Comments Add Comment

विमस्टेकको शिखर सम्मेलन जनवरीमा गर्ने तयारी

सन् २०१८ अगस्टमा काठमाडौंमा भएको बिमस्टेक शिखर सम्मेलन ।

२३ असोज, काठमाडौं । कोभिड–१९ को संकटका बीच वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को पाँचौ सम्मेलन आगामी वर्षको जनवरीमा गर्ने प्रस्ताव आयोजक मुलुक श्रीलंकाले गरेको छ । छिट्टै नै सम्मेलनको मिति तय गर्न सदस्य राष्ट्रहरुबीच वार्ता भइरहेको छ ।

चौथो सम्मेलनपछि बिमस्टेकको अध्यक्षता लिएको श्रीलंकाले सम्मेलनको तयारी अगाडि बढाएको छ । कोभिड–१९ को महामारी कम भएमा भौतिक रुपमा नै सम्मेलन गर्ने नभए भर्चुअल विधिबाट भए पनि सम्मेलन गर्ने तयारी छ ।

शिखर सम्मेलन अगाडि बिमस्टेक देशका परराष्ट्र मन्त्रीहरुको बैठक गर्ने तयारी समेत अगाडि बढाइएको छ । गत वर्षको सम्मेलनमा यसै महिना सम्मेलन गर्ने समझदारी कायम गरेपनि कोभिड–१९ को महामारीका कारण सम्भव भएन ।

बिमस्टेकको चौथो शिखर सम्मेलन सन् २०१८ को अगष्ट ३०–३१ का काठमाडौँमा भएको थियो । स्थापनाको दुई दशक भइसक्दा पनि यस बीचमा बिमस्टेकका जम्मा ४ वटा मात्र सम्मेलन भएको छ । सन् २०१८ मा नेपालमा भएको सम्मेलनले बिमस्टेकको संस्थागत विकास र अन्य विषयहरुमा महत्वपूर्ण निर्णय लिएको थियो ।

बिमस्टेकले विभिन्न क्षेत्रगत प्राथमिकता अनुसार काम गरिरहेको छ । दीर्घकालीन विकास लक्ष्य अनुसार सन् २०३० भित्र यस क्षेत्रमा गरिबीलाई उन्मुलन गर्ने लक्ष्य विमस्टेकले लिएको छ ।

यस क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बिमस्टेकले बिमस्टेक मोटर सम्झौतालाई अन्तिम रुप दिने काम गरिरहेको छ भने बिमस्टेक कोस्टल सिपिङ सम्झौतामा पनि छलफल भइरहेको छ । त्यसैगरी बिमस्टेक स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रुप दिने काम पनि भइरहेको छ ।

आतंकवादको नियन्त्रण विमस्टेकको अर्काे महत्वपूर्ण कार्यसूची हो, जस अन्तर्गत बिमस्टेक देशका सुरक्षा प्रमुखहरुको बैठक प्रत्येक बर्ष बसिरहेको छ । वातावरण, दिगो विकास र जलवायु परिवर्तनको क्षेत्रमा मिलेर काम गर्नका लागि भिजन डकुमेन्ट र अन्य संस्थागत विकासका कामहरु समेत भइरहेका छन् ।

उर्जा क्षेत्रमा भने विमस्टेक ग्रिड कनेक्सनको समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने इनर्जी सेन्टर सञ्चालनको काम पनि अगाडि बढिरहेको छ ।

कृषि, माछापालन, प्रविधि, यस क्षेत्रमा पर्यटन प्रवद्र्धन र माउन्टेन इकोनोमीलगायतका अन्य विषयमा पनि पछिल्लो समयमा केही प्रगति भइरहेको छ । आगामी शिखर सम्मेलनले यी विषयमा अगाडि बढ्नका लागि ठोस निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment