Comments Add Comment

परराष्ट्र मन्त्रीको प्रश्न : आणविक हतियारमा लगानी गर्ने कि गरिवी निवारणमा ?

१७ असोज काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक लगानी आणविक हतियारमा गर्ने हो कि गरिवी निवारणमा भनी आफैंलाई प्रश्न गर्ने समय आएको बताएका छन् ।

आणविक हतियारलाई पूर्ण रुपमा उन्मुलन गर्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिएको उच्चस्तरीय सम्मेलनलाई भर्जुअल सम्बोधन गर्दै उनले सो प्रश्न गरेका हुन् । साथै, मन्त्री ज्ञवालीले अनन्त सर्वनाशमा लगानी गर्ने कि वातावरण संरक्षणमा ? भन्ने प्रश्न पनि गरेका छन् ।

मन्त्री ज्ञवालीले भनेका छन्, ‘यी प्रश्नहरुको उत्तर एकदमै सामान्य र सीधा छ । हामीले मानिसको र समग्र मानवताको सुरक्षा र हितमा फोकस गर्नुपर्ने आवश्यकता छ । हामीले निःशस्त्रीकरणको लाभांश दीर्घकालीन विकास लक्ष्यको प्राप्तीमा डाइभर्ट गर्न आवश्यक छ ।’ उनले हरेक वर्ष आणविक हतियारमा धेरै पैसा खर्च भइरहेको वताए ।

ज्ञवालीले हतियारमा गरिने लगानीको मूल्यको एउटा सानो अंशले लाखौं मानिसलाई भोकमरी र रोगबाट जोगाउने, स्वच्छ खानेपानी र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए । बिग्रदो वातावरणीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री ज्ञवालीले त्यसका लागि अझै बढी कूटनीतिक प्रयासहरु गर्नुपर्ने बताए ।

सो कार्यक्रममा मन्त्री ज्ञवालीले आणविक हतियार सम्बन्धी नेपालको पोजिसनलाई अन्तर्राष्ट्रिय समुदाय माझ स्पष्ट रुपमा राखेका छन् । उनले भने, ‘म नेपालको अडानलाई पुनः दोहो¥याउन चाहान्छु कि एक निश्चित समयतालिका मार्फत सम्पूर्ण रुपले आणविक र जन विनाशकारी अन्य हतियारको सम्पूर्ण रुपले निःशस्त्रीकरण गरेर मात्र शान्ति र सुरक्षा  प्राप्त गर्न सकिन्छ ।’

उनले थपे, ‘आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग र आणविक हतियारको पूर्ण रुपमा निःशस्त्रीकरण एकै सिक्काका दुईपटा हुन् भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।’ उनले आणविक प्रविधीलाई शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवालीले सो प्रविधिलाई स्वास्थ्य, कृषि उत्पादकत्व वृद्धि, मानव जीवन जोगाउने प्रयोजनका लागि उपयोग गर्नुपर्ने बताए । उनले अगाडि भने, ‘आणविक हतियार बढ्दै गएमा विश्व कहिले पनि सुरक्षित बन्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment