Comments Add Comment

असह्य पीडामा पनि शान्त डा. केसी

१५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ । डा. गोविन्द केसीको १९ औं अनसन स्थल ।

त्यहाँ पुग्नुपूर्व ठूलो बैठक कोठा पार गर्नुपर्छ, जहाँ हवल्दारको नेतृत्वमा तीन प्रहरी छन् । डा. केसीलाई भेट्न पुग्ने जो कोहीलाई प्रहरीले त्यहीँ रोक्छ । पत्रकार देख्यो भने उर्दी जारी गर्छन्, ‘फोटो खिच्नचाहिँ पाइँदैन है ! क्यामेरा बाहिरै राखेर जानुहोला ।’

‘फोटो खिच्न डा. केसीले रोकेको कि तपाईंहरुले ?’ नियम अस्वभाविक लागेकाले सोध्यौं ।

एक प्रहरीले झर्किंदै भने, ‘यहाँ आउन पनि अनुमति लिनुपर्छ । तर, तपाईंहरु आइहाल्नुभएछ । फोटो खिच्न नदिने माथिको आदेश छ ।’

डा. केसीलाई भेटेर साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार बाहिरिए । ‘हामीले भेट्यौँ । शुभेक्षा प्रकट गर्यौँ र फर्कियौँ । उहाँ बोल्न सक्नुहुन्न, बोलाउने चेष्टा पनि गरेनौँ’, मिश्रले अनलाइनखबरसँग भने, ‘दुःखको कुरा त यो छ कि सरकारले गर्नुपर्ने काम नगरेर उहाँ अनसन बस्नुपरेको छ र पनि सरकारले पूरै बेवास्ता गरिरहेको छ ।’

हुन पनि डा. केसीलाई भेट्न अहिलेसम्म सरकार पक्षको कोही पनि पुगेका छैनन् । न सत्तारुढ दलका नेता, न कुनै मन्त्री, न कर्मचारी ।

डा. केसीका समर्थक सञ्जिव कार्कीको अनुमतिमा हामी डा. केसी अनसनरत कोठा प्रवेश गर्यौँ । मास्क लगाएर ओछ्यानमा पल्टिरहेका छन् डा. केसी । ६४ वर्षीय उनका आधा कपाल सेतै फूलेका छन्, आधा झरेका । गडेर खोपिल्टा परेजस्तो देखिने उनका दुई आँखा चिम्म छन् । डा. केसी शान्त छन् । न कुनै छटपटी, न हलचल । स्ट्याचुजस्तो । उनी सुतेको बेडमा टाँसिएको पोस्टर सजिलै पढ्न सकिन्छ– दुरदराजमा मेडिकल शिक्षा खोई ?

डा. केसीको हातमा स्लाइनका थोपाहरु छिरिरहेछन् । छेउमा मोनिटरले मुटुको ढुकढुकी बताइरहेको छ । डा. केसीको टाउकोको ठीक माथि अर्को पोस्टर टाँसिएको छ– आमरण अनसनको आज १७ औँ दिन । सञ्जिव भन्छन्, ‘उहाँलाई डाक्टरहरुले अस्ति नै आईसीयूमा लैजाने सुझाव दिनुभएको थियो । तर, उहाँले सलाइनपानीबाहेक कुनै औषधिसमेत लिन मानिरहनु भएको छैन ।’

उनका अनुसार डा. केसीको स्वास्थ्य हेर्ने पाँच जना डाक्टरको टिम छ । उनीहरुले प्रत्येक घण्टामा डा. केसीको स्वास्थ्य परीक्षण गरिरहन्छन् ।

छबुँदे माग राख्दै जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसीलाई गत ६ असोजमा काठमाडौं ल्याइएको थियो । काठमाडौं एयरपोर्टबाट प्रशासनले जबरजस्ती डा. कसीलाई ट्रमा सेन्टरमा पुर्याएको थियो । फेरि उनकै इच्छामा अर्को दिन त्रिवि शिक्षण अस्पताल, त्यही ल्याएको हो । यो त्यही अस्पताल हो, जहाँ डा. केसीले २६ वर्ष निरन्तर सेवा गरेर गत वर्ष सेवानिवृत्त भए ।

****

अहिले डा. केसी आफैं हलचल गर्न सक्दैनन् । कोल्टे फेर्नुपर्यो भने इशारा गर्छन् । सहयोगीले केसीलाई सहयोग गर्छन् । उनका सहयोगीका रुपमा आफन्त र समर्थक गरी छ जना खटिएका छन् । बुधबार दिनभर डा. केसीसँग सञ्जिव थिए । उनी भन्छन्, ‘कहिलेकाहीँ उठाइदिन भन्नुहुन्छ र अडेस लागेर बस्नुहुन्छ । हिँड्न सक्नुहुन्न, त्यसैले बेडबाट पिसाब फेर्न सहयोग गरिदिन्छौँ ।’

डा. केसी कहिलेकाहीँ राति ऐया, आत्थो गर्छन् । बेचैन भएको अनुभूति गर्छन् । उनका सहयोगीमध्येका एक सञ्जिव भन्छन्, ‘हामीले उठायौँ भने उहाँ चुप बस्नुहुन्छ । कुनै प्रतिक्रिया दिनुहुन्न ।’

आफूलाई दुखेको कुरा अरुलाई भनेर थप बोझ नथप्ने डा. केसीको स्वभाव भएको उनले सुनाए । ‘बेलाबेला छाती र मांसपेशीहरु अत्याधिक दुखेको उहाँले नजानिदो ढंगले देखाउने प्रतिक्रियाबाट थाहा पाउँछौँ अनि मसाज गरिदिन्छौँ’, उनले थपे, ‘काठमाडौंमा जस्तै कर्णालीमा पनि प्रहरीले उहाँलाई लछारपछार गरेको थियो । स्थिर रहेको उहाँको शरीरमा त्यसले निकै चोट दिएजस्तो भएको छ ।’

डा. केसी कहिलेकाहीँ मात्र बोल्छन् । एक पटक उनले भनेका थिए, ‘मैले राजनीति गर्न वा पद पाउन यो गरिरहेको छैन । राजनीति गर्न जान्दिनँ, तर बुझ्छु र बुझिरहेको छु ।’ हुन पनि मेडिकल शिक्षा सुधारका लागि निरन्तर अनसनरत डा. केसीलाई जति कसलाई थाहा होला र नेपालको राजनीति । राजनीतिले गरिरहेको घात प्रतिघात, मेडिकल माफियामाथि सत्ताको सहानुभूति, जनतालाई देखाइएका खोक्रो आश्वासनको साक्षी हुन् डा. केसी ।

करिब १५ मिनेटपछि डा. केसीले आँखा खोले । तर केही बोलेनन् । एकतर्फी सिलिङमा हेरिरहे । ‘उहाँ त्यति धेरै निदाउन पनि सक्नुहुन्न । कहिलेकाहीँ भजन लगाउन भन्नुहुन्छ । हामीले मन्द स्वरमा भजन लगाइदिन्छौँ । उहाँ सुन्दै आँखा ढिप्काइरहनुहुन्छ,’ सञ्जिवले भने ।

डा. केसीको मागप्रति सरकारले अझै आधिकारिक धारणा व्यक्त गरेको छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ शुरु गर्ने र हरेक प्रदेशमा सरकारी मेडिकल कलेज हुनुपर्ने, भ्रष्टाचारको छानविन गरी कारबाही गर्नुपर्ने डा. केसीको माग सरकारले सुनेको छैन । निरन्तर अनसन बसेर डा. केसीले दिएको जवाफले पक्कै सत्तालाई खल्बल्याएको छ, सत्ताधारीमा खैलाबैला मच्चाएको छ ।

डा. केसीको समर्थनमा नियमितजसो माइतीघर मण्डलामा युवाहरुको जुलुस निस्किरहेको छ । कहिलेकाहीँ सहयोगीले यस्ता जानकारी र मिडियामा आएका समाचारहरुबारे डा. कसीलाई थाहा दिन्छन् ।

कोठा नम्बर ५०१ मा बस्दाबस्दै डा. केसीलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई आइपुगे । उनले डा. केसीलाई भने, ‘नैतिकता भएकाहरुले पो नैतिकताको ख्याल गर्छ त । तपाईंले अनसन फिर्ता लिनुपर्यो । पहिले आफ्नो ज्यान बचाउनुपर्यो ।’

यो पनि पढ्नुहोस ‘माग पूरा भए काठमाडौं फर्किन्छु, नभए यतै मृत्यु हुन सक्छ’

तर यो आफ्नो निर्णायक अनसन भएको र सरकारले माग पूरा नगरे अनसनकै क्रममा मृत्युवरण गर्न पछि नपर्ने बताइसकेका डा. केसी लामो समय केही बोलेनन् । विस्तारै हात उठाए र भाषिएको स्वरमा भने, ‘धन्यवाद् ।’

सञ्जिव भन्छन्, ‘उहाँका ओंठ कलेटी परेका छन् । पट्पटी फुटेका छन् ।’ थाहा छैन डा. केसीको यो अनसन कति लामो समयसम्म लम्विन्छ ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment