Comments Add Comment

‘लू’ उपन्यासले पल्टाएका पाना

नयनराज पाण्डेको लू उपन्यासले बिहान सुरु गरेर साँझसम्ममा नसकाई उठ्न दिएन । किताबको पछिल्लो भागमा सिमाना सम्बन्धी उपन्यास भन्ने बित्तिकै मनमा एक प्रकारको त्रास उत्पन्न भइसकेको थियो ।

हुन पनि त कति कहालिलाग्दो छ नेपाल र भारतको सिमाना नजिक पर्ने गाउँहरुको अवस्था । तर, लू पढ्दै जाँदा म त्यो पत्थरपुरवा गाउँमा यसरी हराएँ, मानौं मलाई पनि बानी परिसकेको छ, भारतीय सेनाको आऊजाऊ र ममाथि बज्रपात नपरेसम्म म पनि चुपचाप नै रहन्छु ।

यस उपन्यासका पात्रलाई लेखकले हृदय नजिक राखेर लेखेका छन्, मानौं त्यही सधैँ चलिरहने लू बनेर त्यहाँ भएका घटनालाई जस्ताको तस्तै पानाहरुमा पल्टाएका छन् । लेखकले प्रयोग गरेका भाषा र शब्दहरु प्रशंसनीय छन् । अब कतिबेला यो गाउँमा विपत्ति होला भनेर कुरिरहेको पाठकलाई बेला–बेलामा हँसाएर लेखकले, जस्तोसुकै दुःख र परिस्थितिमा पनि हाँसो र आँशु सँगसँगै आउँछन् है भन्ने यथार्थ पनि समेटेका छन् ।

कथा, इलैया, बजरंगी, बृजलाल र रेडियोलाल १० वर्षका हुँदादेखि सुरु हुन्छ र उनीहरु सँगै हुर्किन्छ । इलैया, कथाको रावण भनुँ कि राम, यी दुईवीच अल्मलिएको पात्र छ । उसको चरित्र–चित्रण पढेर मलाई एउटा भाइको याद आयो । ठ्याक्कै त्यस्तै छ । जे नगर भन्यो, त्यही गर्ने । आफूले जे पनि गर्न सक्छु भनेर देखाउन उट्पट्याङ गरेर आमा बाउलाई दिनु पिर दिने । साथीहरुलाई अनेकौँ फटाही काम गर्न उक्साउने । गल्ती गरे पनि हाकाहाकी गरेको हुँ भन्ने । कसैसँग नडराउने ।

बालक स्वभाव किन यस्तो हुन्छ भन्नेमा मेरो ध्यान गयो । किनभने यस उपन्यासमा देखाइएअनुसार इलैया भावना नै नभएको ढुंगो पनि त हैन । तर, त्यो क्रान्तिको ज्वाला केले भर्‍यो उसको व्यवहारमा ?

उपन्यासको मध्य र अन्तिमतिर इलैयाका बाबु मरेको थाहा पाएपछि जब ऊ सानोका सबै कुराहरु सम्झिन्छ, तब उसले एउटा प्रश्न आफैसँग गर्छ, ‘के मेरा बाबुले मलाई कहिल्यै माया गरेनन् ?’ यसले के देखाउँछ भने, सानैदेखि उसको मनमा बाबुप्रति डर थियो र मलाई आमाले मात्रै माया गर्छिन् भन्ने थियो ।

के उसको व्यवहार यस्तो हुनुमा बालापनको कुनै घटना थियो जुन लेखकले आफैसँग लुकाए ? किनकि इलैयाले तन, मन, धन दिएर प्रेम गर्ने नुसरतमा आफ्नी आमालाई देख्नुमा फ्रेडको थ्योरीले ठूलो भूमिका खेलेको छ, सायद यसैले कुदेको छ इलैयाको व्यवहार ।

उपन्यास पढ्दै गर्दा त्यो गाउँमा देखाइएको गरिबी, भोकमरी आदि सबै मेरो पाठक मष्तिस्कले सहजै स्वीकार्‍यो, कति लाचार रहेंछु म, सीमानाको कथा भन्नेवित्तिकै यी घटना कहिले घट्लान् भनेर कुरेर बस्ने । आखिर यति सजिलै स्वीकार्न मैले कसरी सकें ? मनमनै ग्लानी पनि भयो । कुनै कहालीलाग्दो अपराध एकचोटि भयो भने मुटुमा राँको जल्छ । तर, त्यो घटना बारम्बार घटिरह्यो भने बानी पर्छ रे । दुःखद, तर साँचो ।

उपन्यासमा महिलाको स्थान उही पुरुषलाई बर्बाद पार्ने, पतुरिया, पोइला जाने, छिमेकीसँग झगडा गर्ने आदिमै सीमित राखिएको छ ।

रिंकु वाग्ले

नुसरत पात्रलाई लेखकले पढ्न रहर गरेको भनेर बताउँदा मेरो मनमा निकै उमंग भरिएको थियो । तर, अफसोच ! बलात्कारपछि ऊ पढ्न जान छोड्छे अनि करिमको साथ पाएपछि उसको मनमा नयाँ आशा भरिन्छ । आफ्नी साथी देवकीसँग जब उसले करिमसँगको सपनाको बखान गर्छे, उसका बखान सुकिला लत्ताकपडा र गरगहनामा मात्रै सीमित हुन्छन् । यसले मलाई अलि खचक्क बनायो । हो, समाजमा अधिकांश केटीहरु यस्ता सपना धेरै देख्छन्, किन ? किनभने, यिनै कुराहरु यसरी नै पढिन्छन्, देखिन्छन्, सुनिन्छन् अनि भोगिन्छन् ।

कथा भनेको यथार्थताको चित्रण भए पनि, यो पाठकलाई सोच्न बाध्य बनाउने एउटा हतियार पनि हो । नुसरतले आफ्नो खयाली पुलावका बीचमा पढ्ने इच्छा पनि चुहाएकी भए, करिमले अन्तिममा यति नमाज पढ्छु, कण्ठ पार्छु भन्दै गर्दा छुस्स नुसरतको मनमा पनि पढ्ने एउटा झिनो आशा पलाएको भए मेरो महिलावादी मन शान्त हुने थियो । तर, त्यसो भएन ।

उपन्यासमा, हिन्दु र मुसलमान बीचका आगो जसरी गाउँकै मान्छेले सल्काएको छ । त्यसले नेपालमा सल्किन तम्तयार भएको जातीय मतभेदलाई अंकित गर्न खोजेको मैले पाएँ । आफ्नो व्यक्तिगत रिसिबीका कारण मिलेर बसेको समुदायमा, छिमेकी गुहारेर रडाको मच्चाउने कार्य नेपालमा भैरहेको पाइन्छ ।

पत्थरपुरवाले एउटा गाउँ मात्र हैन, सिंगो नेपाललाई प्रतिनिधित्व गरेको मैले महसुस गरेँ । भारतको रजाईँ, नेपालीबीचको सद्भाव, अनि आफ्नै देशका केही देशद्रोहीहरु, कोही छुटेका छैनन् यस उपन्यासमा ।

यो उपन्यासको अन्तिममा जब टुटे पण्डितजस्तो छुचो पात्रले उदार हृदय देखाउँछ, तब एउटा कुराले मेरो मस्तिष्क छोयो, मान्छेमा लोभ र लालच परिस्थितिले निर्माण गर्छ । तर, उसको आत्मालाई मानवताले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment