Comments Add Comment

भाग्न थाले जनप्रतिनिधि, राजीनामा ठोक्दै पैसा कमाउने बाटोमा

वडासदस्यले पाए प्रदेश सचिवसरहको राजनीतिक नियुक्ति

३ कात्तिक, काठमाडौं । गत स्थानीय चुनावमा जनताका घरदैलोमा भोट माग्न जाँदा जनप्रतिनिधिहरुले पाँच वर्षसम्म जनताको सेवा गर्ने कसम खाएका थिए । तर, अहिले पाँचवर्षे कार्यकाल पूरा नहुँदै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरु राजीनामा दिएर पैसा कमाउने बाटोतिर लाग्न थालेका छन् ।

काठमाडौंसँगै जोडिएको धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा सदस्य टीकाबल्लभ सापकोटा निर्वाचित पदबाट राजीनामा दिएर बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष बनेका छन् ।

उनी प्रदेश सचिवसरहको सेवा, सुविधा लिने गरी धुलीखेलबाट बोर्डको उपाध्यक्ष बनेर हेटौंडा गएका हुन् । सापकोटाले हेटौडा पुगेर आफ्नो नयाँ जिम्मेवारी सम्हालिसकेका छन् ।

२७ वर्षदेखि दुग्ध सहकारीका काम गरेका सापकोटा दुग्ध सहकारी केन्द्रीय सचिव हुन् । गत चुनावमा उनी उत्साहका साथ वडासदस्यमा चुनाव लडेका थिए । त्यसबेला उनको दाउ काभ्रे जिल्ला समन्वय समितिको सभापति बन्न पाउँछु कि भन्ने थियो, तर, पाएनन् ।

निर्वाचित प्रतिनिधिले कार्यकाल पूरा नगरी राजीनामा दिनु त जिम्मेवारीबाट भागेजस्तो भएन र भन्ने अनलाइनखबरको प्रश्नमा सापकोटा भन्छन्, ‘जिम्मेवारीबाट भागेको भन्दा पनि आफूले जाने बुझेको क्षेत्रमा आएको हुँ, म सुरुदेखि नै दुग्ध सहकारीको क्षेत्रमा संघर्ष गर्दै आएको व्यक्ति हुँ ।’

वडाध्यक्ष छाडेर चक डस्टर

जनप्रतिनिधिबाट राजीनामा दिएर फरक पेशामा जाने सापकोटा नै पहिलो व्यक्ति भने होइनन् । यसअघि सल्लानको शिद्धकुमाख–४ का वडाध्यक्षले पनि पदबाट राजीनामा दिएका थिए । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष दिनेशकुमार बुढामगरले प्राथमिक तहको शिक्षक बन्न वडाध्यक्ष पद छाडेका थिए ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की वडा सदस्य गरिमा शाही पदबाट राजीनामा दिएर शिक्षिक बनिन् । शाहीले भानुभक्त आधारभूत विद्यालयमा कक्षा ६–८ का लाई गणित पढाउँदै आएकी छन् ।

मकवानपुरका एकजना वडाध्यक्ष पदबाट राजीनामा समेत नदिई अमेरिका भासिएका छन् । भीमफेदी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएका हुन् ।

यो पनि पढ्नुहोस डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

किन राजीनामा दिन्छन् जनप्रतिनिधि ?

संविधानले स्थानीय तहका जनप्रतिनिधिलाई कसैले हटाउन नसक्ने व्यवस्था गरेको छ । तर, जनप्रतिनिधिहरू यसरी आफै राजीनामा दिएर हिँडेका छन् । किन त ?

‘राम्रो अवसर पाएपछि गरिरहेको पदबाट राजीनामा दिनु मानवीय स्वभाव नै हो’ नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठ भन्छन्, ‘फरक पेशा रोज्ने निर्णयलाई म व्यक्तिको लोकतान्त्रिक अधिकारको रुपमा हेर्छु ।’

यद्यपि निर्वाचित जनप्रतिनिधिले कार्यकाल पूरा नगर्नु नैतिक प्रश्न भने भएको अध्यक्ष ब्याञ्जु बताउँछन् । उनी भन्छन्, ‘यद्यपि जहाँ खुशी हुन्छ, त्यही क्षेत्रमा काम गर्नुलाई सकारात्मकरुपमै लिनुपर्छ ।’

गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ कार्यकारी भूमिका नपाउँदा वडा सदस्यहरूले नयाँ विकल्प रोज्ने गरेको बताउँछन् । गाउँ वा नगर सभामा वर्षमा दुईपटक र वडा कार्यालयको बैठकमा बाहेक वडा सदस्यहरूको भूमिका नभएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस डीभी पर्दा अमेरिका नगएकी उपमेयर ! अहिले के भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment