Comments Add Comment

बिरामीलाई भेट्न जाँदै हुनुहुन्छ ?

चिकित्सक भएको नाताले अस्पतालका परिवेश, त्यहँका कतिपय घटनाले मन बेचैन बनाउँछ । यो घटना अलि पुरानो हो । एक जना अवकासप्राप्त कर्मचारी क्यान्सर रोगले पीडित थिए । हुन त उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको थियो । तर, स्थानिय भएको तथा रोगले आकस्मिक रुपमा दुःख दिएपछि उनलाई मेची अञ्चल अस्पतालमा ल्याइयो । उनलाई कोखी र दमले च्यापेको थियो ।

एक त स्थानिय व्यक्ति, क्यान्सरका रोगी अनि अवकासप्राप्त कर्मचारी । छिमेकी, चिनेजानेकाहरु भेट्न आउथे । यो हाम्रो परम्परा जस्तै छ । आफन्त कोही बिरामी भएमा भेट्न जाने, सान्तवना दिने, सरसहयोग गर्ने ।

तर, यसरी भेट्न आउने मान्छेहरुको कारण अस्पतालमा भिड लाग्ने । अरु बिरामीलाई समेत असहज हुने नै भयो । चिकित्सक र नर्सले परीक्षण गर्ने बखत पनि उनको बेडमा मान्छेका भिड हुने । एउटा सानो क्याविनमा १०–१५ जना स्वस्थ मान्छे बस्यो भने त गुम्सिएको जस्तो हुन्छ । दमको बिरामी, त्यसमाथि क्यान्सरका उपचार गराइरहेका व्यक्तिलाई कस्तो हुँदो हो ।

त्यसमाथि भेट्न आउने मान्छेसँग यसो बोल्नै पर्ने । आफ्नो स्थितिबारे बताउनैपर्ने । सबैले उही प्रश्न सोध्छन् । एउटै प्रश्नको उत्तर सबैलाई दिनैपर्ने । ‘अहिले ठिक छ’ भन्नैपर्ने । आफ्ना सहकर्मीसँग कार्यलयको कुरा, गाउँका दौतरीसँग गाउँघरको कुरा, कसैसँग राजनीतिका कुरा, कसैसँग रोगको कुरा । आरम गर्ने कहिले ? ति बिरामीले भन्न त केही भनेनन् तर उनको मनोदसा कस्तो भयो होला भनेर हामी अनुमान गर्न सक्छौं ।

डा. बालकृष्ण साह

बिरामीलाई भेट्न जानु नराम्रो होइन । कतिपयलाई सान्तवना दिन, कतिलाई सहयोग गर्न पनि भेटघाट गरिन्छ । त्यस्तै उपचारमा के कसो हुँदैछ भनेर जानकारी लिन पनि भेट्नै पर्छ । तर, केवल ‘मन राख्न’कै लागि मात्र बिरामी भेट्ने, अनावश्यक प्रश्नहरु सोध्ने, लामो समय कुराकानी गर्ने प्रवृत्ति राम्रो होइन । यो कुरा बिरामी वा उनका आफन्त (कुरुवा)ले त भन्दैनन् । भन्न मिल्दैन पनि । तर, बिरामीलाई भेट्न जानेहरुको कारण उनीहरुलाई दिक्क लाग्न सक्छ । बिरामीले विश्राम गर्न पाउँदैनन् । अस्पतालमा अनावश्यक भिड हुन्छ । यसले अरु बिरामीलाई पनि समस्या हुनसक्छ ।

यदि बिरामी सामान्य अवस्थामा छन् वा उपचारको धपेडी छैन भने सुरक्षित हिसाबले भेट्ने, भलाकुसारी गर्ने प्रवृत्ति ठिकै हो । बिरामीको मन बहलाउन वा आत्मबल बढाउन पनि कतिपय भेटघट अर्थपूर्ण हुनसक्छ ।

हाम्रो समाजमा अर्को नराम्रो प्रवृत्ति पनि देखिन्छ । समाजमा कोही धनीमानी वा गन्यमान्ने व्यक्ति बिरामी भएमा, नेता, व्यापारी आदि अस्पताल भर्ना भएमा भेट्नेहरु वा स्वास्थ्य लाभको कामना गर्न आउनेहरुको ताँती लाग्छ । मान्छेको मानसिकता के हुन्छ भने साह्रो गाह्रो परेको बेला सम्झनुपर्छ वा भेट्नुपर्छ । तर, त्यो भन्दा पनि यस्तो अवस्थामा नभेट्दा आफुलाई नराम्रो ठान्ने हो कि भन्ने डरले मान्छेहरु भेट्न आउँछन् । असाहय, गरिब, निमुखालाई अस्पतालमा भेट्न आउनेहरु कतिपनि हुँदैनन् । उनीहरुको त कुरुवा बसिदिने साथी समेत हुँदैनन् । तर, धनीमानी, गन्यमान्य, नेता, व्यापारीहरुको कुरुवा बस्ने मान्छे नै हुलका हुल हुन्छन् । त्यसमाथि उनीहरुलाई क्षण–क्षणमा भेट्न आउने शुभेच्छुकहरुको उत्तिकै भिड हुन्छ । झट्ट सुन्दा त तितो लाग्न सक्छ, तर यसरी अस्पतालमा भेट्न आउनेहरु स्वास्थ्य लाभको शुभेच्छाले भन्दा पनि आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आउँछन् जस्तो लाग्छ ।

बिरामीलाई भेट्नु, शुभेच्छा प्रकट गर्नु, स्वास्थ्य लाभको कामना गर्नु, आत्मबल बढाइदिनु नकारात्मक होइन । तर, यसरी अस्पतालमा भिड लाग्दा अरु बिरामीको उपचार प्रभावित हुन्छ । अस्पतालका कर्मचारीहरुलाई आफ्नो काम गर्न बाधा हुन्छ । अस्पताल जस्तो ठाउँमा भिडभाडको कारण संक्रमित रोगहरु फैलने भय हुन्छ ।

अस्पतालमा आवश्यक हेरचाह चिकित्सक, नर्सहरुले गरिरहेकै हुन्छन् । उनीहरुको जिम्मेवारी त्यही नै हो । त्यसबाहेक बिरामीलाई हेरचाह गर्नका लागि एक जना कुरुवा बस्ने व्यवस्था हुन्छ । त्यसैले बिरामीको मन राखिदिने बाहनामा धेरैजना आउने, भिडभाड गर्ने प्रवृत्ति त्यती उचित हुँदैन । त्यो पनि अहिले जस्तो संक्रमणको बेला त यसले सबैलाई जोखिममा पर्न सक्छ । शुभेच्छा दिनका लागि अहिले भर्चुअल माध्याम छँदैछ ।

कुरुवाको कुरा

लामो समय सम्म भर्ना गरिएको अवस्थामा बिरामीको कुरुवाले पालो फेर्नु पर्छ । लामो समय सम्म बिमारीको लागि ओहर–दोहर गर्दा करुवा थकित हुने तथा आफै बिमारी पर्न सक्छ । त्यसैले सकिन्छ भने पालो फेरेको राम्रो हो । तर पालो फेर्दा नयाँ बन्ने कुरुवालाई बिमारीको अवस्था, उनलाई दिएको निर्देशनहरु तथा गर्नु पर्ने र गर्न बाँकी कामहरु बारे पूर्णं जानकारी दिनु पर्छ ।

एकै जना कुरुवा छ भने आफ्नो सुत्ने तथा आराम गर्ने समय निकाल्नु पर्छ । बिरामीका चाहना, आवश्यक्ताहरु र हेरचाह हरेक समयमा चाहिने हुन्छ । तर कुनै पनि अस्पतालमा बिरामीसँग चौबिसै घण्टा डाक्टर वा नर्स रहन सक्दैन, न त हरेक बिमारीसंग एक जना डाक्टर वा नर्स नै राख्न सक्छन् । कुरुवा बिरामीसँग चौबिसै घण्टा हुने र हरेक बिरामीको आफ्नै कुरुवा रहने भएकोले, यसले बिरामीको हेरचारमा प्रमुख भुमिका निभाउने हुन्छ ।

जबकी अनावश्यक रुपमा धेरै जना कुरुवा बसिदिदा बिरामीलाई आराम नपुग्ने, एक अर्काको भरमा बिरामीको स्यहार राम्रो नहुने हुन सक्छ । धेरै कुरुवाले आफुसंग अन्य बिभिन्न रोगका जिवाणुहरु पनि ल्याउने गरेको हुन सक्छ, जसले गर्दा कमजोर अवस्थामा रहेको बिमारीलाई अन्य संक्रमण पनि गराउन सक्छ । धेरै जना कुरुवाहरु भएको अवस्थामा डाक्टर तथा नर्सहरुलाई पनि काम गर्न अप्ठयारो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment