Comments Add Comment

प्रदेश २ को प्रहरी अस्पतालमा सर्वसाधारणको उपचार

२१ असोज, सप्तरी । सप्तरीको साविक रायपुर गाविस (हाल रुपनी गाउँपालिका) मा निर्माण भएको पूर्व क्षेत्रीय प्रहरी अस्पताल अहिले प्रदेश २ को प्रहरी अस्पताल बनेको छ । प्रदेश २ को एक मात्र प्रहरी अस्पताल यही नै हो ।

राजविराज–४ निवासी दाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए । उद्घाटन भएपनि लामो समयसम्म गुमनाम रहेको यो अस्पताल अहिले आफ्नो कामलाई अगाडि बढाएको छ ।

अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचार समेत यो अस्पतालले गर्न थालेको छ । ‘प्रत्येक दिन १२ देखि १५ जनासम्म सर्वसाधारण उपचारका लागि आउन थालेका छन्,’ अस्पतालका प्रमुख डीएसपी डा. सुरेन्द्र साहले भने, ‘सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएका छौं ।’

अस्पतालमा एकजना जेनरल फिजिसियन, एकजना विशेषज्ञ, २ जना स्टाफ नर्स, २ जना हेल्थ असिस्टेन्ट र ५ जना अहेब कार्यरत छन् । अस्पतालमा १० जना सुरक्षाकर्मीले ड्युटी गर्दै आएका छन् । यसबाहेक २ जना दन्त विभागका टेक्निसियन पनि छन् ।

अस्पतालमा ४ वटा बेड आकस्मिक र २ वटा बेड प्रसुति गराउनका लागि राखिएको छ । अन्य १९ वटा बेड जेनरलका लागि छुट्टयाइएको छ ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जेनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जेनरलमा नाक, कान, घाँटी, छाती, पेट सम्बन्धी रोगको उपचार भइरहेको अस्पताल प्रमुख डा. साहले बताए ।

मधुमेह तथा बाथ रोग विशेषज्ञ साह आफैं हुन् । काठमाडौं उपत्यकाबाहिर बाथ रोगमा डिप्लोमा गर्ने उनी एक्ला चिकित्सक हुन् ।

अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको उनले बताए । डेन्टल विभाग छुट्टै रहेको उनले बताए । रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ । ‘दाँत उखाल्ने, सफा गर्ने ठूलो मेसिन यहाँ छ’ उनले भने । ‘दन्त चिकित्सकको दरबन्दी भइसकेको छ,’ डा. साहले भने, ‘केही दिनभित्रै चिकित्सक आउनुहुनेछ ।’

अस्पतालमा घाउ सफा गर्नेदेखि लिएर सानो शल्यक्रिया समेत गरिदैं आएको डा. साहले बताए ।

सर्वसाधारणका लागि सबै उपचार निःशुल्क

यो अस्पतालमा प्रहरीको उपचार गर्ने लक्ष्य राखिएपनि अहिले सर्वसाधारण समेतको उपचार गर्न थालिएको छ । सर्वसाधारणको उपचार पनि निःशुल्क भइरहेको छ ।

‘उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनुपर्छ नत ल्याब जाँचकै शुल्क तिर्नुपर्छ’ अस्पताल प्रमुख डा. साहले भने, “एक्सरे पनि निःशुल्क नै गर्दै आएका छौं ।”

यसबाहेक अस्पतालमा उपलब्ध औषधि पनि निःशुल्क नै दिदैं आएको उनले बताए । ‘अहिलेसम्म माथिबाट सर्वसाधारणको पनि निःशुल्क उपचार गर्ने आदेश छ’ उनले भने ।

केही दिनमै ट्रमा सेन्टर

अस्पताल प्रमुख डा. साहले केही दिनभित्रै अस्पतालमा ट्रमा सेन्टर सञ्चालन हुने बताए । यसका निम्ति सम्पूर्ण प्रकृया अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

‘राजमार्ग नजिकै अस्पताल रहेको र दुर्घटनालाई मध्यनजर गर्दै हामीले यहाँ ट्रमा सेन्टर बनाउन लागि परेका छौं,’ उनले भने, ‘यसबारे हेडक्वार्टरको टोलीले निरीक्षण गरेर गइसकेको छ ।’

निरीक्षण गर्न आएको टोलीले ट्रमा सेन्टर सम्बन्धी प्रतिवेदन बुझाइसकेको बताउँदै उनले अब बैठक बस्ने वित्तिकै यो अस्पतालमा ट्रमा सेन्टर बनाउनेबारे निर्णय हुने बताए ।

क्लिनिक चलाउनु छैन, अस्पताललाई राम्रो बनाउनुछ

अस्पताल प्रमुख डा. साह अस्पतालको सेवा राम्रो बनाउनका निम्ति काम भइरहेको बताउँछन् । यसका निम्ति सरोकारवालासँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ । ‘यस सम्बन्धमा नेपाल प्रहरीका मेडिकल निर्देशक एआईजीपी डा. आशा सिंहसँग निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छौं’ उनले भने ।

डा. सुरेन्द्र साह

अस्पतालको सेवा राम्रो र गुणस्तरीय बनाउनका लागि वर्कशपहरु भइरहेको भन्दै डा. साहले भविष्यमा राम्रो बन्ने विश्वास व्यक्त गरे ।

निर्देशक सिंहले अस्पतालको सेवा प्रभावकारी बनाउन आफूलाई यहाँ पठाएको उनले बताए । उनी स्वयम् प्रदेश २ स्थित वीरगञ्जका बासिन्दा हुन् ।

‘पूर्णतः निस्वार्थ भावनाले काम गर्छु । बाहिर क्लिनिक चलाउँदिनँ,’ उनले भने, “अरु सबैले सहयोग गरेपछि अस्पताल राम्रै हुन्छ ।”

अस्पतालको सेवालाई अझ राम्रो बनाउन प्रदेश सरकारबाट पनि बजेट मागिएको बताउँदै उनले यसमा मुख्यमन्त्री पनि सकारात्मक देखिएको बताए ।

प्रदेशमा प्रहरी अस्पताल थपिँदै

प्रदेश २ मा नेपाल प्रहरीको अर्काे अस्पताल पनि निर्माण हुने भएको छ । सप्तरीमा रहेको यो अस्पतालबाहेक धनुषाको लालगढमा पनि अस्पताल निर्माण हुने प्रमुख डा. साहले जानकारी दिए ।

उनका अनुसार लालगढमा प्रहरी अस्पतालका लागि २ बिघा जग्गा फेला परिसकेको छ । ‘यो जग्गामा अस्पताल निर्माणका लागि हेडक्वार्टरसँग डीआईजी सरले ४ करोड बजेट माग गर्दै पत्र पठाउनुभएको छ’ डा. साहले भने । बजेट आउने वित्तिकै लालगढमा पनि प्रहरी अस्पतालको निर्माण कार्य सुरु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment