Comments Add Comment

ऐतिहासिक असन बजारमा कोरोनाको मार

११ असोज, काठमाडौं । झण्डै एक किलोमिटर रिक्सा तानेर यात्रु ओरालेपछि दलबहादुर तामाङले अन्नपूर्ण मन्दिरको दाहिनेपट्टि रिक्सा अड्याएर लामो सुस्केरा हाले । यी ६५ वर्षीय वृद्धलाई पछिल्लो ३ सालदेखि त्यही असनले साहारा दिइरहेको छ ।

अपराह्न ३ बजे उनको त्यो तेस्रो टिप थियो । योसँगै उनले आजको गाँसको जोहो भएको संकेत स्वरूप सुस्केरा छाडे । त्यसपछि उनी नजिकैको चिया पसले साहुनीलाई एक कप चिया मगाए र ब्रेक कसेर रिक्सामा पल्टिए ।

उनी पल्टिएका मात्रै के थिए, सम्मुखको पसलबाट सीता श्रेष्ठ झोक्किन थालिन्, ‘दिनभर व्यापार छैन, त्यसैमाथि अगाडि ल्याएर रिक्सा रोक्दिन्छन् ।’

दिनभर गलेका दलबहादुर तामाङलाई एकछिन थकान मेट्ने ठाउँ पनि छैन, काठमाडौंको पुरानो बजार असनमा । कुनै समय सार्थ (व्यापारी) लाई कैयौं महिनासम्म आश्रय दिने असनले यही व्यापारीलाई आश्रय दिएर व्यापारको कखरा सिक्यो । दक्षिणमा भारतबाट सामान लिएर आएका व्यापारीले जाडो मौसम छल्न र तिब्बतबाट आएका व्यापारीले गर्मी छल्नको लागि यही काठमाडौं उपत्यकामा बस्ने गर्थे । त्यसैले भारतदेखि लासासम्मको ट्रेड रुटमा बर्खेबास र हिउँदेबासको लागि यही नै थियो आश्रयको स्थल ।

असनको व्यापारिक महत्वको प्रमाण लिच्छविकालदेखि नै पाउन सकिन्छ । तर यसलाई मध्यकालदेखि व्यवस्थित रूपमा भारत–चीन व्यापारको ट्रान्जिटको रूपमा विकास भएको हो भन्ने मान्यतालाई धेरैले स्वीकार गर्ने गरेका थिए । विभिन्न साहित्यिक स्रोतका अनुसार १९ औं शताब्दीसम्म पनि काठमाडौं भारत–चीन व्यापारको ट्रान्जिट नै थियो र यसको महत्वपूर्ण हिस्सा असनले पनि ओगटेको थियो भन्न सकिन्छ । वसन्तपुर दरबार क्षेत्रबाट मुस्किलले एक किलोमिटर उत्तरपूर्वमा पर्ने यो ठाउँमा तिब्बती व्यापारीहरूले ऊनी कपडा, बाख्रा, याक, भेडा, कस्तुरी, नुन, सुन र चाँदी र कागज बिक्रीका लागि काठमाडौं या यही रुट हुँदै भारत पठाउँथे भन्ने ऐतिहासिक दस्तावेजमा भेट्न सकिन्छ । तिब्बतका लामाहरूले नेपालको टकसालमा समेत धेरै सुनचाँदीहरू पठाउँथे ।

यसरी तिब्बती व्यापारीले पठाएका हिमाली भेगमा पाउने सामान र भारतीय व्यापारीहरूले पठाएको सुतीको कपडा, कटलरी, कोरल, मोती, मसलाहरू, सुपारी र हार्डवेयरका सामानहरू पनि यही बाटो हुँदै चीन जाने भएकोले असनले तराईको गर्मीको लागि चाहिने सामानदेखि हिमालको ठण्डीका लागि चाहिने सामानसम्म एकै ठाउँमा बेच्न सक्यो । त्यही समयदेखि नै असनले नुनदेखि सुनसम्म सबै कुरा पाउने ठाउँको पहिचान बोक्यो ।

यही बजारको हब भएकोले पनि काठमाडौंको मूल बजार रहेको असन विश्वका हरेक ठूला संकटमा प्रभावित हुने गर्दथ्यो । पछिल्लो समय विश्वयुद्धताका यो बजारमा सामानको हाहाकार भएको थियो । अहिले कोरोना भाइरसको महामारीले दुस्प्रभावमा छ, यो बजार । विश्वयुद्धपछि सबभन्दा ठूलो असर अहिले परेको असनका पाका व्यापारीहरू बताउँछन् ।

उहिलेको असनले व्यापारसँगै बिद्रोही राजनीतिक भूमिका पनि खेल्यो । विसं १९७० को दशकपछि यो बजार राणा विरोधी गतिविधिको मुख्य केन्द्र रह्यो ।

असनका रैथाने काठमाडौं महानगरपालिकाका २७ नं वडाका वडाध्यक्ष चिनियाँमान बज्राचार्य यो बजारलाई असन भनेर जसले नाम दियो त्यो पात्र जीवित नरहे पनि असनको नामको सम्बन्धमा धेरै किंवदन्तीहरू रहेको बताउँछिन् । पहिले सबैले थकाइ मार्ने अशोक मण्डला अहिले व्यापारीको कब्जामा पुगेकोमा उनी दुःखी छन् ।

‘अहिले न सराथिको पसल छ न त अशोक मण्डला’, बज्राचार्य भन्छन्, ‘थपिदै गएको सुविधाले नै असनको मौलिकता समाप्त पार्दै लगेको छ, यो बडा चिन्ताको विषय हो ।’

उनका अनुसार २०२८ सालसम्म अशोक मण्डलमा पैसा साँट्ने एउटा पसल थियो । त्यसलाई स्थानीयले ‘सराथि’ भन्थे । त्यो चलन कहिलेदेखि चल्यो भन्न नसकिए पनि मुद्राको प्रचलन सुरु भएसँगै सराथि अस्तित्वमा आएको हुन सक्ने बज्राचार्यको अनुमान छ ।

अहिले अन्नपूर्ण मन्दिरलाई साक्षी राखेर असनमा बिउ किन्ने क्रम पनि घटेको छ । यसले पनि असनको मौलिक पहिचान धुमिल बन्दै गएको देखाउने उनी बताउँछन् ।

अन्नपूर्ण समृद्धिकी देवी हुन् । त्यही मन्दिर छेउछाउका पसलहरू पहिले बिउ र खाद्यान्न बिक्रीका लागि नामी थिए । आजभोलि फेन्सी पसलले असन भरिँदै गएको बज्राचार्यले देखिरहेका छन् ।

उनका अनुसार पहिला अन्नपूर्ण मन्दिरको छेउछाउमा रहेका पसलमा किसिम–किसिमका दाल, सिमी, ढिकीमा कुटेका धानका चामल किन्नेहरुको भिड लाग्थ्यो । बिक्री गर्ने र किन्ने दुवैले पहिला अन्नपूर्ण देवीलाई ती खाद्यान्न चढाउने संस्कृति थियो ।

अन्नपूर्ण देवी लक्ष्मीको अर्काे नाम हो । अन्नपूर्ण मन्दिरभित्र अन्नले भरिएको एउटा भाँडो राखिन्छ । यो मन्दिरमा ८० वर्षमा एक वर्ष ‘ताया मा’ पर्व मनाउने परम्परा छ ।

०००

असन मध्यकालदेखि नै कसैलाई रित्तो हात नफर्काउने केन्द्रीय बजार थियो । कुनै समय अन्नपूर्ण मन्दिर अगाडि अशोक मण्डलमा बसिरहेका स्थानीयलाई एक जना बटुवाले सो ठाउँको नामबारे सोधेछन् । उपत्यका बाहिरबाट आएका बटुवाको प्रश्न नबुझेका ती स्थानीयले ‘अन सन’ (आऊ यतै बस) भन्दै आफू अलि सरेछन् ।

‘यही अन सनबाट अपभ्रंश हुँदै असन नाम बसेको किंवदन्ती छ’, उमेरले साढे छ दशक कटिसकेका चिनियाँमान बज्राचार्य भन्छन्, ‘यही असनमा आज एकछिन बसेर सुस्ताउने ठाउँ छैन । अशोक डबली साना व्यापारीहरूको कब्जामा छ । आकाशबाट खसेको विश्वास गरिने ढुंगाको माछा (न्यालोंह) लाई एउटा सानो ठाउँमा सीमित गरिएको छ ।’ मध्यकालमा ज्योतिषीय गणना गर्दा यही ठाउँलाई केन्द्रमा राखेर गर्ने गरिएको थियो । असन क्षेत्रमा नै मानदेवको नाम अंकित ढुंगेधारा समेत भेटिएको छ ।

यसमा अर्काे एउटा किंवदन्ती पनि जोडिन्छ । ठिमीका एक व्यापारी बाँसको नोलमा धान बोकेर असनबाट कतै जाँदै थिए । अन्नपूर्ण मन्दिरको छेवैमा उनले त्यो नोल बिसाएर एकछिन थकाइ मारे । पछि भारी बोक्न खोज्दा उनले उचाल्न सकेनन् र परिवारका सदस्यलाई बोलाउन गए । धान कहाँ छाडेको ? भन्ने प्रश्नमा उनले नेवारी भाषामा अनसं (यही ठाउँमा) भनेकोले यसैबाट अपभ्रंश भएर असन बनेको भन्ने पनि किंवदन्ती भेटिन्छ ।

पुस्तैनी ग्राहकलाई कोरोनाको बार

असनमा पुस्तैनी व्यापार गर्दै आएकाहरू त अझै पनि प्रशस्त भेटिन्छ । तीन पुस्तासम्मका ग्राहक एउटै पसलमा आउनु पनि असनको विशिष्टता हो ।

गत भदौमा निषेधाज्ञा खुकुलो भएसँगै असनका पसलहरू खुल्न थाले । त्यसको केही दिनमा नयाँवानेश्वरका एक ग्राहक असन चोकबाट इन्द्रचोकतर्फ ५० मिटरजति भित्र राजु तुलाधरको पसलमा पुगे । उनलाई काजु, किसमिस लगायत मसला किन्नु थियो ।

‘मेरा करिब २० जना तीन पुस्ते ग्राहक छन्’, तुलाधर भन्छन्, ‘यो पसलमा मेरा बाजे बस्दा उनीहरुका बाजे आएर सामान किन्थे । मेरा बाबुको पालामा उनीहरु बाबु पुस्ता हाम्रा ग्राहक थिए । अहिले मेरो पालामा नाती पुस्ता यहाँ नपाइने चिजमात्र अन्यत्र किन्छन् ।’

तर अहिले किनमेलका लागि असन आउने सबैखाले ग्राहकलाई कोरोना भाइरसले बार लगाएर छेकिदिएको उनी बताउँछन् ।

तीन दशकदेखि असनमा व्यापार गर्दै आएकी इन्द्रचोक कि सीता श्रेष्ठको पसलबाट पहिले दैनिक सरदर पाँचबोरा ढिक्के नुन बिक्री हुन्थ्यो । कोरोना आएपछि यो व्यापार शून्यमा झरेको उनले बताइन् ।

‘घरमै बस्दा कोरोनाको मानसिक तनाव धेरै हुने भएकोले मात्र पसल खोलेको’, उनी भन्छिन्, ‘यो कोरोनाले त असनलाई महाभूकम्पले भन्दा धेरै असर गरिसक्यो ।’

नेपालामा २०४२ सालदेखि आयोडिन नुनको चलन व्यापक भयो । तर ढिक्के नुन, बिरे नुन, सिधे नुन आदि किन्नु परे धेरैको पहिलो रोजाइ यही बजारमा हुन्छ । ढिक्के नुनको अस्तित्व अहिले असनले धानेको छ । आमाले सुरु गरेको यो पसलमा पनि सीताको पुस्ताका ग्राहक आउँछन् । ‘पहिला ढिक्के नुन बेच्ने अरू पनि धेरै पसल थिए’, सिता भन्छिन्, ‘अहिले मेरै मात्र बाँकी होला ।’

असनमा अहिले फेन्सी सामान बढेको छ । ‘यो असनको विशेषता होइन’ वडाध्यक्ष बज्राचार्य भन्छन् ‘असन आधुनिक बन्दै जानु सांस्कृतिक विशेषताका हिसाबले दुखद् कुरा हो । यसलाई पुरानै अस्तित्वमा असन रहन दिनुपर्छ ।’ पुरानै अस्तित्व अर्थात् हरेक रैथाने खानेकुराको लागि असन आएपछि रित्तोहात फर्किनु नपर्ने खालको बजारको रूपमा विकास गर्नुपर्ने उनको बुझाइ छ ।

दशैं लागेन असनलाई

बिहान चकमन्न असन बजारको मौनता भंग गर्दै ज्वालामाई मार्ग नजिक तरकारीको भाउ भट्याउने हरिमाया श्रेष्ठले झिसमिसेमै बिछ्यौना छाड्न थालेको १२ वर्ष भयो ।

बिहान चारै बजे उठेर तरकारी ल्याई बिक्रीमा लाग्ने उनको दैनिकी लकडाउनमा पनि जारी थियो । तर धेरैको अवस्था योभन्दा भिन्न रह्यो । जस्तो– रिक्साको पाइडल दबाएर गुजारा गर्ने दलबहादुर जस्ता श्रमिकहरूका लागि लकडाउन र निषेधाज्ञा अभिसाप बनेर गयो । हरिमायाले ढोकामै आइपुग्न लागेको दशैं जसोतसो मनाउने छिन् तर दलबहादुरहरूको लागि यो पटक दशैं नआए बराबर हुनेछ ।

राजु तुलाधर अबको केही दिनमा असनमा दशैंको माहोल आउने आशामा छन् । मलमासको समय परेकाले पनि अहिले मान्छे कम आएको उनको अनुमान छ ।

मसला, घ्यु, तेल, सुख्खा फल, चिनी, चिया, धुप, तरकारी, फलफूल, चामल, दाल, सिमी, माछा, फूल, प्लास्टिकका सामान, भाँडा, कपडा, झोला, ब्याट्री, आयुर्वेदिक जडीबुटी, माछाको सिद्रा आदिको लागि उपत्यकाभरका मानिस असन जान्छन् । तर गत सालको यही समयसँग तुलना गर्ने हो भने अहिलेको असनलाई सिधै सुनसान भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment