Comments Add Comment

स्कुले विद्यार्थीले बनाए स्वचालित सेनिटाइजर मेसिन

२ असोज, बुटवल । कोरोना महामारीले धेरैलाई कामविहीन बनाएपनि सिर्जनशील काम गर्न चाहनेलाई यसले अवसर पनि दिएको छ । लकडाउनका कारण विद्यालय बन्द हुँदा फुर्सदिलो बनेका बुटवलका दुईजना स्कुले विद्यार्थीले स्वचालित सेनिटाइजर मेसिन बनाएर आम्दानीको स्रोत बनाएका छन् ।

कालिका मानवज्ञान मावि बुटवलमा कक्षा १० मा अध्ययनरत विशाल लम्साल र कक्षा १२ का कपिल लम्सालले लकडाउनको अवधिमा स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर स्वचालित सेनिटाइजर मेसिन बनाएका हुन् । कोरोना संक्रमणबाट जोगिने उपायस्वरुप लम्साल दाजुभाइले एकमहिनाको प्रयासमा विद्युतबाट चल्ने स्वचालित मेसिन तयार गरेका हुन् । ६ इन्चको पीभीसी पाइप काटेर डिजाइन निकाली त्यसमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरेर उक्त मेसिन तयार गरिएको कपिलले बताए । उक्त मेसिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म सेनिटाइजरको झोल राख्न सकिने उनले बताए । अब घरायसी प्रयोजनका लागि १ लिटरको मेसिन पनि बनाउने तयारीमा रहेको उनले बताए । कोरोना संक्रमणको जोखिमको बेलामा सेनिटाइजरको बोत्तल नछोई हात सेनिटाइज गर्न सकियोस् भनेर स्वचालित मेसिन बनाएको उनीहरुको भनाइ छ ।

३ हजारदेखि १० हजार रुपैयाँसम्म मूल्य पर्ने सेनिटाइजर मेसिन रुपन्देही र गुल्मीका विभिन्न विद्यालयले खरिद गरेर प्रयोगमा ल्याएका कपिलले बताए । अस्पताल, बैंक, सहकारी, सपिङ मल र घरमा समेत यो मेसिन प्रयोग गर्न सकिने उनले बताए । ‘यसको विशेषता प्रयोग गर्ने बेला आफैं सेनिटाइजर झर्ने र प्रयोग गरेपछि आफै बन्द हुने हो’– निर्माणकर्ता विशालले भने–‘भारतबाट आयात हुने यस्तै मेसिनको मूल्य १५ हजार माथि छ, तर हामीले बनाएको धेरै सस्तो छ ।’

सेनिटाइजरबाहेक स्याम्पु, साबुनलगायतका तरल पदार्थ झार्नका लागि समेत यो मेशिन उपयोगमा ल्याउन सकिने कपिलले बताए । स्वदेशमै बनाइएको यो मेसिनलाई प्रबर्द्धन गर्न सम्बन्धित निकायले चासो देखाउनुपर्ने कालिका मानवज्ञान माविका शिक्षक युवराज कँडेलले बताए । ‘सरकारी निकायबाट सहयोग र प्रोत्साहन भयो भने यी विद्यार्थीले अझ परिस्कृत र परिमार्जित नयाँ–नयाँ आविश्कार गर्न सक्छन्,’ उनले भने, ‘कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा यस्ता अटोमेटिक सेनिटाइजर मेसिनहरुको प्रयोगलाई प्रवर्द्धन गरेर संक्रमण कम गराउन सकिन्छ ।’ यसअघि यी दाजुभाइले रोबोट बनाएर चर्चा कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment