Comments Add Comment

कोलकाताको कसिलो बलिङले राजस्थानको विजययात्रा रोकियो

कोलकाता ३७ रनले विजयी हुँदा राजस्थानले पहिलो हार व्यहोर्‍यो

१५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको विजयी यात्रामा रोक लगाइदिएको छ ।

बुधबार राति दुबईमा राजस्थानविरुद्धको खेलमा कोलकाता ३७ रनले विजयी भयो । राजस्थानको यो पहिलो हार हो ।

कोलकाताले दिएको १७५ रनको विजय लक्ष्य पछ्याएको राजस्थान, निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।

राजस्थानका टम करनले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । जोस बटलरले २१ र राहुल तेवतियाले १४ रन बनाए । अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल रहे । कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो ।

कोलकातातर्फ शिवम माभि, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि दुबई इन्टरनेसनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । कोलकाताका ओपनर शुभमन गिलले सर्वाधिक ४७ रन बनाए । ३४ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।

शुभमन राम्रो लयमा देखिएका थिए तर दोस्रा ओपनर सुनिल नरेन रन बटुल्न संघर्षरत थिए । सुनिलले १५ रनमात्र बनाउन सके । त्यसपछि शुभमनले नितिश राणासँग मिलेर दोस्रो विकेटका लागि ४६ रन बनाए । राणा १० औं ओभरमा २२ रन बनाएर राहुल तेवतियाको शिकार बने । १२ औं ओभरमा जोफ्रा आर्चरले शुभमन गिललाई पेभेलियन फर्काए ।

कोलकाताका कप्तान दिनेश कार्तिक आर्चरको दोस्रो शिकार बने । दिनेशले केबल १ रन बनाउन सके । आन्द्रे रसेलले १४ बलमा ३ छक्काको मद्दतमा २४ रन बटुले । इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा नटआउट रहे ।

राजस्थानका लागि आर्चरले केबल १८ रन दिएर २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment