Comments Add Comment

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बेड कोरोना संक्रमितले भरिए

अस्पतालले भन्यो : सम्पर्क नगरी बिरामी नल्याउनू

२२ असोज, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना अधिकांश बेड लक्षणसहितका कोरोना संक्रमितले भरिएको भन्दै बिरामी नल्याउन सार्वजनिक सूचना जारी गरेको छ ।

अधिकांश बेड लक्षणसहितका बिरामीहरु भर्ना भइसकेको अवस्था रहेकाले कोभिड संक्रमित बिरामी ल्याउनुपरेमा अस्पतालका कोभिड– १९ कोअर्डिनेटर डा. इन्द्र लिम्बुसँग सम्पर्क गरेर मात्र बिरामी ल्याउन भनिएको छ ।

अस्पतालका निर्देशक प्रा. डा. गौरीशंकर शाहले सूचना जारी गरी समन्वय नगरी आएको अवस्थामा बिरामीले आईसीयू, भेन्टिलेटर तथा बेड पाउने ग्यारेन्टी गर्न नसकिने बताएका छन् ।

सुनसरीको धरानस्थित उक्त अस्पताल कोरोना भाइरस संक्रमितको उपचारमा प्रदेश १ को सुविधासम्पन्न अस्पताल हो । यहाँ प्रदेश १ का अधिकांश जिल्ला र प्रदेश २ का पनि केही जिल्लाका बिरामी उपचारका लागि जाने गरेका छन् ।
प्रतिष्ठानका कोभिड– १९ कोअर्डिनेटर डा. इन्द्र लिम्बुले समन्वय नगरी बिरामी ल्याउने क्रम बढेकाले व्यवस्थापन गर्न समस्या भएको बताए ।

प्रतिष्ठानमा लक्षण नदेखिएका संक्रमित राख्न ८५ बेडको आइसोलेसन छ । त्यस्तै वीपी प्रतिष्ठानकै कोभिड विशेष अस्पतालमा ८० बेडको आइसोलेसन, १० बेडको आईसीयू, १२ बेडको एचडीयू र ५ वटा भेन्टिलेटर रहेको छ ।

अस्पतालबाट निको भई घर फर्किनेको दैनिक संख्या कम भएको र बिरामी थपिने क्रम बढेकाले व्यवस्थापन गर्न गाह्रो भएको डा. लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment