Comments Add Comment

कोरोनाबाट काभ्रेमा थप एकको मृत्यु, मृतकको संख्या १३ पुग्यो

१ कात्तिक, धुलिखेल । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार ५० वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो । यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभेमा १३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये आठ पुरुष र पाँच महिला छन् ।

जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २०५ पुगेको छ, जसमध्ये ६५३ जना संक्रमणमक्त भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । १३ स्थानीय तहमध्ये बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम सङ्क्रमण भुम्लु गाउँपालिकामा दुईजना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment