Comments Add Comment

आधा रातमा उत्तर कोरियाको सैन्य परेडमा देखियो ब्यालेस्टिक मिसाइल

२५ असोज, काठमाडौं । शनिबार राति उत्तर कोरियाले भव्य सैन्य परेडको आयोजना गरेको छ । उक्त सैन्य परेडमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि सहभागी भएका थिए । यो सैन्य परेडको आयोजना वर्कर्स पार्टीको ७५ औं वर्ष पूरा भएको अवसरमा गरिएको थियो ।

सामान्यतया नयाँ किसाइल र हतियार प्रदर्शन गर्न उत्तर कोरियाले सैन्य परेडको आयोजना गर्ने गरेको छ । शनिबार रातिको सैन्य परेडमा पनि उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरेको हो ।

उत्तर कोरियाले पछिल्लो दुई वर्षमा गरेको यो सबैभन्दा ठूलो सैन्य परेड हो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउनुभन्दा ठीक अघि उत्तर कोरियाले आफ्नो नयाँ हतियार प्रदर्शन गरेको हो ।

सन् २०१८ को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनको बीचमा पहिलो शिखर वार्ता भएपछि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको प्रदर्शन गरेको छैन । दक्षिण कोरियाका अनुसार शनिबार राति यो सैन्य परेड आयोजना गरिएको हो । यो सैन्य परेड किन राति गरिएको हो भन्ने विषयमा भने जानकारी दिइएको छैन ।

सैन्य परेडमा सम्बोधन गर्दै किम जोङ उनले आत्मरक्षा र आक्रमणको प्रत्युत्तर दिन उत्तर कोरियाले आफ्नो सेनालाई बलियो बनाउने काम जारी राख्ने बताएका थिए । उनले उत्तर कोरियामा अहिलेसम्म कुनै पनि कोरोना संक्रमित फेला नपरेको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो भाषणको क्रममा मुलुक अहिले आर्थिक संकटबाट पार पाउन संघर्ष गरिरहेको बताएका थिए । तर, भव्य सैन्य परेडलाई हेर्ने हो भने सेनामा भने उत्तर कोरियाले उल्लेख्य रकम खर्च गरेको विश्लेषकहरुको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment