Comments Add Comment

‘साहित्य, सङ्गीत र कलाको साँध सिमाना हुँदैन’

'सङ्गीत मेरो जीवनको अभिन्न अङ्ग हो, आज खुशीले भावविह्वल बनेकी छु'

आज म खुशीले भाव विह्वल बनेकी छु। मलाई नेपालको जगदम्बा-श्रीजस्तो गरिमामय पुरस्कारले सम्मानित गरिँदा मेरो दीर्घकालीन सङ्गीत यात्रा सार्थक भएको ठानेकी छु। यो मेरो जीवनको अत्यन्त स्मरणीय अनि ऐतिहासिक क्षण हो।

गुठीद्वारा यो पुरस्कारको निम्ति मेरो नाम चयन भएको घोषणा हुनसाथ चारैतिरबाट सङ्गीत, साहित्य, कला आदि क्षेत्रका वरिष्ठ व्यक्तिहरू अनि असंख्य आत्मीयहरूबाट अपार खुशी व्यक्त गर्दै दिइएका बधाईका शब्दहरूले म अझै आनन्दविभोर बनें। अर्को कुरो, यो विशिष्ट पुरस्कार प्राप्तिसित नेपाली सुगम सङ्गीत इतिहासको पन्नामा मेरो पनि नाम दर्ता हुन गएकोमा मैले ठूलो गर्वको अनुभव गरेकी छु।

सङ्गीत मेरो जीवनको अभिन्न अङ्ग बनेर रहेको छ। मलाई सानै उमेरदेखि नै गाउने लहड़ले छोएको थियो। सन् १९५५ देखि नै सङ्गीततर्फ मेरो झुकाउ रहेको हो। केही समयपछि यसले मलाई अझ बेसी प्रभाव पार्न थाल्यो अनि विभिन्न मञ्चहरूमा गायन प्रस्तुत गर्ने अवसर पाएँ। मैले सङ्गीतको महत्व बुझ्दै गएँ। तर, यस क्षेत्रमा ज्ञान र साधनाबिना अघि बढ़न नसकिने लागेर शास्त्रीय सङ्गीतको शिक्षा लिने मन बनाएँ अनि कलकत्ता रवीन्द्रभारती विश्वविद्यालयबाट कण्ठ सङ्गीतमा तीन वर्षीय डिप्लोमा लिएँ।

यो अध्ययन सिद्धिएपछि लोक मनोञ्जन शाखा दार्जीलिङमा गायिकाको रूपमा केही समयको निम्ति कार्यरत रहें। मलाई खुशी लाग्छ महान गीतकार-सङ्गीतकार अम्बर गुरूङको शब्द सङ्गीतमा ‘सम्हालेर राख….’ जस्तो गीत गाउनु मेरो जीवनको महत्वपूर्ण पाटो नै भइदियो जुन मेरो निम्ति चिनारी गीत नै बनेर आजपर्यन्त रहेको छ। सन् १९६५ देखि मैले गायनसितै सङ्गीत रचना गर्नतर्फ पनि कदम बढ़ाएँ। मेरो पहिलो सङ्गीत रचना थियो शशि ठटालको शब्द रचनामा कवि भानुभक्त आचार्यमाथिको गीत।

सङ्गीत रचनाहरूमा सहभागी हुँदै जाँदा नेपाली चलचित्रहरूदेखि लिएर नाटक, नृत्य नाटिका, गीति नाटक, रेडियो रूपक, गद्य सङ्गीत आदिमा संलग्न हुँदै आएँ। दुईवटा नेपाली फिल्ममा सङ्गीत निर्देशन गर्ने अवसर पाएँ। दार्जीलिङ पहाड़ी भेकका कलाकारहरूको निम्ति ठूला ठूला अवसरहरू छैनन्। आफ्नै बलबुँतामा विभिन्न कार्यक्रमहरू र रेडियो प्रसारणका माध्यमहरूद्वारा नै उनीहरू अघाड़ि बढ्न सकेका कुरो सर्वविदित छ। मैले पनि रेडियोसित जोड़िँदै जाँदा वरिष्ठ गीतकार, गायक-गायिकाहरूसँग काम गर्ने सुयोग पाएँ।

आकाशवाणीको अनुमोदित ‘कम्पोजर’-को भार ग्रहण गरेपछि सङ्गीतका विभिन्न विधामा धेरै कार्यहरू गर्ने अवसर प्राप्त भयो। यसैबीच कविवर ईश्वर वल्लभको अमर रचना ‘एउटा नीलो सूर्यास्त’ (गद्य सङ्गीत)-मा सङ्गीत रचना गर्ने पनि मौका पाएँ। चाकरीमा पनि म सङ्गीतसितै थिएँ। गान्तोकको देवराली स्थित केन्द्रीय विद्यालयमा सङ्गीत शिक्षिकाको रूपमा नियुक्ति पाएँ। दुइ वर्षजति कार्यरत रहेपछि सिक्किम सरकारको सांस्कृतिक विभागमा सहायक संस्कृति अधिकारीको पदमा नियुक्ति पाएँ अनि सोही विभागबाट सन् २००२ मा उप निर्देशक पदबाट अवकाश ग्रहण गरें।

अवकाश ग्रहणपछि पनि सङ्गीत मेरो जीवनमा अभिन्न अङ्ग बनेर मसँगै निरन्तर हिँड़िरहेको छ। सङ्गीतलाई लिएर भारतका विभिन्न प्रान्त, नेपाल, भूटान, अन्दमान निकोवर द्वीपपुञ्ज आदि विविध स्थान र देशहरूको भ्रमण गर्ने सुयोग पाएकी हुँ। नेपालका विविध स्थानहरूमा आयोजित कार्यक्रमहरूमा सहभागी बनेर आफू लगायत अन्य कलाकारहरूको सहभागिताले भारत-नेपालको साङ्गीतिक सम्बन्धलाई अझ सुदृढ़ पार्ने अवसर मिलेको र एउटा सेतु निर्माण गर्न सक्षम भएको अनुभव गर्दछु।

नेपालयले संचालन गर्दै आएका पलेंटी कार्यक्रममा पाँचपल्टसम्म सहभागी हुन सक्नु आफ्नो अहोभाग्य ठान्छु। यतिमात्र नभएर नेपाली सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने कलाकर्मीहरूलाई सम्मानित गर्दै आएका नेपाल राष्ट्रका अरू नामी संघ संस्थानहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। साहित्य, सङ्गीत र कलाको कुनै साँध सीमाना हुँदैन भन्ने कुरो अति अकाट्य र सत्य छ। यसै भनाइको प्रमाण बनेर म नेपालमा यो गरिमामय पुरस्कार ग्रहण गर्न उपस्थित हुन पाएकी छु।

आज आएर थाहा पाउँछु सङ्गीत मेरो जीवन भइदिएको छ। जीवनका विभिन्न उतार चढ़ाउहरूबिच पनि सङ्गीतलाई मैले त्याग्न सकिनँ। सङ्गीत क्षेत्रमा लागिपर्दाको आनन्द अर्कै हुँदो रहेछ। भगवान श्रीकृष्णले गीतामा कर्म गर्नु फलको आशा नगर्नु भन्नुभएझैं मैले फलको आशा भने कहिल्यै गरिनँ। कर्म गर्नु पर्दो रहेछ फलले कहीँ कतै टाढ़ामा आफूलाई पर्खिरहेको हुँदो रहेछ।

मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने यो गौरवशाली जगदम्बा-श्री पुरस्कार ग्रहण गर्न पाउँदा मैले यो अनुभव गरेकी छु। यो पुरस्कारद्वारा ममात्र सम्मानित भएकी छैन तर दार्जीलिङ तथा समग्र भारतका सबै गोर्खा-नेपाली सङ्गीत क्षेत्रका कलाकारहरू सम्मानित बनेका छौं।

अन्त्यमा, ईश्वरको अनुग्रह, माता-पिताको आशीर्वाद, सङ्गीत प्रेमी र समस्त श्रोतावर्गको माया, विभिन्न कलाकार, साहित्यकार, लेखक, पत्रकारहरू, सङ्घ संस्थाहरूसितै आकाशवाणी र रेडियो नेपालको प्रेरणा, सहयोग र सद्भावनालाई कदर गर्दै सबै सबैमा म मेरो हृदयको अन्तर तहदेखि आभार व्यक्त गर्न चाहन्छु। मदन पुरस्कार गुठीमा मेरो अजस्र कृतज्ञता। हाम्रो भावी पिढ़ीलाई यो सम्मान कार्यले हौसला एवं प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।

हार्दिक धन्यवाद।

अनुगृहित,
शान्ति ठटाल
बड़ा कागझोड़ा, दार्जीलिङ ।

(जगदम्बा-श्रीबाट सम्मानबाट सम्मानित शान्ति ठटालद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment