+
+
Shares

धौलागिरि माइक्रोफाइनान्सका निमित्त सीईओ जोशी निलम्बनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १९:०१

१४ असोज, काठमाडौं । धौलागिरि माइक्रोफाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी निलम्बनमा परेका छन् । कर्मचारीलाई अनावश्यक दवाव दिएर जागिर छाड्न बाध्य बनाएको उजुरी परेपछि निमित्त सीईओ जोशीलाई संस्थाको सञ्चालक समितिले निलम्वन गरेको हो ।

संस्थाको नेतृत्वमा पुगेपछि जोशीले कर्मचारीहरुलाई अनावश्यक तनाव दिने गरेको आरोप लागेको थियो । केही समयअघि उनले एक म्यानेजरलाई राजीनामा दिन दबाब दिएका थिए । आफूलाई बिना कारण राजिनामा दिन दवाव दिइएको भन्दै ती म्यानेजरले सञ्चालक समितिमा उजुरी दिएका थिए । उजुरीको बोद्धार्थ राष्ट्र बैंकमा समेत पुगेको छ ।

विवाद कर्मचारी–कर्मचारी बिचको भए पनि राष्ट्र बैंकमै पुगेपछि निलम्वन गरेर छानविन शुरु गरिएको संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले जानकारी दिए । उनका अनुसार यस विषयमा छानविन गर्न सञ्चालकद्वय हरिप्रसाद शर्मा र सिर्जना थापा रहेको समितिलाई जिम्मा दिइएको थियो । उक्त समितिको सिफारिसअनुसार कम्तीमा ४५ दिन निलम्वनमै रहने र त्यसपछिमात्रै पुनर्बहाली हुने वा नहुने थाहाँ हुने अध्यक्ष राजभण्डारीले बताए ।

‘अन्य कर्मचारी भए डीसीओले नै छानविन गर्नुहुने थियो तर निमित्त सीईओको नै विवादमा मुछिएपछि ४५ दिनका लागि उहाँ (जोशी) लाई निलम्वन गरिएको हो’ उनले भने, ‘अहिले थप छानविन भइरहेको छ, छानविन पछि मात्रै उहाँ रहने वा नरहने थाहा हुन्छ ।’

जोशीले पनि आफू निलम्वनमा परेको स्वीकार गरे । आन्तरिक केही समस्या भएको भन्दै उनले यो विषय मिलिसकेको पनि बताए । उनले आफूले राष्ट्र बैंकमा कुरा गरेको र अब आफ्नो पुनर्बहाली हुने समेत दावी गरे ।

धौलागिरि माइक्रोफाइनान्स बाग्लुङ केन्द्रीय कार्यालय रहेको संस्था हो । निलम्वनमा परेपछि जोशी अहिले काठमाडौं आएका छन् ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले कुन संस्थामा के विवाद हुन्छ भन्ने कुरा राष्ट्र बैंकलाई जानकारी नहुने बताए । सञ्चालक समिति र सीईओको विवाद आफै सुल्झाउनु पर्ने उनको भनाइ छ । संस्थामा केही नराम्रो भए राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्ने भए पनि सञ्चालक र सीईओको विवादमा केही नगर्ने उनले बताए ।

धौलागिरि मर्जरमा जान लागेको संस्था होे । लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानका लागि सम्झौता गरिसेका छन् ।

मर्जरपछि संस्थाको नाम धौलागिरि आँधीखोला लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । धौलागिरिले अध्यक्षसहित ३ जना सञ्चालक र आँधीखोलाले स्वतन्त्र सञ्चालकसहित ३ जना सञ्चालक पाउने सहमति भएको छ ।

संस्थाको अध्यक्षमा हाल धौलागिरिका अध्यक्ष राजभण्डारी नै रहने र सीईओ भने आँधीखोलाका सीईओ डोलराज केसी रहने सहमति भएको छ । हाल निलम्बनमा परेका जोशी मर्जर पछि नायब प्रमुख कार्यकारी अधिकृत रहने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?