Comments Add Comment

सरकार र डा. केसी पक्षबीच आज वार्ता हुँदै

२२ असोज, काठमाडौं । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै छ । अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी छ ।

डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताए । केसीले अनलाइनखबरसँग भने, ‘हामी तयारी अवस्थामा छौं । सरकारले जति बजे, जहाँ बोलाउँछ, हामी त्यहीँ जान्छौं ।’

सरकारी वार्ता टोलीका संयोजक एवम् शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सार्क मन्त्रीस्तरीय बैठकमा दिउँसो २ बजेदेखि ४ बजेसम्म सहभागी हुने कार्यक्रम रहेकाले त्यसपछि मात्रै वार्ता बस्ने तयारी गरिएको छ ।

डा. केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली घोषणा गरेलगत्तै डा. केसी पक्षले पनि डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनी हाल त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा छन् ।

लामो समयदेखिको अनशनका कारण डा. केसीको स्वास्थ्य गम्भीर हुँदै गएको डा. क्षेत्रीले जानकारी दिए । डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक, स्वास्थ्यकर्मी र नागरिकस्तरबाट दबावमुलक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यो पनि पढ्नुहोस डा. केसी र सरकारबीच यसरी हुन सक्छ सहमति यो पनि पढ्नुहोस असह्य पीडामा पनि शान्त डा. केसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment