
२१ असोज, काठमाडौं । रमेशनाथ पाण्डेद्वारा लिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आएको छ ।
पुस्तकमा ऐतिहासिक दस्तावेजसहित बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीसमेत समावेश गरिएको छ ।
पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक–सामरिक कारण तथा आउन सक्ने परिणाम यस पुस्तकमा समावेश गरेका छन् ।
पाण्डे भन्छन्, ‘२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैं संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर हुने आशा गरेको छु ।’
पूर्वपरराष्ट्रमन्त्री पाण्डेको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ निकै चर्चित रहेको थियो । उक्त पुस्तकको छैटौं संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ संगै बजारमा उपलब्ध रहेको सांग्रिला बुक्सका मणि शर्माले बताए । ५ सय ५६ पृष्ठको पुस्तकको मूल्य ७ सय ९५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4