Comments Add Comment

उपभोक्ताले यी उत्पादनमाथि कसरी विश्वास गर्ने ?

१७ असोज, काठमाडौं । स्वयम्भू, ठूलो भर्‍याङकी चार वर्षीया आस्थिका गजुरेल ओरियोबाहेक अरु कुनै बिस्कुट खाँदिनन् । चकलेट र बिस्कुटको नाम र स्वाद चिन्न थालेदेखि नै छोरीले ब्राउन ओरियो रुचाएको आमा नानीमैयाँ गजुरेलले बताइन् ।

बिहीबार प्रहरी र वाणिज्य विभागले छापा मारेर खाने म्याद सकिएका ओरियो बिस्कुटसहित बर्नभिटा, स्नेकर्स चकलेट, ट्याङ जुस लगायतका दर्जनौं उत्पादन फेला पारेपछि छोरीले निकै रुचाउने बिस्कुट कतै सडेको त थिएन भन्ने चिन्ता नानी गजुरेललाई परेको छ । ती सबै उत्पादन नयाँ मिति राखेर बजार पठाएको पाइएको छ ।

‘स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स बच्चाहरुले निकै रुचाउँछन् । म त सुत्केरी भेट्न जाँदा पनि हर्लिक्स र साना बच्चाका लागि बर्नभिटा लिएर जान्छु, यस्तो कुरामा पनि अपराध गर्ने मान्छे हुँदा रहेछन् ?’ गजुरेलले भनिन् ।

आम उपभोक्ताले उत्पादन र उपभोग्य मिति हेरेर विश्वास गर्ने चल्तीको खाद्य, पौष्टिक र सौन्दर्य सामग्रीमा ठूलो बदमासी भइरहेको बिहीबारको घटनाले देखाएको छ ।

यो पनि पढ्नुहोस म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड

महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वरका प्रवक्ता रहेका एसपी ईश्वर कार्की बिहीबारको अपरेशनमा पौष्टिक तत्वको रुपमा बिरामीले खानेदेखि बालबालिकाले मनपराउने जंकफुडसम्म म्याद सकिएको पाइएको बताउँछन् ।

म्याद सकिएका चकलेट, खाद्य वस्तु र कस्मेटिक्स सामानका बास्तविक उत्पादन र म्याद गुज्रिसकेको उपभोग्य मिति केमिकलले मेटेर मेशिनले नयाँ मिति लेख्ने गरेको पाइएको उनले बताए ।

‘तीनवटा घरका सबै कोठा र बाथरुममा नयाँ म्याद टाँस्न राखिएको म्याद गुज्रिएका वस्तुहरु भेटिए’, एसपी कार्कीले भने, ‘अनुसन्धान जारी छ, थप कुरा खुल्दै जानेछ ।’

उपभोक्ताको स्वास्थ्यमा खेलवाड

बिहीबार रंगेहात कलंकीबाट पक्राउ परेका रोनक बोथ्राले यस्तो काम दुई वर्षदेखि गरेको बयान दिएका छन् ।

महाशाखाका प्रवक्ता एसपी कार्की नाम चलेका सबैजसो कम्पनीका म्याद सकिएका उत्पादन बजारमा पाइएकाले उपभोक्ता सचेत हुनुपर्ने बताउँछन् । महँगै भए पनि उपभोक्ताबीच लोकप्रिय तयारी खाद्य पदार्थदेखि लक्स साबुन, डोभ स्याम्पु, भ्यासलिन, लाइफबोई साबुन, क्लोज अप र पेप्सोडेन्ट मन्जन, एक्स पर्फ्युम लगायत समेत म्याद सकिएको पाइएको छ ।

उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना वितरकहरुले वस्तुको लोकप्रियता दुरुपयोग गरेर आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको बताउँछन् । ‘सडेको कति वस्तु बजारमा गए, उपभोक्तालाई कति असर ग¥यो, यसमा गम्भिर अनुसन्धान गरेर दोषीलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।

संलग्न फर्म र व्यक्तिहरु

पुष्पादेवी अग्रवाल र रोनक बोथ्रा

वाणिज्य विभागका अनुसार, म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दामा पुष्पादेवी अग्रवालको नाममा रहेको आयन इन्टरनेशनल संलग्न रहेको पाइएको छ । बिभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, पुष्पादेवीका दुई छोराले सम्हालेको यही कम्पनीका कर्मचारी हुन्, भारतीय नागरिक रोनक बोथ्रा ।

युनिलिभरको आधिकारीक वितरक पनि हो, आयन इन्टरनेशनल । नयाँ लेभल राखेर बजारमा पठाउन ठिक्क पारिएको तीन गाडी सामान, चालक र बोथ्रासमेत गरी कम्पनीका ८ जनालाई हिरासतमा लिएर अनुसन्धान भइहेको विभागले जनाएको छ ।

त्यस्तै, विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटरबाट वितरण हुने स्नेकर्स चकलेट लगायतका वस्तुमा नयाँ मिति टाँसिएको पाइएको विभागले जनाएको छ । बिभागका अनुसार, विशालले आफ्नो उत्पादन नयाँजस्तो बनाउन आयनलाई अड्डा बनाएको आशंकामा अध्ययन भइरहेको छ ।

‘कमजोर मुद्दा लगाएर सफाइ नदेऊ’

बिरामी बच्चादेखि वृद्धसम्मले दैनिक खाने वस्तुका म्याद सकिएपछि पनि नयाँ लेभल राखेको घटना आफैंमा गंभिर भएको उपभेक्ता अधिकारकर्मीहरु बताउँछन् । यस्ता सामाग्री बजारमा अझै हुनसक्ने उनीहरुको अनुमान छ ।

‘दुई वर्षदेखि म्याद नाघेको वस्तु बिक्री भइरहनु महाअपराध हो’, अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘सरकारले सबै उत्पादनलाई छानबिनको दायरामा ल्याओस् ।’

मिति फेरेर सडाउ बस्तु बजारमा छर्ने धन्दामा संलग्नहरुलाई उपभोक्ता संरक्षण ऐन भन्दा पनि कालोबजार तथा केही सामाजिक अपराध ऐन, ठगी वा खाद्य ऐनअन्तर्गत कारबाही चलाउनुपर्ने उनको माग छ ।

अर्का अधिकारकर्मी माधव तिमिल्सिना यो मुद्दा जिल्ला प्रशासन र प्रहरीले वाणिज्य विभागलाई बुझाउनु गलत भएको बताउँछन् । ‘यस्तो अपराधमा सानो कारबाही हुने ऐनमा टेकेर अघि बढ्नु हुन्न,’ उनले भने, ‘कमजोर मुद्दा लगाएर सफाइ नदिइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment