Comments Add Comment

‘छोटो छ जिन्दगी’ गायिकाको गुनासो–‘काठमाण्डौले भाइरल खोज्छ’

‘गायिकामा स्वर भन्दा सुन्दरता खोजिनु दुःखद कुरा हो’

पूर्वाञ्चल धेरै प्रतिभा जन्माउने क्षेत्र । यो क्षेत्रबाट नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा धेरै प्रतिभाहरु जन्मिएका छन् र आफूलाई स्थापित गरिसकेका छन् ।

पूर्वाञ्चलकै भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर १७ बर्षिया गायिका मेलिना मैनाली अहिले काठमाण्डौमा दौडधुप गरिरहेकी छिन् । उनले १५ बर्षको उमेरमा गाएको ‘छोटा छ जिन्दगी’ बोलको गीत चर्चामा आएपछि उनलाई खोज्नेहरुको संख्या बढे । दर्शक–श्रोताले समेत राम्रो स्वर भनिदिएपछि फुरुङ्ग परेकी यी गायिकाले काठमाण्डौ आएको २ महिनामै ८–९ वटा गीतमा स्वर भरिसकेकी छिन् ।

सानैबाट गीत गाउने रहर पलाएको थियो, मेलिनामा । ३ कक्षामा पढ्दादेखि नै गीत गाउन थालेकी उनको स्वरलाई साथीहरुले पनि खुबै तारिफ गर्थे । रेडियोमा गीत बजेको भरमा टपक्क टिपेर गीत गाइहाल्ने बानी थियो उनको । स्कुलबाट हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन उनलाई नै पठाइन्थ्यो । जहाँ गएर गीत गाउँथिन्, सबैले ठूलो मान्छे बन्छ्यौ भन्थे उनलाई । ७ कक्षामा पढ्दा उनलाई अब सांगीतिक क्षेत्रमा नै करिअर बनाउँछु भन्ने लाग्यो । यसपछि भने उनले संगीतको कोर्ष समेत लिइन् । एसईई दिएपछि भने उनले स्टूडियोको माइक समातिन् ।

काठमाण्डौले भाइरल खोज्छ

२ महिना अगाडि काठमाण्डौ आएकी मेलिना दशैंमा फेरि भद्रपुर नै फर्किनेछिन् । उनलाई काठमाण्डौ शहरमा गायनमा सफल हुनका लागि सजिलो छैन भन्ने लागेको छ । मेलिना भन्छिन्–‘मैले जसलाई भेट्छु, सबैले मेरो स्वरको निकै प्रशंसा गर्नुहुन्छ । तर, धेरैले यहाँ भाइरल गायक–गायिका खोज्नुहुनेरहेछ । कसैले अवसर नै नदिई कसरी हाम्रो स्वर दर्शकसम्म पुग्छ र कामको मुल्यांकन हुन्छ ?’

मेलिनाले २ महिनादेखि काठमाण्डौमा निकै दौडधुप गरिरहेकी छिन् । देशका चलेका संगीतकारदेखि नाम चलेका म्यूजिक भिडियो निर्देशकलाई भेटेकी छिन् । धेरैले दिने एउटै जवाफ छ, पहिले भाइरल हुनु अनी काम गरौंला । यसले उनको मन दुखाएको छ । मेलिनाले भनिन्–‘युटुबमा भ्यूज, टिकटकमा फ्यान हेरेर मात्र अवसर पाइनेरहेछ । एउटा गायिकाको स्वर बलियो हुनुपर्छ । तर, यहाँ स्वरसँगै सुन्दरता पनि हेरिन्छ ।’

बजारमा राम्रो गीत युटुबमा सर्च गरेर खोज्नुपर्ने तर उट्पट्याङ गीतहरुको चर्चा भएको उनले पनि वुझेकी छिन् । मेलिना भन्छिन्–‘मलाई लामो रेशको घोडा बन्नुछ । यस्तो कुराले आत्तिन हुँदैन । दर्शक श्रोताले मन पराएपछि लामो समयसम्म चल्न सकिन्छ । भारइल त केही दिनका लागि मात्र हो ।’

मेलिना आफैले गीत रेकर्ड गराएर, भिडियो आफै बनाएर अगाडि बढ्न सक्ने अवस्था आफ्नो नभएको बताउँछिन् । भनिन्–‘आर्थिक अवस्था बलियो भए त म काठमाण्डौ आएर बसिहाल्थे नी । मलाई आफूमाथि विश्वास छ । कुनै राम्रो सर्जकले ममाथि विश्वास गर्नुभयो भने म उहाँलाई आफ्नो स्वरबाट निराश बनाउदिनँ ।’

 

यसरी जन्मियो ‘छोटो छ जिन्दगी’

मेलिनाले केही गीत रेकर्ड गराएकी छिन् । उनले गाएको मध्ये ‘छोटो छ जिन्दगी’ बोलको गीतले दर्शकको मन जित्यो । मेलिना घरमा रहँदा गीत गाइरहन्थिन् ।

उनका दाजुले गायक भूपू पाण्डेलाई उनको स्वर सामाजिक सञ्जालबाट पठाइदिएका थिए । भूपूले मेलिनाको स्वर रुचाएपछि उनलाई काठमाण्डौ बोलाए र गीत रेकर्ड गराए । यो गीतले चर्चा पाएपछि मेलिनाको पनि स्वरको चर्चा हुन थाल्यो । यसपछि उनले ‘साह्रै याद आउँछ, मुग्लान’ लगायतका गीत गाइसकेकी छिन् ।

भाग्य र मिहिनेतमा विश्वास छ

सांगीतिक क्षेत्रमा अहिले प्रतिस्पर्धा बढेको छ । विभिन्न रियालिटी शो, कभर गीत, टिकटक लगायतका माध्यमबाट गायक–गायिकाको आवागमन बढ्दो छ । यस्तो अवस्थामा यो क्षेत्रमा प्रतिस्पर्धा गर्नु सहज छैन ।

मेलिना भन्छिन्–‘मलाई भाग्य र आफ्नो मिहिनेतमा विश्वास छ । यसैले, मलाई अहिले नै हतार छैन । लामो समयसम्म चल्न गीत गाउन मन छ । आज हिट भोलि फ्लप भएर करिअर लामो समयसम्म चल्दैन । कुनै दिन आफूले गाएको गीत हेर्दा पछुतो नहोस्, म यत्ती चाहन्छु ।’

मेलिनाको अबको सपना भनेको दर्शकलाई मिठा गीत पस्कने हो । यसका लागि उनी मिहिनेत गरिरहेकी छिन् । अझै पनि आफूले धेरै सिक्न बाँकी छ भन्ने मेलिना अहिले नै काठमाण्डौमा आएर बस्ने सोचमा भने छैनन् । दशैंमा पूर्व नै फर्किन लागेकी मेलिना काठमाण्डौले फेरि बोलायो भने आइरहन्छु भन्छिन् ।

१७ बर्षको उमेरमै उनीसँग आत्मविश्वास भने बलियो छ । यही आत्मविश्वासले उनलाई अरु गायक–गायिका भन्दा अलग परिचय यो क्षेत्रले दिन्छ भन्ने लागेको छ । बजारमा भाइरल गीत चल्छन् । भाइरल गायक–गायिकाको खोजी बढी हुन्छ । के यो भीडमा मेलिनाले छुट्टै स्थान बनाउन सक्लिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment