Comments Add Comment

कोरोनाबारे भ्रम फैलाउने व्यक्ति धरौटीमा छुटे

११ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रामक अन्तरवार्ता दिएको अभियोगमा समातिएका व्यक्ति छुटेका छन् ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई अफवाह फैलाएको कसुरमा धरौटी लिएर छाड्न जिल्ला प्रशासन कार्यालय, ललितपुरले आदेश दिएको हो ।

प्रशासनको आदेश अनुसार ५ हजार रुपैयाँ धरौटी लिएर उनलाई छाडिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले २२ भदौमा पक्राउ गरेको थियो ।

ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको थियो । लिम्बुमाथि महँगोमा औषधि बेचेर ठगी गरेको अभियोग पनि थियो । तर, कसैले जोहरी नदिएपछि त्यसतर्फ अनुसन्धान भएन ।

पक्राउ पर्नुअघि उनले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।

तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको अपराध महाशाखाका एसएसपी दिपक थापाको भनाइ छ । प्रहरीसँग दिएको बयानका क्रममा लिम्बुले पनि आफूले नेपालको हकमा त्यसो गरिन्छ भनेर नभनेको दाबी गरेका छन् ।

उनले भारतमा त्यस्तो पनि हुँदै रहेछ भनेर दिएको अभिव्यक्तिलाई युट्युबमा हाल्दा तोडमोड गरेर प्रशारित गरिएको भनेका छन् । त्यसकै आधारमा उनलाई धरौटी लिएर प्रशासनले छाडेको छ ।

यो पनि पढ्नुहोस कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment