Comments Add Comment

विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च, १७ महिनाको वस्तु आयात धान्न सक्ने

१२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिती ५ वर्षयताकै उच्च देखिएको छ ।

साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै यो विदेशी विनिमय सञ्चितीले वस्तु आयात मात्र भने १७.३ महिनाको धान्न सक्नेछ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा भने १४ खर्ब १ अर्ब ८४ करोड बराबर कुल विदेशी विनिमय सञ्चिती रहेको थियो । एक महिनाको अवधीमा करिब ३५ अर्ब रुपैयाँ बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ छ, बाँकी १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ अरु बैंक तथा वित्तीय संस्थामा छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिती साउन मसान्तमा १२ अर्ब २ करोड रहेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।

चालु खाता २५ अर्बले बचतमा

साउन महिनामा चालु खाता २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा हिसाब गर्दा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता साउन मशान्तमा २१ करोड २१ लाखले बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालु खाता देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । विदेशबाट धेरै रकम भित्रने र देशबाट विदेशमा कम रकममात्र बाहिरिँदा चालु खाता वचतमा गएको हो ।

शोधानान्तर बचत ५१ अर्ब नाघ्यो

साउन मशान्तसम्ममा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन मशान्तमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा शोधनान्तर स्थिति गत साउनमा ५ करोड ४२ लाखले बचतमा रहेकोमा यस वर्ष साउनमा ४२ करोड ९४ लाखले बचतमा रहेको राष्ट्र बैंकले बताएको छ । देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढी भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment