Comments Add Comment

डोनाल्ड ट्रम्प : जसले कोरोनालाई कमजोर आँके

१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै अहिले उनीहरु निवासमै क्वारेन्टिनमा छन् ।

दुवैको स्वास्थ्यमा अहिलेसम्म कुनै पनि खराबी नदेखिएको ट्रम्पका चिकित्सकको भनाइ छ । जोखिमको आधारमा भन्ने हो भने ट्रम्प कोरोनाको उच्च जोखिम भएको उमेर समूहमा पर्छन् । उनी ७४ वर्षका छन् ।

ट्रम्पलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुन गइरहेको दोस्रो प्रत्यक्ष बहसमा केही असर पर्छ कि भन्ने आशंका उत्पन्न भएको छ । अक्टोबर १५ मा राष्ट्रपतिका उम्मेदवारहरुको बीचमा दोस्रो प्रत्यक्ष बहस हुने तालिका छ ।

चीनको वुहानमा कोरोनाको पहिलो संक्रमित फेला परेको नौ महिनापछि त्यसको संक्रमण विश्वको सबैभन्दा शक्तिशाली मुलुकका राष्ट्रपतिलाई देखिएको हो । यस अवधिमा भने कोरोना महामारीलाई लिएर विभिन्न किसिमका उतारचढाव आए । सबैभन्दा धेरै चर्चा एवं विवादमा भने अमेरिकी राष्ट्रपति ट्रम्प नै रहे ।

ट्रम्पले सुरुदेखि नै कोरोनालाई कमजोर आँक्दै आएका थिए । उनले कोरोनालाई गम्भीर रुपमा लिएनन् र यसको विषयमा भ्रमपूर्ण अभिव्यक्तिहरु पनि दिए । उनले यसलाई एउटा हाउगुजीको संज्ञा दिएका थिए । ट्रम्पले गत फेब्रुअरी २८ मा चुनावी सभालाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी राजनीतिक रुपमा उचालिएको नयाँ हाउगुजी रहेको बताएका थिए । एनबीसी न्युजले उल्लेख गरेअनुसार सो सभालाई सम्बोधन गर्ने क्रममा उनले कोरोना अमेरिकाको लागि जोखिमपूर्ण नरहेको दाबी समेत गरेका थिए ।

त्यस्तै फेब्रुअरीमा एक कार्यक्रममा बोल्दै ट्रम्पले कोरोना भाइरस चमत्कारिक रुपमा हराएर जाने बताएका थिए । उनले यो भाइरसप्रति नै अविश्वास व्यक्त गरे ।

मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गर्दा ट्रम्पले अमेरिकामा भने यसको जोखिम निकै कम रहेको प्रतिक्रिया दिएका थिए । तर, सोही दिन अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भने अमेरिकामा कोरोना महामारीको अवस्था खराब हुँदै गएको बताएका थिए ।

त्यस्तै मार्च १९ मा उनले वरिष्ठ पत्रकार बोब वुडवार्डलाई दिएको अन्तर्वार्तामा आफूले कोरोना भाइरसको महामारीलाई वास्तविकभन्दा कमजोर देखाउन चाहेको बताएका थिए । जुन कुरा उनले आफ्नो किताबमा उल्लेख गरेका छन् । यद्यपि गत सेप्टेम्बर १५ मा भने उनले आफूले कहिल्यै पनि कोरोनाको जोखिमलाई कमजोर देखाउने प्रयास नगरेको बरु उल्टै वास्तविकताभन्दा जोखिमपूर्ण देखाउने प्रयास गरेको भन्दै यसको खण्डन गरेका थिए ।

मार्च ९ मा ट्रम्पले गत वर्ष अमेरिकामा ३७ हजार मानिसको सामान्य रुघाखोकीको कारण मृत्यु भएको तर रुघाखोकीलाई रोक्न लकडाउन गर्नुपर्ने वा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था सिर्जना नभएको बताएका थिए । उनको संकेत कोरोना नियन्त्रणको लागि लकडाउन गर्नुपर्ने र सीमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्ने मागप्रति लक्षित थियो । जतिबेला अमेरिकामा एक हजारभन्दा कम संक्रमित फेला परेका थिए भने २८ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ट्रम्पले कोरोना भाइरसको महामारीलाई कमजोर आँकलन गर्दै यसलाई नियन्त्रणको प्रयास गर्नुको सट्टामा राजनीतिक हतियार बनाएका थिए । कोरोना महामारीको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको पक्ष लिएको भन्दै ट्रम्पले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेका थिए ।

ट्रम्पले कोरोनाबाट बच्न मास्क लगाउने नियमको पनि अस्वीकार गर्दै आएका थिए । उनले सुरुमा मास्क लागाउन अस्वीकार गर्दै आए पनि पछिल्लो समय भने मास्क लगाउनुपर्ने र भौतिक दुरी कायम गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । जबकी यसअघि उनले मुलुकमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको समयमा पनि उनले चुनावी र्‍यालीको आयोजना गरेका थिए ।

पछिल्लो समय भने उनी कोरोना नियन्त्रणको लागि वैज्ञानिकहरुले सुझाएको मापदण्डमा केही लचिलो देखिएका छन् ।

कोरोनाबारे ट्रम्पले छरेका भ्रम

कोरोनाको महामारीलाई ट्रम्पले कमजोर मात्र आँकेनन्, यसको विषयमा मानिसहरुमा भ्रमसमेत सिर्जना गर्ने काम गरे । जसको कारण कोरोना महामारी नियन्त्रणमा उनको भूमिकालाई लिएर प्रश्न उठ्ने गरेको छ । यहाँ उनले कोरोनाबाट छरेका केही भ्रमहरु उल्लेख गरिएको छ –

१. सबैभन्दा कम मृत्युदर

डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण बढ्दै गएपछि अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोनाको करण मृत्यु हुनेको संख्या निकै कम रहेको भन्दै आफूले कोरोनाविरुद्ध चालेका कदमको बचाउ गरेका थिए । अहिले अमेरिका कोरोना संक्रमित र मृतक संख्याको आधारमा सबैभन्दा प्रभावित मुलुक हो । जनसंख्याको आधारमा मृत्युदरलाई हेर्ने हो भने पनि अमेरिका सबैभन्दा प्रभावित शीर्ष १० मुलुकको सूचीमा पर्छ ।

२. हाइड्रोक्सिक्लोरोक्विन

गत मे महिनामा ट्रम्पले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विन कोरोना नियन्त्रणको लागि सहयोगी हुने दाबी गरेका थिए । तर, वैज्ञानिकहरुको परीक्षणमा यो औषधि कोरोना नियन्त्रणको लागि सहयोगी नहुने पाइएको छ । ट्रम्प भने निरन्तर हाइड्रोक्सिक्लोरोक्विनको लिनुपर्ने पक्षमा छन् । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले पनि यो औषधि प्रयोग नगर्न चेतावनी दिइसकेको छ ।

३. राजनीतिक रंग

ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीको सरकार रहेका राज्यमा कोरोना भाइरस बढी फैलिएको र रिपब्लिकन पार्टीको सरकार रहेको स्थानमा कम फैलिएको दाबी गर्दै आएका छन् । तर, अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएका पाँच राज्य हेर्ने हो भने ३ वटामा डेमोक्रेटिकको सरकार छ भने दुईवटामा रिपब्लिकनको सरकार छ ।

४. मानव निर्मित भाइरस !

बीबीसीका अनुसार गत अप्रिल महिनामा उनलाई कोरोना भाइरस प्राकृतिक रुपमा उत्पत्ति भएको नभई चीनको प्रयोगशालामा निर्माण गरिएको बताएका थिए । तर, पछि वैज्ञानिकहरुले यो भाइरस मानवनिर्मित नभएको निष्कर्ष निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment