Comments Add Comment

पर्सामा प्रशासनको आदेश अवज्ञा गर्दै धमाधम सभा र खेलकुद

सोमबार पर्सामा जनता समाजवादी पार्टीले गरेको कार्यक्रम ।

२७ असोज, वीरगञ्ज । पर्सामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

स्वास्थ्य सतर्कता अपनाउन, सामाजिक दुरी कायम गर्न, मास्क लगाउन, भिडभाडमा नजान स्थानीय प्रशासनले आग्रह गरिरहेको छ । तर त्यसलाई नटेर्ने क्रम बढेको छ । बजारमा पनि बढी नै भिडभाड देखिन्छ ।

सोमबार जनता समाजवादी पार्टीले पर्सा जिल्लाका विभिन्न स्थानमा पार्टी प्रवेश तथा दसैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम गर्‍यो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्य मन्त्री लालबाबु राउत गद्दीसमेत यी कार्यक्रमहरुमा सहभागी भए ।

कार्यक्रममा मास्क र सामाजिक दुरी कायम गरिएको दावी गरेपनि सार्वजनिक भएका तस्वीरहरुले त्यसलाई गलत सावित गरिदिएको छ । सत्तारुढ दल नेकपाले पनि भेला गरेर पर्साको ग्रामीण क्षेत्रमा कमिटी गठन गरेको समाचार सार्वजनिक भइरहेको छ ।

धमाधम खेल

त्यतिमात्रै हैन, स्थानीय स्तरमा छिटपुट रुपमा खेलकुद प्रतियोगिता समेत भइरहेका छन् । सोमबार पटेर्वासुगौली गाउँपालिका–४ मा प्रहरी टोली नै गएर खेल बन्द गराएको थियो । दसैँको समयमा अघिल्ला वर्षहरुमा खेल प्रतियोगिता हुने गरेका थिए । तर यस वर्ष पनि कतिपय स्थानीय क्लबले त्यसलाई निरन्तरता दिन खोजेको देखिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार फाइनल खेल खेल्न नदिएपछि टस गरेर विजेता उपविजेता घोषित गरिएको थियो ।

‘अघिल्लो प्रहरी निरीक्षकसँग फुटबल प्रतियोगिता गराउनुप¥यो भनेर आएका रहेछन् । उहाँले कोरोना महामारीमा गेम गराउन मिल्दैन भनेछन्’ उनले भने ‘जंगल छेउमा मैदान भएकोले उनीहरुले प्रतियोगिता गराएछन्, होहल्ला हुन थालेपछि स्थानीयले नै जानकारी गराएपछि गएर रोकेका हौं । टस गरेर विजेता र उपविजेता घोषित गरे ।’

मंगलबार ठोरी गाउँपालिका– ३ रामनगरमा ‘दसैँ गोल्डकप’ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । औपचारिक कार्यक्रम नगरिए पनि वडाध्यक्ष समेतको सहभागितामा प्रतियोगिता गराईएको छ । वडाअध्यक्ष सूर्यबहादुर लामा र बुद्ध जयन्ती कोषका गुरु कर्मा सागरले संयुक्त रूपमा रेफ्रीलाई फुटबल हस्तान्तरण गरेका थिए ।

उद्घाटन खेल आयोजक ठोरी– ३ को सनराइज युथ क्लब र ठोरी– २ को नवयुवा क्लबबीच खेलाइएको थियो । बुधबार दुई खेल राखिएको आयोजक समितिका सचिन मोक्तानले जानकारी दिए । १५ ओटा टिम सहभागी खेल फुलपातीको दिन सक्ने लक्ष्य छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले असोज २२ गते जारी गरेको सूचनामा भिडभाड हुने गरी कुनैपनि प्रकारको प्रतिस्पर्धात्मक खेल तथा प्रतियोगिता गर्न नपाइने उल्लेख छ । अनुमति नै नलिई गरिएको राजनितिक दलको कार्यक्रम नरोकेर स्थानीय प्रशासन निरिह बनेको कतिपयको आरोप छ ।

सरोकारवालालाई आग्रह गर्दा नसुनेको र बल प्रयोग गर्दा स्थिति बिग्रन सक्ने देखेर त्यसो नगरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङ बताउँछन् ।

स्थानीय स्तरमा खेलकुद प्रतियोगिता नगर्न नगराउन प्रशासनले निर्देशन दिइसकेकोले प्रहरीले त्यस्ता कार्य रोक्नुपर्ने प्रजिअ तामाङको भनाइ छ ।

‘मैले पटक पटक त्यस्ता कार्यक्रम नगर्न नगराउन भनेको छु, प्रशासनमा भएको निर्णय सार्वजनिक गरेको छु । आफैं गएर कार्यान्वयन गर्ने होइन । प्रहरीले निर्णयको अवज्ञा भए नभएको हेर्नुपर्छ’ प्रजिअ तामाङ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment