Comments Add Comment

राज्यमन्त्री दुगडको कम्पनीको नुनमा संसदीय समितिको चासो

२५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड सञ्चालक रहेको कम्पनी दुगड स्पाइस एण्ड फुड प्रोडक्स प्रालिले आयोडिन नून उत्पादन र बिक्री वितरण गरेको विषयमा संसदीय समितिले चासो देखाएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले १६ असोज ०७७ मा दुगडको कम्पनीले अवैध तथा गैरकानुनी रुपमा आयोडिन नून उत्पादन र बिक्री वितरण गरिरहेको दावी गर्दै त्यसलाई रोक्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पत्र बुझाएको थियो ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उक्त पत्रका सम्बन्धमा चासो देखाएको हो ।

आइतबारको उद्योग समितिको बैठकमा समिति सदस्यहरुलाई उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझाएको पत्रको प्रतिलिपी वितरण गरेको छ । यो विषयमा थप अध्ययन गरेर आउन सांसदहरुलाई आग्रह गर्दै समिति सभापति बिमलप्रसाद श्रीवास्तवले अर्को बैठकमा छलफल हुने जानकारी दिए ।

बजारमा गुणस्तरीय आयोडिनयुक्त नून प्रति किलो २० रुपैयाँमा पाइरहेको अवस्थामा ३२ रुपैयाँ मुल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरी जन्य काम गरी उपभोक्तालाई चरम शोषण गरेको देखिएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘… नेपाल सरकारको तर्फबाट आपूर्ति व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने तथा उपभोक्ता हक अधिकारको संरक्षण गर्ने राज्यमन्त्री जस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै सञ्चालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानुन विपरीत कार्य हुने र उपभोक्ताको संवैधानिक अधिकारलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थलिप्साबाट प्रेरित हुँदा अत्यन्त मर्माहित हुन पुगेका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस विषयमा अत्यन्त गम्भीर ध्यान पु¥याउनु भई आम उपभोक्ताको पक्षमा निर्णय गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’

हाल नुनको प्याकेजिङ, सञ्चय तथा बिक्री वितरण गर्ने एकल अधिकार नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई छ ।

सरकारले २०७३ चैत २१ गते राजपत्रमा सूचना प्रकाशन गरी निकासी पैठारी नियन्त्रण ऐन २०१३ र प्रतिस्पर्धा प्रर्वद्धन तथा बजार संरक्षण ऐन २०६३ ले दिएको अधिकार प्रयोग गरी २०७४ साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्र नेपालभर आयोडिनयुक्त नूनको आयात, भण्डारण तथा विक्री वितरण गराउने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशनलाई एकल अधिकार दिइएको भए पनि त्यस विपरित उद्योग राज्यमन्त्री दुगडको कम्पनीले ‘सेन्चुरी स्प्रिकलस टेवल साल्ट’को नामबाट आयोडिनयुक्त नुनको प्याकेजिङ गरी प्रतिसय ग्रामको ३५ रुपैयाँमा बिक्री वितरण सुरु गरेको मञ्चले जनाएको छ ।

यस्तै, नुन उत्पादनका लागि दुगड स्पाइस एण्ड फुड प्रोडक्स प्रालिले कुनै प्रकारको अनुज्ञा पत्र वा स्वीकृति नलिएको खाद्य तथा गुण नियन्त्रण विभाग पनि मञ्चले जनाएको छ ।

कुष्ठ रोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिन युक्त नुन बिक्री वितरण गर्न पाउने, नुन उत्पादनका लागि खाद्य ऐन २०२३ अनुसार अनुज्ञापत्र वा इजाजतपत्र लिनुपर्ने जस्ता कानुनी व्यवस्था रहेका छन् ।

यी कुनै प्रकारका कानुनी प्रक्रिया पूरा नगरी दुगडको कम्पनीले नुन उत्पादन र बिक्री वितरण सुरु गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment