Comments Add Comment

कांग्रेसका १० नेताले भने – प्रदेश ५ को राजधानी भालुवाङ नै ठीक

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका ८ केन्द्रीय सदस्यसहित १० नेताले प्रदेश ५ को राजधानी दाङको भालुवाङमै उपयुक्त हुने भन्दै प्रदेश ५ को प्रदेशसभामा पेश भएको प्रस्तावलाई समर्थन गरेका छन् ।

केन्द्रीय सदस्यहरु दीपक गिरी, किशोरसिंह राठौर, पार्वता डीसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, बर्दिया जिल्ला सभापति सञ्जय गौतम र रोल्पा जिल्ला सभापति अमर सिंह पुनले विज्ञप्ति जारी गर्दै प्रदेश ५ को राजधानी दाङमै उपयुक्त रहेको दावी गरेका छन् ।

सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार प्रदेश ५ का सबै नागरिकलाई पायक पर्ने र सामरिक दृष्टिले पनि उपयुक्त भएकाले भालुवाङ राजधानी बनाउन आफूहरुको समर्थन रहेको उनीहरुले बताएका छन् ।

‘यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य कहिँ कतैबाट गर्न गराउन नहुने राष्ट्रिय परिस्थिति रहेको छ’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले प्रदेश राजधानीको विषय प्रंदेशसभाले विवादरहित ढंगले यथाशीघ्र टुंग्याउने अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा सोमबार प्रदेशसभामा कांग्रेस सांसदहरुले तोडफोड गरेकै दिन दाङ, बर्दिया, रोल्पालगायतका जिल्लाका नेताहरुले यस्तो विज्ञप्ति निकालेका हुन् ।

कुर्सी तोडफोड गर्नु दुःखद : चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले अनलाइनखबरसँग भने, ‘अस्थायी राजधानी बुटवल तोकिए पनि अन्तमा संघीयताको मर्म र भावना अनुसार प्रस्ताव गरिएको दाङको भालुबाङ नै स्थायी राजधानीको रुपमा सर्वसम्मत रुपले अनुमोदन हुन्छ भन्ने मलाई विश्वास छ । त्यस प्रदेशभित्रका कांग्रेसका सबै सांसदहरुले पनि केही असहमतिका बाबजुद भालुवाङकै पक्षमा मतदान गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

दाङ राजधानी प्रस्ताव गरिएको विरोधमा कांग्रेसका सांसदहरुले प्रदेशसभा बैठकमा कुर्सी तोडफोड गर्नु दुःखद भएको चौधरीले बताए । उनले भने, ‘हामी लोकतन्त्रका पक्षरहरुले सधैं बहुमतको कदर गर्नुपर्छ । प्रदेशसभामा मतदान हुन बाँकी नै रहेको विषयमा आज भएको प्रस्तुतिले हामी कतै लोकतन्त्रबाट विचलित त भएका छैनौं भन्ने प्रश्न उठेको छ । यो दुःखद हो ।’

सरकारी विज्ञ टोलीले स्थलगत अनुगमन गर्दा पनि दाङ प्रदेश राजधानीका लागि उपयुक्त ठहर गरेको स्मरण गर्दै उनले प्रदेश सभामा पेश भएको प्रस्तावलाई सबैले समर्थन गर्नुपर्ने बताए । ‘आवेग वा कसैको उक्साहटमा लागेर अराजक बन्नु हुँदैन,’ उनले भने ।

दाङ प्रशासनिक राजधानी भए बुटवल आर्थिक राजधानी बन्ने चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment