Comments Add Comment

बिजुलीबजारको पुलमा रंगरोगन

११ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज अन्य पुलभन्दा भिन्न छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले रंगरोगन थालेको छ । यसअघि नै यो पुलमा सडक उज्यालिने गरी बत्ती जोडेर साँझमा झिलीमिली देखिने बनाइसकिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार यो पुलमा रंगरोगन गरेर थप बत्ती जोडिनेछन् । ‘अब सडकमा झिलीमिली बनाउँदा त दुर्घटनाको डर हुन्छ,’ उनले भने,‘तर सडकमा असर नपर्ने गरी दायाँ–बायाँबाट आकर्षक देखिने गरी रंगिचंगी बत्ती पनि जोड्छौं ।’

शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । रात्रीकालीन जीवन प्रवर्द्धनका लागि पनि यो पुलले विशेष महत्व दर्शाउने अधिकारीले बताए ।

विभागका अनुसार यो काम सकिएपछि बानेश्वर–माइतीघर सडकखण्ड आकर्षक देखिनेछ । बिजुलीबजारको पुलको ठेक्का १३ पुस २०७१ मा दिइएको थियो । तोकिएभन्दा केही ढिला गरेर निर्माण सकिएको थियो ।

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

आर्क ब्रिजमा अहिले नेपालमा प्रचलनमा रहेका अन्य पुलमा जस्तो बीच–बीचमा पिल्लर प्रयोग गरिएको छैन । पिल्लर नहाले पनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिएको छ ।

र, माथिल्लो भागमा बांगो आकारको आर्क राखिएको छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिएको छ । र केबलहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिएको छ ।

यस्तो आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिएको हुन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभए पनि यो प्रविधिको पुल बलियो मानिन्छ ।

आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो । रंगरोगनपछि यो पुल आसपास फोटो खिचाउनेहरु बाक्लिने सडक विभागको अनुमान छ ।

धोबिखोलामाथिको दुई वटा आर्क ब्रिजसँगै काठमाडौं आयोजनाले तिनकुनेको बाग्मती नदीमाथि पनि उस्तै आकारको पुल बनाउन लागेको थियो ।

१३ पुस २०७१ मै ठेक्का लागेको यो पुलको निर्माण कार्यमा लपरवाही भएपछि पप्पु कन्स्ट्रक्सनसँग विभागले ठेक्का तोडेको छ । र, त्यहाँ आर्क पुल बनाउने योजना अलपत्र छ ।

हेर्नुहोस् थप तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment