Comments Add Comment

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित

Photo Credit : Reuters

२६ असोज, काठमाडौं । बंगलादेशले बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ । बंगलादेशमा बलात्कारको मुद्दामा मुलुकभर आन्दोलन चर्किएसँगै सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो ।

सोमबार बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पारित गरेको बताएका हुन् । इस्लामका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको बताएका हुन् ।

सोमबार पारित गरिएको विधेयकअनुसार बंगलादेशमा बलात्कारको मुद्दामा दोषी पाइएका अभियुक्तलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ । अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो । बंगलादेशका कानुन तथा न्यायमन्त्री अनिसुल हकले मंगलबार नयाँ व्यवस्था लागू गर्न राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्ने बताए । यसअघि मुलुकमा बलात्कारको घटनामा दोषीलाई हदैसम्मको सजायको माग राख्दै बंगलादेशभर ठूलो प्रदर्शन भएको थियो ।

बंगलादेशको विकट दक्षिणी क्षेत्रमा एक महिलालाई पुरुषहरुको एक समुहले अपहरण गरी सामुहिक बलात्कार गरेको घटनासँगै बंगलादेशमा आन्दोलन चर्किएको हो । बलात्कारको भिडियो पनि भाइरल भएको थियो । प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्न आठ जनालाई पक्राउ गरिसकेको छ । बंगलादेशमा पहिलोपटक यौन हिंसाविरुद्ध यति ठूलो संख्यामा प्रदर्शन भएको हो ।

बंगलादेशमा सन् २०२० को नौ महिनामा झण्डै एक हजार महिलामाथि बलात्कारको मुद्दा दर्ता भएको छ । जसमध्ये करिब दुई सय सामुहिक बलात्कारका घटना छन् । ४३ ओटा बलात्कारपछि हत्याको मुद्दा दर्ता भएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment