Comments Add Comment

कोरोना संक्रमणबाट पर्सा र सर्लाहीका दुई जनाको मृत्यु

१३ असोज, वीरगञ्ज । कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट पर्सा र  सर्लाहीका गरी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित रेञ्ज औराहाका ६५ वर्षीय पुरुष र सर्लाहीको बरहथवा नगरपालिका–६ का  ७०  वर्षीय पुरुष रहेका छन् ।

पर्साका ६५ वर्षीय संक्रमित पुरुषलाई वीरगञ्जबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उनलाई नारायणी बयोधा हस्पिटलले सोमबार भरतपुर रिफर गरेको थियो ।

मधुमेहको पुरानो रोगी उनको मृगौलामा समेत समस्या देखिएको थियो । नारायणी बयोधा र नेशनल मेडिकल कलेजमा गरी उनको १८ पटक डायलायसिस भइसकेको थियो । तीन दिनदेखि श्वास प्रश्वासमा समेत समस्या देखिएपछि असोज १० गते शनिबार उनलाई नारायणी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो । बेलुका भर्ना गरिएकोमा अस्पतालले कोरोना संक्रमणको आशंकामा कुनैपनि चेकजाँच नै नगरेको मृतकका छोरा यसराज महतो थारु बताउँछन् ।

‘भोलिपल्ट पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठायो,’ उनले भने, ‘उनीहरुले अक्सिजन लगाएर छोडिदिएका थिए । बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आयो भन्ने जानकारी आयो, हामी सबै आत्तियौं ।’ त्यसपछि बयोधाले थप उपचारका लागि भरतपुर लैजानु भनि रिफर गरिदिएको र लैजाँदै गर्दा बाटोमै सोमबार बिहान १ बजेतिर मृत्यु भएको यसराजको भनाइ छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यसैगरी सर्लाहीका ७०  वर्षीय एक पुरुषको उपचारको क्रममा नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन) वीरगञ्जमा सोमबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्लाहीमै विरामी परेका उनलाई उपचारका लागि असोज ११ गते नारायणी अस्पताल ल्याइएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार बाबा आइसोलेसनमा सारिएको थियो ।आइसोलेसनमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए ।

‘मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी हुनुहुँदो रहेछ,’ डाक्टर हुसैनले भने, ‘गम्भीर अवस्थामा नै आइसोलेसनमा आउनुभएको थियो, आवश्यक औषधि उपचार गर्‍यौं । तर बचाउन सकिएन ।’

मंगलबार नै सर्लाहीको बागमती नदी किनारमा उनको अन्त्येष्टि गरिसकिएको नेपाली सेनाले जनाएको छ ।

बाबा आइसोलेसनको आईसीयूमा १४ जना संक्रमित उपचाररत छन् । जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई भेन्टिलेटरमा राखिएको छ । आइसोलेसन सेन्टरमा थप १४ जना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment