Comments Add Comment

अनलाइन कक्षाले आँखामा पार्न सक्ने प्रभाव

कोभिड महामारीका कारण उत्पन्न विषय परिस्थितिमा शिक्षा मन्त्रालयले समेत अनलाइन कक्षालाई वैधानिकता प्रदान गरिसकेको छ । विद्यार्थीको लागि अनलाइन कक्षा र अन्य पेसामा संलग्न व्यक्ति समेत घरबाटै काम गर्ने नाममा डिजिटल उपकरणसँग प्रत्यक्ष जोडिने गरेका छन् ।

विशेषगरी विद्यार्थीको विषयमा कुराकानी गर्दा हरेक दिन ६ घण्टाको अनलाइन कक्षा, ३ घण्टाको गृहकार्य र बाँकी समयमा टेलिभिजन वा मोबाइलको प्रयोगलाई समेत आधार मान्दा विद्यार्थीले दैनिक १० घण्टा डिजिटल उपकरणसँगै बिताउने गर्छन् ।

यसरी लामो समय उपकरणको साथमा बस्दा उनीहरूमा आँखा पोल्ने, बिझाउने र हेर्न कठिन हुने जस्ता समस्या देखिन सक्छ । त्यस्तै, आँखा सुख्खा हुने र आँखा भारी हुने समस्या पनि देख्न सकिन्छ । लामो समय यस्तो डिभाइसको अघि बस्दा निद्रामा गडबढी हुन सक्छ ।

अर्काेतर्फ यस्ता विकिरणबाट बच्नको लागि भनेर बजारमा धेरै चस्मा पनि पाइन्छ । तर ती चस्माको उपयोगिताबारे अझै धेरै अनुत्तरित छन् ।

दृष्टि विज्ञान अनुसार २० सेन्टिमिटरभन्दा नजिक राखेर कुनै पनि डिजिटल उपकरणलाई ६ घण्टाभन्दा बढी ३ देखि १२ वर्ष उमेरका बालबालिकाले प्रयोग गरे भने उनीहरूमा आँखाको दीर्घकालीन असर अदूरदृष्टि दोष हुने सम्भावना हुन्छ ।

विश्व स्वास्थ्य संगठनले २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदूर दृष्टिदोष हुन्छ भनेर प्रक्षेपण गरेका छन् । तर यसरी यही गतिमा हामीले धेरै डिजिटल प्रविधिको प्रयोग ग¥यौं भने यो प्रक्षेपण २०५० भन्दा पहिले नै पूरा हुन सक्छ ।

यसको अर्थ के अनलाइन कक्षा नै सञ्चालन नगर्ने हो त ? पक्कै पनि होइन । यसका लागि अनलाइन कक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनले ५ वर्षमुनिका बच्चालाई एक घण्टामात्र मोबाइल जस्ता डिजिटल उपकरणमार्फत पढाउन सकिने जनाएको छ । त्यस्तै, ५ वर्षमाथिका बालबालिकालाई केही समयको विश्रामसहित दुईदेखि ३ घण्टासम्म डिजिटल प्रविधिको अघि राख्न सकिने जनाएको छ । यसै विषयमा नेपाल दृष्टि विशेषज्ञ संघले केही सुझावहरु तयार पारेको छ । जुन निम्नानुसार छ ।

१. एक कक्षाभन्दा मुनिका विद्यार्थीका लागि ३० मिनेटभन्दा कम समयको कक्षा सञ्चालन गर्ने,

२. एकदेखि ८ कक्षासम्मका विद्यार्थीको हकमा ४५ मिनेटको दरमा बीचमा विश्राम सहित डेढ घण्टासम्मको कक्षा सञ्चालन गर्ने ।

३. नौदेखि १२ कक्षासम्मका विद्यार्थीलाई ४५ मिनेटको दरमा विश्राम सहित ४ वटासम्म कक्षा सञ्चालन गर्ने ।

४. १२ कक्षाभन्दा माथिका विद्यार्थीलाई ४५ मिनेटको दरमा ४ घण्टासम्मको कक्षा सञ्चालन गर्न सक्ने ।

५. ४५ मिनेटको कक्षामा २० मिनेटको खण्डखण्ड गरी बीचमा ५ मिनेट आराम गर्न समय दिने ।

६. त्यो ५ मिनेट आरामको समयमा ५ देखि १० पटक आँखा झिम्क्याउने, टाढाटाढा हेर्ने, प्राकृतिक दृश्यको अवलोकन गर्ने आदि गर्नुपर्छ ।

७. अनलाइन कक्षामा बस्दा हावा छिर्ने र बाहिरको प्राकृतिक प्रकाशयुक्त कोठामा बस्ने ।

८. डिजिटल उपकरणको प्रयोग गर्दा १८ इन्चभन्दा टाढा राख्ने र कम्युटर स्क्रिनलाई २० डिग्रीसम्म तल राखेर बस्ने ।

९. यसरी अनलाइनकक्षामा ढाड सिधा हुने गरी बस्ने ।

१०. अनलाइन कक्षामा स्क्रिनमा हेर्दा आँखामा बाह्य किरण नपर्ने गरी बस्ने ।

१०. एक दिनमा दुईदेखि तीन लिटरसम्म पानी पिउने

११. हरेक २० मिनेटमा २० सेकेण्डको लागि विश्राम लिने

१२. निरन्तर २ घण्टासम्म स्क्रिनमा हेरेपछि १५ मिनेटको लागि विश्राम लिने ।

दृष्टि विशेषज्ञ साहले स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनको क्रममा दिएको मन्तव्यको सम्पादित अंश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment