Comments Add Comment

दशैंअघि असन र इन्द्रचोकमा अत्यासलाग्दो मन्दी

श्रमिक र व्यापारीहरु भन्छन् : यस्तो पहिले भोगेकै थिएनौँ

९ असोज, काठमाडौं । असन र इन्द्रचोक भन्नासाथ अत्यासलाग्दो भिडभाड र कोलाहलको दृश्य आँखा अगाडि आउँछ । अझ, दशैं तिहारको छेकोमा त त्यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन ।

तर यसपालीको दृष्य अर्कै छ । शुक्रबार दिउँसो इन्द्रचोक पुग्दा त्यस क्षेत्रमा भारी बोक्ने श्रमिकको एउटा समूह पार्किङ गरेको मोटरसाइकलमाथि बसेर लुँडो खेलिरहेका थियो । पाइन्टको खल्तीमा नाम्लो र डोरी घुसारेका श्रमिकहरु कोही साथीले खेलेको लुँडो हेर्न झुम्मिरहेका थिए त केही सडक पेटीमा सुतिरहेका थिए ।

निषेधाज्ञा र लकडाउनका बेला गाउँ गएका धादिङका अमर रोक्का दशैं खर्च जुटाउन काठमाडौं आएका छन् । इन्द्रचोकमा भारी बोक्ने गरेका उनी हिजोआज भने  कामविहीन छन् ।

गतवर्षको दशैं घिका हरेक दिनमा खाना खाएर दुई हजार रुपैयाँ बचाउने उनी अहिले खाना खर्च पुर्‍याउनै धौधौ भएको बताउँछन् । ‘बजारमा भारी बोक्ने काम नहुँदा होटलमा उधारोमा खाना खाएर चोकमा टहलिनुपरेको छ,’ अमरले अनलाइनखबरसंग भने ।

असन चोकमा मसला र किसमिसको कारोबार गर्ने सीता श्रेष्ठ पनि दशैंको मुखमा यति उराठलाग्दो असन चोक कहिल्यै देखेकी बताउँछन् । अरुबेला पसलमा सामान बेच्न थप कर्मचारी राख्नुपर्ने हुन्थ्यो, तर अहिले सीता आफैं फुर्सदिलो छिन् ।

बिग्रिएको गेडागुडी केलाएर समय बिताइरहेकी सीता यसपालि दशैंको उल्लास नभएको बताउँछिन् । आफ्नो ३० वर्षे व्यापार अनुभवमा दशैंको तीन साताअघि ग्राहकले पसल नेटेकेको यो पहिलो पटक भएको उनले सुनाइन् । ‘ग्राहक आउँदैनन्, पसल रुँघेर बस्नु परेको छ, यस्तो के दशैं ?’ उनले भनिन् ।

बजारमा अझै कोरोना संक्रमणको त्रास कायम रहेकाले दशैंको माहोल नभएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधर बताउँछन् । लामो समय लकडाउनका कारण मानिससँग पैसा नभएकाले बजारमा मन्दी छाएको उनको भनाइ छ ।

‘दशैंको कारोबार बढ्न आम्दानी गर्ने मान्छेको बोनस आउने निश्चित हुनुपर्छ, लामो सयमा लकडाउनले धेरै उद्योग बन्द भएका छन्, कयौंको रोजगारी गुमेको छ, यस्तो अवस्थामा मानिसले कसरी खर्च गर्छन् ?’ तुलाधरले प्रश्न गरे ।

सामान्यतः असन, इन्द्रचोक र नयाँ सडकका बजारमा यतिबेला खुद्रामा भन्दा पनि होलसेलमा सामान बिक्री गर्नेको भीड हुन्थ्यो । विगतका वर्षहरुमा दशैंको एक महिना अगाडि मोफसलबाट व्यापारीहरु सामान किन्न काठमाडौं आउँथे ।

तर हिजोआज बोनीसमेत हुन नसकेको न्युरोडको रञ्जना गल्लीमा कपडाको हेलसेल ब्यापार गर्ने घनश्याम अधिकारीले बताए । ‘दिनभरि पसल रुँघ्दा जम्मा एक जना ग्राहक आएका छन्’ अधिकारीले भने । यसअघि होलसेलका लागि मात्रै सामान बिक्री गर्ने गरेकोमा यसपटक खुद्रामै सामान बिक्री गर्दा पनि ग्राहक नपाएको उनले सुनाए । व्यापारीले मगाएको सामान लामो समयसम्म तातोपानी नाकामा रोकिँदा पनि बजारमा रौनक नछाएको उनको भनाइ छ ।

विगतका वर्षहरमा यही समयमा असन, इन्द्रचोकमा खुट्टा टेक्ने ठाउँ नहुने रञ्जना गल्लीकै अर्का व्यवसायी बैकुण्ठ दाहाल सम्झिन्छन् । दशैंमा एकपटक भए पनि किनमेलका लागि आउने खुद्रा व्यापारीहरु यसपटक काठमाडौं नै नटेकेको उनको भनाइ छ । ‘२५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्ने हल्लाका कारण व्यापारीहरुलाई दशैं हुन्छ भन्ने नै लागेको छैन,’ दाहालले भने ।

इन्द्रचोकमा महिलाको कपडाको होलसेल पसल चलाउने लक्ष्मी तिमिल्सिना पनि हिजोआज फुर्सदिलो छिन् । पसलमा कर्मचारी थपेर ब्यापार गर्न भ्याई नभ्याई हुनुपर्ने बेलामा टोलाएर बस्नु परेको उनले सुनाइन् । त्यसमाथि चीनबाट मगाएको सामान पनि बेलामा आएन ।

‘नाकामा लामो समय रोकियो भनेर समुन्द्र हुँदै मगायौँ, त्यो पनि अहिलेसम्म आएको छैन, अब कसरी ब्यापार गर्ने ?,’ उनले प्रश्न गरिन् । रञ्जना गल्लीमा २० वर्षदेखि ब्यापार गर्न बस्दा अहिले जस्तो सन्नटा र शून्यता पहिले कहिल्यै भोग्न नपरेको लक्ष्मीले सुनाइन् ।

नेपाल खुद्रा ब्यापार संघकाअनुसार कोभिड त्रासका कारण बजारमा दशैंको माहोल नै बन्न सकेको छैन । कोभिड सुरक्षासँग सर्तक बनेका तथा निकै बाध्यतामा नपरेका मानिसहरु बजारमा ननिस्किएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

कपडाको होलसेल व्यवसायीहरुको संस्था नेपाल खुद्रा व्यापार संघले भने समयमै चीनबाट सामान नआइपुग्नु र पुनः लकडाउनको हल्लाले दशैंको माहोल बिग्रिएको बताएको छ ।

‘जुनसुकै बेला लकडाउन हुनसक्छ भन्ने हल्ला बजारमा भएको र सरकारले व्यवसायीका लागि भन्दा आफ्नो अनुकलताका लागि निर्णय गर्दा दशैं अघिको माहोल बिग्रिएको छ,’ संघमा महासचिव दाहालले भने ।

थप तस्वीरहरु हेर्नुहोस्

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment