेखि रिलिजसम्म कलाकारले १ बर्षको पुरा समय दिनुपर्ने हुन्छ । चलचित्र चलिहाल्यो भने कलाकारलाई केही हदसम्म फाइदा हुन्छ । चलेन भने पुरा अपजस आफैले लिनुपर्छ ।

उनै, पल शाहले एक बर्षमा १ सय देखि १ सय ४० वटासम्म म्यूजिक भिडियोमा काम गर्ने गरेका छन् । पलले एउटा म्यूजिक भिडियोबाट पछिल्ला केही बर्षदेखि १ लाख भन्दा माथिको पारिश्रमिक लिने गरेका छन् । यसले पनि उनले वर्षमा भिडियोबाट कति कमाउँछन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

पल मात्र होइन, नेपाली चलचित्रका नाम चलेका कलाकारहरु अहिले धमाधम म्यूजिक भिडियोमा काम गरिरहेका छन् । अधिकांश कलाकारहरुले चलचित्रबाट एउटा ब्रान्ड बनाइसकेपछि भिडियोमा महंगो पारिश्रमिक लिने गरेका छन् ।
नायक पल शाह, पुष्प खड्का, दयाहाङ राई, नाजिर हुसेन, आकाश श्रेष्ठदेखि नायिकाहरु स्वस्तिमा खड्का, पूजा शर्मा, वर्षा राउत, वर्षा सिवाकोटी, आँचल शर्मा लगायतका कलाकारको पारिश्रमिक भिडियोमा महंगो हुनुको कारण चलचित्रले दिएको ब्रान्ड हो ।

फिल्मले नाम दियो, भिडियोले दामः पल शाह
नायक पल शाहले चलचित्र करिअर सुरुवात गर्नु अगाडि भिडियोमा काम गर्दा ८ हजादेखि १५ हजारसम्म पारिश्रमिक लिदै आएका थिए । तर, चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्रमा डेब्यू गरेपछि पलको पारिश्रमिक भिडियोमा २५ देखि ३० हजारसम्म पुग्यो । चलचित्रबाट पनि राम्रो नाम कमाएपछि पलले १ लाख माथिको पारिश्रमिक लिन थालेका हुन् । पल भन्छन्–‘चलचित्रले मलाई केही दाम र धेरै नाम दिएको छ । मैले चलचित्रमा काम नगरेको भए यति महंगो पारिश्रमिक भिडियोमा लिन सक्ने थिइनँ । मेरो बार्षिक आम्दानी चलचित्रबाट २० प्रतिशत र भिडियोबाट ८० प्रतिशत छ ।’

पलले चलचित्रबाट आफूलाई विश्वभरका नेपालीले चिनेको भन्दै भिडियोले नाम र दाम दुबै दिएको बताए ।

भिडियो निर्मातालाई मर्कामा पारेकी छैनः वर्षा राउत
नायिका वर्षा राउतले पनि म्यूजिक भिडियोबाटै करिअर सुरुवात गरेकी हुन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेपछि उनको पनि भिडियोको पारिश्रमिक महंगियो । वर्षाले आज ५० देखि ८० हजार पारिश्रमिक भिडियोबाट लिने गरेकी छिन् ।

वर्षा भन्छिन्–‘चलचित्रका कारण केही हदसम्म भिडियोमा पनि ब्रान्डिङ भएको कुरा म स्विकार गर्छु । तर, म भिडियोबाट नै आएकाले गर्दा मेरो सोही हिसाबको पारिश्रमिक छ । तर, चलचित्रले गर्दा मलाई धेरै दर्शकमाझ भने पुर्याएको छ ।’

वर्षाले आफूले निर्मातालाई मर्कामा पार्ने गरेर पारिश्रमिक नलिएको बताइन् । उनले, चलचित्रका कारण आफूलाई भिडियोमा फाइदा भएको तर चर्को पारिश्रमिक डिमाण्ड कहिले नगरेको बताइन् ।

सजर्कलाई गाह्रो पर्छः मिलन चाम्स
चलचित्र तथा भिडियो निर्देशक मिलन चाम्सले दिनेले दिने र लिनेले लिने भएकाले पनि यसमा धेरै टिप्पणी गर्नुको अर्थ नभएको बताए । उनले भने–‘धेरै कलाकारले मसँगको कुराकानीमा पनि चलचित्रबाट नाम बनाएर भिडियोबाट पैसा कमाउने कुरा गर्नुहुन्छ । हुनत, अहिले देखिएको पनि यही नै हो । यसमा लिन र दिन नै हुन्न भन्ने कुरा त भएन । तर, महंगो पारिश्रमिक कलाकारले भिडियोमा लिदा वास्तविक सर्जकलाई भने समस्या पर्छ ।’

कलाकारकै कारण महंगियो भिडियो निर्माण
चलचित्र नखेलेका तर भिडियोमा चलिरहेका मोडलहरु पारिश्रमिक २० देखि ५० को हारहारीमा लिने गरेका छन् । तर, चलचित्रमा काम गरिसकेका कलाकारलाई भिडियोमा लिदा निर्माताले महंगो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । जसलेगर्दा, भिडियोको निर्माण पनि महंगिएको छ । केही कलाकारले चलचित्रबाट बनाएको ब्रान्डका कारण विज्ञापन बजारबाट राम्रो कमाई गरिरहेका छन् । तर, धेरै कलाकारको मुख्य आम्दानीको श्रोत भने भिडियो नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment