+
+

७८ दलले बुझाएनन् खर्च विवरण, साझा पनि चुक्यो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ असोज ११ गते २१:४८

११ असोज, काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १३२ मध्ये ७८ दलले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण निर्धारित समयभित्र आयोगलाई नबुझाएको भेटिएको छ । आर्थिक पारदर्शिता र जवाफदेहिताको वकालत गर्ने साझा पार्टीसमेत समयमा विवरण बुझाउन चुकेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र आयव्यय विवरण आयोगमा बुझाउनुपर्छ । आयोगमा बुझाएको विवरण एक महिनापछि जनतामाझ सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । तर, अहिलेसम्म ५४ वटा दलले मात्रै विवरण बुझाएको निर्वाचन आयोगको रेकर्डमा देखिन्छ ।

आयोगका उपन्यायधिवक्ता रुद्रप्रसाद सुवेदीले सबै दलहरुलाई समयमा आयव्यय विवरण बुझाउन ताकेता गरिएको बताए । आव २०७५/७६ को विवरण अहिलेसम्म नबुझाउने दलहरुलाई आयोगले स्मरणपत्र समेत पठाएको उनले जानकारी दिए ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका ठूला दलले भने आव ०७५/७६ को आयव्यय विवरण समयमै बुझाएका छन् । तर, अघिल्लो आव ०७६/०७७ को विवरण भने कुनै पनि राजनीतिक दलले बुझाएका छैनन् ।

‘गत आर्थिक वर्षको विवरण बुझाउने समय ५ महिना बाँकी नै छ, त्यतिञ्जेलमा आउला,’ उपन्यायधिवक्ता सुवेदीले भने ।

साझा पार्टीको विवरण

निर्वाचन आयोगले अनलाइनखबरलाई उपलब्ध गराएको आयव्यय विवरण बुझाउने ५४ दलको सूचीमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी छैन ।

साझा पार्टीले भने निर्वाचन प्रयोजनका लागि बुझाएको विवरणमै आय व्यय विवरण पनि समावेश भएको दावी गरेको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले भने, ‘निर्वाचन प्रयोजनका लागि पहिले नै बुझाएका थियौं, त्यसैले हुन्छ होला भनेर बसियो । तर, आयोगले रेकर्डमा राखेको रहेनछ ।’

नबुझाए के हुन्छ ?

तीन वर्षसम्म लगातार आयव्यय विवरण नबुझाए ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यसको अलावा आगामी निर्वाचनमा भाग लिन नपाउने गरी आयोगले कारबाही पनि गर्न सक्छ । तर, हालसम्म विवरण नबुझाएकै कारण निर्वाचनमा भाग लिनबाट बञ्चित गरेको उदाहरण छैन ।

आयोगले समयमा विवरण नबुझाउने दललाई पत्र लेखेर ताकेता गर्ने गरेको छ । पछिल्लो पटक आयोगले गत साउन २५ गते दलहरुलाई पत्र लेखेर भनेको छ, ‘दलबाट लेखा परीक्षण प्रतिवेदन नबुझाएको भए आर्थिक वर्ष ०७५/०७६ को भदौ मसान्तसम्म र आर्थिक वर्ष ०७६/०७७ को माघ मसान्तसम्म आयोगमा बुझाउने व्यवस्था मिलाउन निर्देशानुसार अनुरोध छ ।’

आयोगले लगातार तीन वर्षसम्म आयव्यय विवरण नबुझाए ठोस कारबाही गर्ने कानुनी व्यवस्थाको गृहकार्यमा जुटेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आगामी माघ मसान्तसम्ममा गत वर्षको वार्षिक आयव्यय विवरण बुझाउने समय भएका कारण त्यो सकिएपछि नबुझाउनेलाई समेत समेटेर कारबाही प्रक्रियामा जान खोजेको उनको भनाई छ ।

आयव्यय विवरण बुझाउनुपर्ने विषयलाई कडाइका साथ निर्वाचनसम्बन्धी एकीकृत कानुनमा समेट्न खोजिएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

गौतमका अनुसार निर्वाचन सम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार भएको छ । र सैद्धान्तिक स्वीकृतिका लागि गृहमन्त्रायमा पठाइएको छ ।

निर्वाचन आयोगले त्रुटि स्वीकार गर्यो : साझा *

यसैबीच साझा पार्टीले विज्ञप्ति जारी गर्दै समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पार्टीले आर्थिक बर्ष ०७५/७६ को लेखा परिक्षण विवरण निर्धारित समयसिमाभित्रै  बुझाएर आफ्नो वेबसाइटमा पनि भन्दै उसले भनेको छ, विवरण नबुझाएको भए राजनीतिक दल सम्बन्धि ऐनको प्रावधान अनुसार साझा पार्टीले गत बर्ष मंसिरमा सम्पन्न उप-निर्वाचनमा भाग नै लिन पाउने थिएन । साझा पार्टीले उप-निर्वाचनमा भाग लिएका तथ्य विदित नै छ ।’

तर खर्च विवरण नबुझाउने दलको सूचिमा पार्टीको नाम कसरी पर्यो त भनेर निर्वाचन आयोगमा सम्पर्क गर्दा आयोगका सम्बन्धित अधिकारीले ‘सानो प्रशासनिक त्रुटि भएको’ बताएको समेत साझा पार्टीले दाबी गरेको छ ।

* अपडेट

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?