
१३ असोज, वीरगञ्ज । प्रथम अधिवेशनकै क्रममा सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ को विवाद बाहिरिएको छ । दुईवटा समूहले छुट्टाछुट्टै अधिवेशन गरेर आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेका छन् ।
तदर्थ समितिका अध्यक्ष शिवकुमार सर्राफ र केन्द्रीय उपाध्यक्ष रामजी साहले छुट्टाछुट्टै स्थानमा गरिएको अधिवेशनबाट आफूहरु निर्विरोध अध्यक्ष पदमा विजयी भएको दाबी गरेका छन् ।
शिवकुमार पक्षले सोमबार वीरगञ्जस्थित हरिओम पार्टी प्यालेसमा र रामजीपक्षले धनुषाको मिथिलानगरस्थित ढल्केबरमा अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् । दुवै समूहले निर्वाचन अधिकृत तोकेर बहुमत प्रतिनिधि सदस्यको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको बताएका छन् ।
अधिवेशनमा प्रदेशका ८ जिल्ला र २ वटा नगर समितिबाट गरी ७० जना प्रतिनिधि सहभागी हुन पाउने प्रावधान छ । ढल्केबरमा अधिवेशन गरेको बताउने असन्तुष्ट पक्षले शिवकुमारले अधिवेशनका बारेमा कुनै जानकारी नदिएको दाबी गरेको छ । महासंघको विधानले तोकेको नियम र प्रक्रियाहरु पूरा नगरेको, गणपुरक संख्या पनि नपुर्याएको र प्रदेश सदरमुकाममा अधिवेशन गर्नुपर्नेमा वीरगञ्जमा आफ्नो पक्षका मानिसलाई मात्रै राखेर गरिएको आरोप लगाएको छ ।
मंगलबार वीरगञ्जमा प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आयोजनना गर्दै उक्त समूहले पूर्व अध्यक्ष समेत रहेको शिवकुमार सर्राफ एकलौटी ढंगले चलेको आरोप लगाए । निर्विरोध निर्वाचित अध्यक्ष बताउने रामजी साहले शिव कुमार समूहले साधरण सभा नै नगरेको, आय व्यय विवरण सार्वजनिक नगरेको, जातीय र नाताको आधारमा चलेको अरोप लगाए ।
तर शिव कुमार पक्षले भने प्रजातान्त्रिक तरिकाबाट सम्पन्न निर्वाचनलाई असन्तुष्ट पक्षले विभिन्न आरोप लगाएर भाँड्न खोजेको दाबी गरेको छ । महासंघका केन्द्रीय सदस्य भरत अग्रवालले आधिकारिक कुन हुने भन्ने विषयमा छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।
प्रतिक्रिया 4