
१२ असोज,, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ । उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो ।
प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो । राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए । तर भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो । त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।
के हो हाथरस घटना ?
सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने स्थानमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कारपछि उनी खेतमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनीमाथि सामुहिक बलात्कार गरेको आरोपमा गाउँका तथाकथित उच्च जातका चार युवा पक्राउ परेका छन् ।
निकै गम्भीर अवस्थामा बेहोस फेला परेकी किशोरीको गत मंगलबार दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । निधन भएपछि प्रहरीले उत्तर प्रदेशमा रहेको उनको घरमा शव ल्याएको थियो । प्रहरीले तत्कालै शव जलाउन परिवारसँग आग्रह गर्यो । तर, परिवारले मानेनन् । त्यसपछि प्रहरीले शव एम्बुलेन्समा हालेर लग्यो र परिवारको अनुमति विना नै जलाएको आरोप लागेको छ । यद्यपि प्रहरीले भने पीडित परिवारको अनुमतिमा प्रहरीको रेखदेखमा शव जलाइएको दाबी गरेको छ । स्वयं पीडित परिवारका सदस्यहरु भने आफूहरुले अनुमति नदिएको बताइरहेका छन् ।
अधिकारवादीहरुले भने प्रहरीले यस किसिमको कार्यलाई संवेदनहीन र अमानवीय कार्य भएको बताएका छन् । यसै विषयलाई लिएर अहिले समग्र भारतभर आन्दोलन चलिरहेको छ । यो घटनाबारेको अनुसन्धानमा प्रहरीले उदाशीनता देखाएको पीडित परिवारको आरोप छ । १० दिनसम्म पनि यो घटनामा कसैलाई पनि पक्राउ नगर्नुले यो कुरालाई पुष्टि गर्ने उनीहरुको भनाइ छ । त्यसका साथै प्रहरीले आफूहरुलाई नै डर देखाउने र धम्क्याउने काम गरेको पनि पीडितको गुनासो छ ।
भारतका विपक्षी नेताहरुले पनि प्रहरीको यस किसिमको कार्यको निन्दा गरेका छन् । भारतीय कांग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ । राहुलले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएका थिए । यसै क्रममा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
स्रोत : एएनआई/बीबीसी
प्रतिक्रिया 4