Comments Add Comment

दुर्गम कोल्टी बाजुराबाट मेरो समर्थन डा.केसीलाई !

चिकित्सा शिक्षा सुधारको माग राख्दै भदौ-२९ गतेबाट जुम्लामा १९ औं अनसन सुरु गरेका डा केसीको आज १९ दिन पुगिसकेको छ । तर, सरकारले उनको कुरा सुन्नु त परै जाओस् वार्ता टोलीसमेत गठन गरेको छैन । सरकार बहिरोजस्तै भएर डा. केसीका माग नसुन्ने पक्षमा रहेजस्तो देखिन्छ ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरु गर्नुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने भन्दै माग राखेका छन् ।

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने, आईओएममा वरिष्ठता मिचेर भएका राजनीतिक नियुक्तिहरू सच्याउनुपर्ने लगायत ६ बुँदे माग डा. केसीले यसपटकको अनसनमा अगाडि सारेका छन् ।

अनसन बस्नुभन्दा अगाडि निरन्तर डा. गोविन्द केसीले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरूमा पुगेर बिरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका थिए । उनले हुम्लाबाट बाजुरा, कालीकोट हुँदै जुम्ला पुगेर सेवा दिएका थिए । त्यसपछि जुम्लाबाटै हिँडेर डोल्पा पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि हिँडेरै मुगु पुगेका थिए ।

उनले मुगुको जिल्ला अस्पताल ठिनीमा छायाँनाथ रारा नगरपालिकाबाट आएका विपन्न नागरिकहरूको निःशुल्क अप्रेसन समेत गरिदिएका थिए।वर्षौ वर्षसम्म नेपालगञ्ज झरेर उपचार गर्ने आफ्नो क्षमता नभएकै कारण भाच्चिँएका हातखुट्टा लिएर बसेका धेरै हाडजोर्नी बिरामीहरूलाई डा. केसीले सञ्चो पनि बनाइदिएका थिए ।

उनको उपस्थिति त्यहाँ कार्यरत अन्य चिकित्सक, स्वास्थ्यकर्मी एवं सर्वसाधरणका लागि अति नै मूल्यवान सावित पनि भएको थियो । उनी भगवानजस्तै बनेर यसरी मुगुको आँगनमा पुग्दा कसको मन फुरूङ्ग नभएको होला र ? त्यहाँका स्थानीयहरू लामैलाम लागेर उपचार गर्न आएको खबरले म एउटा साधारण चिकित्सकलाई समेत खुबै उत्साहित बनाएको थियो ।

डा. केसीलाई जीवनको आदर्श मानेर अगाडि बढेका मजस्तै चिकित्सकहरूलाई अनसनकै क्रममा नेपालगञ्जबाट काठमाडौं आइसकेपछि प्रहरीले डा. केसीप्रति गरेको व्यवहारले विक्षिप्त बनाएको थियो । प्रहरी प्रशासन कसरी यस्तो कठोर हुन सक्छ ? जनताको स्वास्थ्यप्रति सधैं चिन्तित एक्लो बृहस्पति डा. केसीलाई अमानवीय व्यवहार गर्नु, प्रहरीको कायरता हो कि वीरता हो ? के ती प्रहरीका आमाबुवा दाजुबहिनी बिरामी पर्दा र गाउँघरमा स्वास्थ्य उपचार नपाउँदा कत्तिको मन दुख्छ तिनको !

माथिको आदेशलाई के जनताको आँसुले छुँदैन ? प्रहरीको पाखुरामा साहनुभूतिको ल्याकत हुँदैन ? गरिब जनताको भग्नावशेषहरूमा रमाउने डा. केसी र पदकको आत्मप्रदर्शनमा मस्त हुने शासकहरूको भिन्नता कसले देख्ने ? कसले पुकार गर्ने यो फुस्रो, धुस्रो डा. केसीको सादा जीवनको ?

डा. केसीप्रतिका हर्कतहरूले न्यायप्रेमी जनताको मुटु काँपेको छ । होश गुमाएको शासकको इशारामा उपि|mने र अनसन बसेर कमजोर भएका केसीलाई अपहरण शैलीमा लछारपछार पारेर प्रहरी प्रशासनले घीनलाग्दो वीरताको ताज पहिरिएको थियो । बहादुरीको लोलुपताले लछप्पै भिजेको प्रहरी सत्ताको हुकुमी शासनबाट मुक्त हुन सकेन जस्तो अनुभूति भएको थियो ।

बाजुरा, मुगु, डोल्पा, हुम्ला, कालिकोटलगायत अरू विकट जिल्लाहरूमा समेत स्वास्थ्य अवस्था नाजुक र बिजोग छन् । नत्र सुधारका लागि सत्याग्राही गोविन्द केसी किन धाउँथे ? पिडौंला कहिले पनि नछोपिने शिशुहरू, नाकमा सिंगान बोकेर हिँडेका बच्चाहरू, दिसामुक्त हुन नसकेका सार्वजनिक स्थलहरू सायद यिनै पर्यावरणमा दृष्टि राख्दा पनि स्वास्थ्यको दरिद्रता देख्न सकिन्छ ।

स्वास्थ्यको प्रतिकूलतालाई धर्म परिवर्तनको अस्त्र बनाएर खेलिएको धमिलो खेलको मुकदर्शक बनेको छ सरकार । साँच्चै काठमाडौंका जनता र विकट जिल्लाका जनताहरूको बाँच्न पाउने अधिकारमा किन भिन्नता छ ? के त्यहाँका जनताहरू नेपाली होइनन् र ? के सबै जनताका छोराछोरीले चिकित्सा शिक्षा हासिल गर्न समान पहुँच छ त ! संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान किन गरिब जनतालाई लागु हुँदैन ! काठमाडौंमा चोकैपिच्छे अस्पताल हुन हुने तर विकट जिल्लाहरूमा भएको एउटा अस्पतालमा समेत डाक्टर, औषधि र उपकरणको अभाव किन ?

के स्वयंसेवी भूमिकामा निवृत्त जीवन बाँचिरहेका डा. केसी यो अहिलेको समाजका लागि अपवाद पात्र हन् ! के उहाँको योगदान कत्ति पनि छैन ? के दुनियाँलाई सच्चाइको बनावट पस्किएर आफ्नै आत्मासँग झुट बोल्न सरकारलाई लाज लाग्दैन ? किन बिझाउँछ सरकारलाई डा.केसी ! त्यसमाथि अहिले कम्युनिष्टको बलियो सरकार छ । के उनका मागहरू कम्युनिस्ट विचारधारा सँग मिल्दैनन् र ? के डा. केसीका आहृवानहरू चुनावी घोषणापत्र भन्दा फरक छन् र । कि समाजवादको यात्रामा डा. केसी अवरोध भएर आउँछन् । मलाईचाहिँ कदापी त्यस्तो लाग्दैन । सरकारले बोक्नुपर्ने मुद्दा त बरू डा. केसीले बोकिरहेका छन् । तैपनि यति घृणा र यति डर किन ? मागहरूलाई पुरा गर्दिएर बरू जसजति आफैं लिएर के यो कम्युनिस्ट सरकारले अनसन नै नबस्ने वातावरण सिर्जना गर्न सक्दैन !

हो यदि यो गर्न सक्दैन र माफियाको जालो उनेर दलाल पूँजीवादीकै घेराभित्र सरकार रमाइराख्न चाहन्छ भने डा. केसीलाई देश निकाला गर्दियोस् अनि सार्वजनिक वक्तव्यमा नै प्रधानमन्त्रीले भनिदिनुपर्यो डा. केसीका मागहरू जनताविरोधी माग हुन् ।

यो जुनीमा म डा. केसीजस्तै जीवन बाँच्न पाउँला-नपाउँला तर सरकारको क्रियाकलाप देखेर मलाई झन् डा. केसीजस्तै बन्ने इच्छा जागेर आउँछ । यो नेपाली माटोमा किरण छर्न मन लाग्छ । स्वस्थ जीवनको सुगन्ध फिँजाउन मन लाग्छ । जब सत्य देखिन्छ तब जीवनमा जादू छाउँछ । विश्वासहरूमा आँट आउँछ । समाजको अन्धताविरूद्ध समावेशी समुन्नत स्वास्थ्यको गहिराइ नाप्न जाँगर चल्छ । वञ्चित गराइएका आशाहरू उजागर गर्न हौसला आउँछ । कतिन्जेल सरकार दमन गर्छ र घामलाई हत्केलाले छेक्ने दुस्साहस गरिरहन्छ त्यो सरकारकै चेतनामा भर पर्छ । तर मजस्ता दुर्गम जिल्लामा सेवा गर्ने चिकित्सकहरू डा. केसीको पक्षमा हमेशा रहन्छन् किनकि हामीले भोगेका हुन्छौं पीडाहरू । आलस्य भावमा काठमाडौंका व्याख्याहरूले मात्र पुग्दैन समावेशी स्वास्थ्यको समुचित पहुँच । त्यसैले पनि सरकारसँग डा. केसीका मागहरू पूरा गर्दै उनका गुनासालाई हल गर्नु बाहेकको विकल्प छैन ।

(लेखक प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, बाजुरामा कार्यरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment