Comments Add Comment

लुम्बिनीलाई सुरक्षित बनाउन २०० सीसीटिभी क्यामेरा जडान

२६ असोज, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षालाई मध्यनजर गरी पहिलोपटक दुई सय वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा २५ वटा प्यान टिल्ड जुम (पीटीजेड) क्यामेरा र १७५ वटा सीसीटिभि क्यामेरा जडान गरिएको हो ।

लुम्बिनी गुरुयोजना अनुसारको प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोण्ड एण्ड आईटी इन्फ्रास्ट्रक्चर परियोजना अन्तर्गत सीसीटिभी जडान भएको हो ।

सीसीटिभी क्यमेरा जडान भएसँगै लुम्बिनीभित्रका पवित्र उद्यान, बिहार क्षेत्र, शान्तिदीप, बसपार्क, सूचना केन्द्र, संग्रहालय, प्रशासनिक भवन र लुम्बिनी ग्रामलगायत २७५ वटा एक्सेस प्वाइन्ट (मुख्य पहुँच स्थल) का दृश्य फाइबर र वायरलेस माध्यमबाट चौबिसै घन्टा क्यामेरामा कैद हुनेछन् ।

जडान भएका सबै सीसीटिभी क्यामेरामा कैद हुने दृश्य विकास कोषको कार्यालयमा राखिएको आईटी कन्ट्रोल रुममा राखिएका १२ वटा टिभी स्क्रिनबाट नियाल्न सकिने छ । आर्थिक वर्ष २०७४/७५ मा काम सुरु भएको करिब २५ करोड लागतको परियोजना अन्तर्गत अप्टिकल फाइबर, सर्भिलेन्स सिस्टम, डाटा सेन्टर, वायरलेस नेटवर्क, सोलार ब्याकअप, डिजिटल साइनबोर्ड, कन्ट्रोल रुम लगायका काम सम्पन्न भएका हुन् ।

सीसीटिभी जडानपछि लुम्बिनी गुरुयोजना क्षेत्रमा हुने सबै प्रकारका गतिविधि रेकर्ड हुने भएकाले सुरक्षा प्रणाली सुदृढ हुने कोषका कायम मुकायम सदस्य सचिव ज्ञानिन राईले बताए । सीसीटिभी क्यामेरा सञ्चालन र व्यवस्थापनका लागि कोषका इन्जिनियर, कोषका सुरक्षाकर्मीहरु र नेपाल प्रहरीका गरी पाँचजना कर्मचारी व्यवस्थापन गरिएको राईले बताए । ‘सीसीटिभी क्यामेरा जडानपछि लुम्बिनी घुम्न आउने पर्यटकको सुरक्षा र समग्र लुम्बिनी गुरुयोजना क्षेत्रको शान्ति सुरक्षामा ठूलो सहयोग पुग्नेछ’–राईले भने ।

लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र निजी क्षेत्रको बीर गोर्खा सेक्युरिटी कम्पनीका गरी दुई सयजना सुरक्षाकर्मी खटिने गरेका छन् । यति धेरै सुरक्षाकर्मी खटिँदा पनि आपसी समन्वय र कुन निकायले कस्तो प्रकारको जिम्मेवारी निभाउने भन्ने स्पष्ट नहुँदा मायादेवी मन्दिरको दानपात्र चोरी हुनेसम्मका घटना भएका छन् । जसले गर्दा लुम्बिनीको सुरक्षा व्यवस्थामाथि बेलाबेलामा प्रश्न चिन्ह उठ्ने गरेको छ ।

सीसीटिभी जडानपछि अब सुरक्षा व्यवस्थामा समस्या नआउने कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले बताए ।

‘पीटीजेड सहित दुईसय वटा सीसीटिभी क्यामेरा जडान भएपछि अब चौबिसै घण्टा हुने सबै गतिविधि क्यामेरामा कैद हुन्छन्,’ इन्जिनियर गौतमले भने, ‘यदि शान्ति सुरक्षामा खलल् पुग्ने र प्रचलित कानुन विपरीतको काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा युनिट र कर्मचारीलाई खबर हुन्छ र तत्काल घटनास्थलमा सुरक्षाकर्मी पुगिहाल्छन् ।’

लुम्बिनीकै सुरक्षा संवेदनशील विषय भएकाले कोषले विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नेपाली सेना वा सशष्त्र प्रहरीको गुल्म स्थापनाको लागि पत्रचार गरेपनि सुनुवाई भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment