Comments Add Comment

बालबालिकाका लागि जरुरी छ यस्ता आनीबानी

कोरोनाका कारण बालबच्चा भयभित मात्र छैनन्, केही कुरा सिक्न एवं अभ्यास गर्न पनि पाएका छन् । जस्तो कि, हातको सरसफाई, नाक–मुखको सुरक्षा आदि । आज उनीहरुले सिकेका यी कुरा जीवनभरका लागि उपयोगी हुनेछ । अर्थात शारीरिक सरसफाईमा उनीहरु सधै सजग हुनेछन् ।

किनभने सानो उमेरमा सिकेका कुराहरु जीवनभर याद गर्छन् र अनुसरण पनि । त्यसैले बालबालिकालाई शारीरिक स्वास्थ्यका लागि आवश्यक यस्ता थुप्रै कुराहरुमा सिकाउन जरुरी छ, जो उनीहरुको निम्ति जीवनभर उपयोगी होस् ।

भलै यी स–सना कुरा हुन्, जस्तो कि हात धुने, ब्रस गर्ने, नुहाउने, नङ काट्ने, शौच क्रिया गरेपछि सफाई गर्ने, लुगाफाटो मिलाउने, आफ्नो ओछ्यान सफा राख्ने । यद्यपि यस्तै कुराहरुले उनीहरुमा राम्रो बानीको बिकास हुन्छ र त्यो जीवनभर उपयोगी हुन्छ ।

मुखको सरसफाई

शरीरलाई आवश्यक पोषक तत्व हामी खानेकुराबाट प्राप्त गर्छौं । ति खानेकुरा हाम्रो मुख, अन्नली हुँदै पेटमा पुग्छ । खानेकुराको पाचन प्रक्रिया मुखबाटै सुरु हुन्छ । त्यसैले मुखको सरसफाई पहिलो सर्त हो । दाँत र मुखको सरफाईमा अनिवार्य ध्यान दिनुपर्छ । दाँत बलियो र सफा भएमा खानेकुरा राम्ररी चपाउन सकिन्छ । दाँत र मुख सफा भएमा पाचन यन्त्र राम्रो हुन्छ । सास गन्हाउनेदेखि मुटुको रोग लाग्ने संभावनासम्म कम हुन्छ ।

–बिहान र साँझको खाना खाइसकेपछि कम्तीमा दुई पटक ब्रस गराउनु जरुरी हुन्छ ।

–ब्रस गरिसकेपछि जिब्रोको सफाई गर्न सिकाउनुपर्छ ।

–कुनैपनि खानेकुरा खानसाथ मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

–चकलेट वा गुलियो खानेकुरा कम खाने वा खाइसकेपछि राम्ररी मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

यसरी सानै उमेरदेखि दाँत र मुखको सफाईमा ध्यान दिने, नियमित ब्रस गर्ने, कुल्ला गर्ने बानीको विकास भएमा उनीहरुलाई दाँत लगायत पाचन यन्त्रको समस्या हुँदैन ।

शरीरको सरसफाई

बालबालिकालाई नियमित रुपमा नुहाउन पनि सिकाउनु जरुरी छ । यसरी नुहाइदिँदा शरीरका विभिन्न भागहरु जस्तैः हात खुट्टा, हत्केला, जोर्नीहरु, कम्मर नाभी, घुँडा आदीलाई राम्रोसँग सफा गर्नुपर्छ । भित्री पहिरन फेरिदिनुपर्छ ।

हातको सरसफाइ

बच्चामा हात नियमित धुने बानी बसाउनुपर्छ । उनीहरुलाई हात धुनाले विभिन्न रोगका ब्याक्टेरियाहरु फैलनबाट रोक्न र बिरामी हुनबाट बच्न सकिन्छ भनेर बुझाउनुपर्छ । हात धुने सही तरिका पनि सिकाउनुपर्छ ।

खासगरी कुनैपनि खानेकुरा खानुअघि वा खाइसकेपछि राम्ररी हात धुने अभ्यास गराउनुपर्छ । खेलौनाहरु खेलिसकेपछि, घरबाहिरबाट आएपछि, कुनै काम गरिसकेपछि हात धुन सिकाउनुपर्छ । यस बखत पानी र साबुनको उचित प्रयोग गर्न पनि सिकाउनुपर्छ ।

खुट्टाको सरसफाई

फोहोर खुट्टाले दुर्गन्ध आउनेमात्रै होइन दाद र अन्य संक्रमणको पनि खतरा बढ्छ त्यसैले बच्चालाई खुट्टा सफा राख्न पनि धेरै आवश्यक छ भन्ने थाहा हुन पर्छ ।

बच्चामा दिनमा २ पटक खुट्टा सफा गर्ने बानी बसाउन पर्छ । औंलाहरुको बीच भागलाई राम्रोसँग पुछेर सुकाउन भन्नुहोस् किनभने औंलाहरुको बीचको ठाउँ भिजेर फंगस हुन सक्छ ।

शौचालयमा

बच्चालाई सौच गर्ने सहि तरिका थाहा हुन पर्छ । सँधै अगाडीबाट पछाडितर्फ धुन सिकाउनुहोस । पछाडिबाट अगाडिको तर्फ धोएमा संक्रमणको खतरा बढ्न सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन पर्छ ।

त्यस्तै बच्चालाई दिसापिसाब पछि फ्लस गर्ने बानी सिकाउन पर्छ । बच्चालाई संक्रमणबाट बच्न हरेक पटक शौचालयबाट आए पछि हात धुन धेरै आवश्यक छ भन्ने बुझाउनुपर्छ ।

नङको सरसफाई

बच्चाहरुले आफ्नो नङलाई सफा राख्न सिक्नुपर्छ । किनभने फोहोर नङमा ब्याक्टेरियाहरु जम्मा हुन्छ जसले बिरामी बनाउन सक्छ ।

बच्चाहरुको दाँतले नङ टोक्ने बानी हुन्छ त्यसैले उनीहरुलाई दाँतले नङ काटेमा फोहोर हुन्छ र ब्याक्टेरियाहरु पेटमा पुगेर बिरामी बनाउन सक्छन् भन्ने सिकाउनुपर्छ ।

यसरी सुत्न सिकाउनुहोस्

बच्चाहरुलाई ८—१० घन्टा गहिरो निन्द्रामा सुत्ने बानी बसालिदिनुपर्छ । पुरै निन्द्रा सुतेमा उनीहरुको शारीरिक र मानसिक विकास राम्रो रहन्छ भन्ने उनीहरुलाई थाहा हुन पर्छ ।

सँधै सजिलो पहिरन लगाएर सुत्ने बानी बसाइदिनुहोस् किनभने आरामदायक कपडामा उनीहरु गहिरो निन्द्रा सुत्न सक्छन् । बच्चालाई आफ्नो ओछ्यानलाई सफा गर्न सिकाउनुपर्छ । बच्चाहरुलाई रातमा सुत्नु अगाडि पिसाब फेर्न जाने बानी गराउनुपर्छ, ताकी रातमा उठ्दा निद्रा नबिग्रियोस् ।

घर वा कोठाको सरसफाई

बच्चाहरु जुत्ता चप्पललाई यताउता नराखेर सँधै जुत्ता राख्ने र्याकमा राख्न सिकाउनुपर्छ । बच्चाहरु फोहोर र अन्य कुनै बेकार चीजहरुलाई डस्टबिनमा राख्न पनि सिकाउनुपर्छ । त्यस्तै उनीहरुलाई कपडाहरु पट्याएर दराजमा राख्न सिकाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment