Comments Add Comment

स्थानीय वासिन्दाद्वारा पशुपति क्षेत्रमा आन्दोलन घोषणा

१८ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजना र विना प्रतिस्पर्धा नयाँ कर्मचारी भर्ना गरेको विरोधमा पशुपति क्षेत्र वरपरका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले असोज १८ देखि २१ गतेसम्मका कार्यक्रमसहित आन्दोलन घोषणा गरेका छन् । त्यसपछि फेरि थप कार्यक्रम घोषणा गर्ने पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले जानकारी दिए ।

समितिले जारी गरेको विरोध कार्यक्रम अनुसार आइतबार साँझ ७ बजेदेखि आधा घण्टासम्म पशुपति क्षेत्रभित्र बत्ती निभाउने कार्यक्रम छ । सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्लेकार्डसहित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्ना बस्ने र बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म कोषको कार्यालय घेराउन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

विरोधका कार्यक्रममा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरिने संयोजक संगतले जानकारी दिए । संघर्ष समितिले पछिल्लो केही महिनादेखि पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

समितिले कोषले प्रस्ताव गरेको गुरुयोजना खारेज गर्नुपर्ने, स्थानीयसँग छलफल नगरी एकलौटी गुरुयोजना बनाउने कोषका सदस्यसचिव लगायत पदाधिकारीको राजीनामा र कोषको अहिलेको संरचना सबै खारेज गरेर स्थानीयको नेतृत्वमा नयाँ संरचना बनाउन पनि माग गरेको छ ।

त्यस्तै, कोषले विना प्रतिस्पर्धा कर्मचारी भर्ना गरेर भर्ती केन्द्रको रूपमा कोषको दुरुपयोग गर्न लागेकोले पनि विरोधमा उत्रिनु परेको जानकारी दिए । कोषले अहिले ५ जना कर्मचारीलाई विना प्रतिस्पर्धामा नियुक्ति दिएको छ ।

त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिको विवाद समाधानको लागि भनेर पुरातत्व विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरेका थिए ।

समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । तर सो समितिले संघर्ष समितिसँग दुई पटक भेट गरेको र त्यो भेटमा आफूहरूले स्पष्टसँग आफ्नो मागबारे बताएको संगतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment