Comments Add Comment

अमेरिकाले तिब्बतका लागि तोक्यो मानव अधिकार दूत, चीनको विरोध

२९ असोज, काठमाडौं । अमेरिकाले तिब्बतका लागि एक वरिष्ठ मानव अधिकार दूत नियुक्त गरेसँगै अमेरिका–चीनबीचको विवाद झनै बढेको छ । बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रोबर्ट डेस्ट्रोलाई तिब्बतको विशेष संयोजकको रुपमा नियुक्त गरेका हुन् ।

डेस्ट्रोले चीन र दलाई लामाको बीचमा वार्ताको प्रयास गर्ने, तिब्बतको धार्मिक, सांस्कृतिक र भाषिक पहिचानको संरक्षणको प्रयास गर्ने पोम्पेओले बताएका छन् । साथै उनले तिब्बतका मानिसहरुको मानव अधिकारको रक्षाको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पोम्पेओको विश्वास छ ।

चीनले भने अमेरिकाको यो कदमको विरोध गरेको छ । अमेरिकाले तिब्बतको स्थायित्व नचाहेको बताएको छ । यसअघि पनि यस विषयमा चीनले अमेरिकासँग समन्वय गर्न अस्वीकार गर्दै आएको थियो । चीनले यसलाई आफ्नो आन्तरिक मामिला भएको बताउँदै अमेरिकालाई हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार यो कदम चीनको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने र तिब्बतको स्थायित्व कमजोर पार्ने अमेरिकाको चाल भएको बताएका छन् ।

पछिल्लो समय अमेरिका–चीन सम्बन्ध अहिलेसम्मकै कमजोर अवस्थामा आइपुगेको अवस्थामा यी दुई मुलुकको बीचमा अर्को विवाद निस्किएको हो । अहिले अमेरिका–चीनबीच व्यापार, ताइवान, मानव अधिकार, दक्षिण चीन सागर र कोरोना भाइरसबाट विवाद रहँदै आएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment