Comments Add Comment

ट्रम्पका सहयोगी क–कसलाई देखियो कोरोना ?

१८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिले अस्पतालमा उपचारत छन् । ट्रम्पसँगै उनको निकट रहेका अन्य धेरै मानिसहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म कोरोना संक्रमित हुने उनका निकटस्थहरु यसप्रकार छन् –

– मेलानिया ट्रम्प

अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफ्ना पतिसँगै पछिल्लो समय निर्वाचनको प्रचारको क्रममा रहेकी उनलाई पनि गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

– क्रिस क्रिस्टि

अमेरिकाको न्यु जर्सी राज्यका पूर्व गभर्नर तथा ट्रम्पको निर्वाचन प्रचार अभियानका सल्लाहकार क्रिस क्रिस्टिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले गत मंगलबार भएको राष्ट्रपतिका दुई उम्मेदवारबीचको पहिलो प्रत्यक्ष बहसको तयारीका लागि ट्रम्पलाई सहयोग गरेका थिए ।

– होप हिक्स

राष्ट्रपति ट्रम्पकी सल्लाहकार तथा ह्वाइट हाउस कम्युनिकेसन्सकी पूर्व निर्देशक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी सबैभन्दा पहिला कोरोनाको लक्षण देखिने व्यक्ति हुन् । गत बिहीबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प र मेलानियाको परीक्षण गराइएको थियो ।

– बिल स्टेफिन

ट्रम्पका निर्वाचन चुनावी अभिानका व्यवस्थापक बिल स्टेफिनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सामान्य फ्लुको लक्षण देखिएको छ ।

– केल्यान कोनवे

ह्वाइट हाउसकी पूर्व काउन्सलर केल्यान कोनवेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले गत अगष्टमा आफ्नो काम छाडेकी थिइन् । तर, सेप्टेम्बर २६ मा भएको रोज गार्डेनको कार्यक्रममा भने सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा सयभन्दा धेरै मानिसहरु सहभागी भएका थिए भने उनीहरुले मास्क लगाउने र भौतिक दुरीको नियम पालना गरेका थिएनन् । जसमध्येकी एक कोनवे पनि हुन् ।

– माइक ली

रिपब्लिकन पार्टीका सिनेटर माइक ली पनि सेप्टेम्बर २६ म भएको रोज गार्डेन कार्यक्रममा सहभागी भएका थिए । सर्वोच्च अदालतका लागि न्यायाधीश मनोनयनका लागि उक्त कार्यक्रम राखिएको थियो । माइक लीलाई पनि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

– थोम टिलिस

नर्थ क्यारिलोनाबाट रिपब्लिकनको तर्फबाट सिनेटर बनेका थोम टिलिसलाई पनि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी पनि रोज गार्डेन कार्यक्रममा सहभागी थिए ।

– रोना म्याकडेनियल

अमेरिकाको रिपब्लिक नेशनल कमिटीकी अध्यक्ष रोना म्याकडेनियललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

– जोन जेन्किन्स

नोट्रे डाम युनिभर्सिटीका अध्यक्ष जोन जेन्किन्सले पनि शुक्रबार आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनी पनि अघिल्लो शनिबार भएको न्यायाधीश मनोनयनको कार्यक्रममा सहभागी थिए ।

संक्रमणबाट बच्न मास्क लगाउने नियम पालना नगरेको र भौतिक दूरीको पनि पालना नगराइएको कारण रोज गार्डेन इभेन्टबाट धेरैलाई संक्रमण फैलिएको पाइएको छ ।

बीबीसी, स्काइन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment