Comments Add Comment

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्– चीनसँग हाम्रो कुनै सीमा विवाद छैन

'चीनको रेल नेपाल आउन पाँच वर्षभन्दा बढी समय लाग्छ'

१२ असोज, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले दुई देशबीचमा अहिले कुनै पनि सीमा समस्या नरहेको बताएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक लामो अन्तवार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यनलाई चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताएका छन् ।

सो अन्तवार्तामा उनले भनेका छन्, ‘त्यस समयमा हामीले एउटा सहमतिमा हस्ताक्षर गर्‍यौं र सीमा समस्या समाधान गर्‍यौं, अहिले कुनै समस्या छैन ।’

हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भनी विभिन्न रिपोर्टहरु आइरहेको समयमा चीनका लागि नेपाली राजदूतको सो प्रतिक्रिया आएको हो ।

अन्तवार्तामा राजदूत पाण्डेले भारतले नेपालको केही भूभागमा कब्जा जमाएको बताएका छन् । भारतसँगको कालापानी क्षेत्रको सीमा बिवादको बारेमा उनले भनेका छन्, ‘सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो र भारत पराजित थियो, त्यतिबेला केही भारतीय सेना अस्थायी रुपमा हाम्रो भूभागमा बसे । तर पछाडि उनीहरुले त्यो भूभाग आफ्नो भएको दाबी गरे । त्यसैले हाम्रो समस्या यो हो । हामी सँगै बसेर समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं ।’

विशेषगरी भारतीय मिडियाले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षा सम्वन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भनेर सोधिएको प्रश्नमा राजदूत पाण्डेले यो तथ्यमा आधारित नभएको र पूर्वाग्रही धारणा भएको बताएका छन् । उनले भनेका छन्- यो डरको मनोवैज्ञानिक अभिव्यक्ति हो

सीमा समस्या भारत र चीनको बीचमा तथा नेपाल र भारतको बीचमा भएपनि यो प्रपोगण्डा गर्ने विषय नभएको बताउँदै राजदूत पाण्डेले त्यसलाई सँगै बसेर ऐतिहासिक रेकर्ड र प्रमाणको  आधारमा समाधान गर्नुपर्ने बताएका छन् । ‘त्यसो भएमा मात्र हामी एउटा वैज्ञानिक निष्कर्षमा पुग्न सक्छौं र यसलाई दुवै पक्षले सम्मान गर्नुपर्छ,’ उनले भनेका छन् ।

भारतसँगको वार्ता प्रक्रियाको बारेमा उनले भनेका छन्, ‘हामीले उनीहरुलाई वार्तामा बसौं भनेर धेरैपटक भनेका हौं तर उनीहरुले त्यसमा चासो दिएनन् । अहिले उनीहरुले चासो दिएका छन् र उनीहरुले वार्ता चाहेका छन् ।’

बहुचर्चित नेपाल–चीन रेलको सम्वन्धमा राजदूत पाण्डेले दुवै पक्षले यसमा कडा परिश्रम गरिरहेको बताएका छन् । उनले प्रि–फिजिबिलिटी अध्ययनको काम पहिला नै सम्पन्न भइसकेको र कोरोना भाइरस संक्रमणको कारण रेलको काममा केही मन्दी आएको बताएका छन् । कोरोना महामारी सकिएपछि त्यसले गति लिने राजदूत पाण्डेको भनाइ छ । अहिले दुवै पक्षले ‘पेपर वर्क’ गरिरहेको र रेलवेको योजना बनाउन दुई पक्षबीच संवाद भइरहेको जानकारी समेत पाण्डेले दिएका छन् । राजदूत पाण्डेले रेलवे सम्पन्न गर्नका लागि पाँच वर्षभन्दा बढी समय लाग्ने समेत बताएका छन् ।

केही समय अगाडि मात्र राजदूतको पद सम्हालेका पाण्डेले राजदूतको रुपमा आफ्नो प्राथमिकता दुई देशबीच भएका सहमतिहरुको कार्यान्वयन भएको बताएका छन् । उनले गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको समयमा भएका सहमति कार्यान्वयनमा आफ्नो जोड रहेको बताएका छन् ।

गत वर्ष बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत केही कार्यक्रम विकास गरिएको जानकारी दिँदै राजदूत पाण्डेले ती कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र पर्यावरण सुधारमा केन्द्रित रहेको बताएका छन् ।

केही विदेशी मिडिया (विशेषगरी भारतीय मिडिया)ले नेपाल र चीनबीच बढ्दो समस्याले केही सुरक्षा सम्वन्धी विषयहरु ल्याएको छ भनी समाचार सम्प्रेषण गरिरहेका छन् नि भनेर सोधिएको प्रश्नमा राजदूत पाण्डेले यो तथ्यमा आधारित नभएको र पूर्वाग्रही धारणा भएको बताएका छन् । उनले भनेका छन् ,‘यो डरको मनोवैज्ञानिक अभिव्यक्ति हो । हाम्रो कुनै पनि वैचारिक समूह र कुनै शक्तिसँग झुकाव छैन ।’

उनले भारतीय मिडिया पूर्वाग्रही भएको हुनसक्ने र कतैबाट प्रभावित भएको हुन सक्ने बताएका छन् । ‘त्यसैले उनीहरुले फेक समाचार र प्रपोगाण्डा प्रकाशित गर्छन् । नेपाल र चीनबीचको सहकार्य स्वाभाविक हो र यो सुमधुर छ,’ पाण्डेले भनेका छन् ।

राजदूत पाण्डले चीनको बेल्ट एण्ड रोड एनिसियटिभको समेत प्रशंसा गरेका छन् । केही पश्चिमा मुलुकहरुले त्यसको विरोध गरिरहेको समयमा पाण्डेले भनेका छन्, ‘बीआरआई चीनले अगाडि सारेको धेरै राम्रो परियोजना हो । केही वैचारिक भिन्नताको कारण यसको आलोचना भएको छ । तर त्यो आलोचना सफल हुँदैन, किनभने आलोचना आलोचना नै हो ।’

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको पूरा अन्तरवार्ता यहाँ पढ्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment