Comments Add Comment

ट्राफिक लाइटको ठेक्कामा एकमात्र कम्पनीको योग्यता पुग्ने गरी सर्त !

टेण्डरमै मिलेमतोको आशंका

३ कात्तिक, काठमाडौँ । सडक विभागले काठमाडौं उपत्यकाका सडकमा इन्टिलिजेन्ट ट्राफिक सिग्नल (आईटीएस) जडानका लागि पुरानो डिजाइन पुनरावलोकन गर्ने कम्पनी छनोट गर्न २७ असोजमा आयशपत्र (ईओआई) आहृवान गरेको छ ।

काठमाडौं भ्याली इन्टिलिजेन्ट ट्राफिक सिग्नल प्र्रोजेक्टको नाममा सडक विभागले जारी गरेको आशय पत्र खास एउटा कम्पनीले मात्र सर्त पूरा गर्नेगरी सेटिङ गरिएको पाइएको छ ।

योग्य कम्पनीहरुलाई रोक्न एउटा निश्चित कम्पनीको योग्यतासँग मिल्ने सर्तहरु डिजाइन गरिएको छ, जसले गुणस्तरसँग साइनो-सम्बन्ध राख्न चाहेको देखिदैन । आशय पत्रका धेरैजसो पूर्वयोग्यता नेपालको एउटै मात्र कम्पनीसँग मिल्ने विभाग स्रोत बताउँछ ।

विभाग स्रोतका अनुसार यस कामका लागि नेपाली कम्पनीहरुले आवश्यक योग्यता पूरा गर्न सक्छन्, सक्दैनन भन्ने सन्देह त छँदैछ अर्काेतर्फ कुनै अमुक कम्पनीका स्टाफहरुको योग्यतासँग मिल्ने गरी आशय पत्रको स्पेसिफिकेसन तयार पारिएको छ ।

आशय पत्रका सर्तहरु ट्राफिक एण्ड ट्रान्सपोर्ट अनलिमिटेड सोलुसन नामक कम्पनीले मात्र पूरा गर्न सक्ने स्रोत बताउँछ । ‘यो सिस्टमका लागि मागिएका जनशक्तिको योग्यता सो कम्पनीमा आवद्ध टिम लिडर र सदस्यहरुले मात्र पूरा गर्ने देखिन्छ’, विभाग स्रोत भन्छ, ‘यस्ता विज्ञ नेपाली नै हुनुपर्ने सर्त भएकाले अन्य कम्पनीले विदेशी प्राविधिक राखेर प्रक्रियामा भाग लिन पाउने छैनन् ।’

रेल विभागले गत चैतमा काँकडभिट्टा-इनरुवा रेलमार्गको लागि स्पेसिफिकेसनमा चलखेल गरेर सीमित कम्पनीमात्रै आउन पाउने बाटो राखेजस्तै सडक विभागले पनि यो आशय पत्रमा चलखेल गरेको स्रोत बताउँछ ।

यो परियोजना सडक विभाग अन्तर्गतको सडक सुरक्षा र ट्राफिक युनिट मातहतमा सञ्चालन हुनेछ । अहिलेसम्म सडक बत्ती संकेत सुधारको काम आंशिकरुपमा र विभिन्न ठाउँमा छुट्टाछुट्टैरुपमा भइरहेको छ । सडक बत्ती सिग्नल परियोजनामा वृहत्तर रुपमा अगाडि बढाउन सडक विभागले बोलपत्र आहृवान गरे पनि सुरुमै शंका उत्पन्न भएको छ ।

विभागले यो प्रक्रियामार्फत ट्राफिक व्यवस्थापन विज्ञ र इन्टिलिजेन्ट ट्रान्सपोर्ट र इलेक्टि्रकल विज्ञ भएको योग्य कम्पनी छनोट गर्न खोजेको छ । सो कम्पनीलाई योजना, डिजाइन र व्यवस्थापनका साथै ट्राफिक विश्लेषण र खरिद सम्बन्धी अन्य कागजात उपलब्ध गराउन भनिएको छ ।

नयाँ परियोजना अनुसार ३५ सेटमा आईटीएस जडान गर्ने र जम्मा तीन चरणमा १४३ सेट ट्राफिक लाइट जडान गर्ने प्रस्ताव छ । यो योजनामा केही परिवर्तन गर्नुपर्ने भए सुझाव दिन परामर्शदातालाई भनिएको छ ।

अब छानिने कम्पनीले अहिलेको अवस्थाको विश्लेषण गर्नुपर्ने, बत्ती जडान गर्नका लागि थप गर्नुपर्ने लगायतका कामहरु त्ाोकिएका छन् । आशय पत्र भने एसएसटीएन र सो कम्पनीका टिम सदस्य व्यक्तिमात्रै लक्षित देखिएको छ ।

प्रस्तावमा टोली नेता विकासशील देशका जटिल यातायात आयोजनामा १० वर्ष काम गरेको अनुभवसहित १५ वर्षको व्यवसायिक अनुभव मागिएको छ । ५० लाख रुपैयाँ बराबरका कम्तिमा चारवटा आयोजना सञ्चालन गरेको अनुभव भएको व्यक्ति टोली नेता हुने गरी योग्यता तोकिएको छ ।

ट्राफिक एण्ड ट्रान्सपोर्ट अनलिमिटेड सोलुसनमा आवद्ध एकजना प्राविधिकले यो मापदण्डसँग मिल्ने अनुभव बङ्गलादेश काम गर्दा प्राप्त गरेका छन् । यही टेन्डरमा ‘विकासशील देश’ भनिएको स्रोत बताएँछ । किन विकसित र अन्य देश भनिएन अथवा विकासशील देश भनेर किन उल्लेख गरियो आफै्रमा सन्देह छ । -स्वदेशी) टोली प्रमुखका लागि निर्धारित विकासशील देशमा काम गरेको मापदण्ड पूरा गर्ने एकमात्र पार्थमणि पराजुली हुन् ।

यस्तै ट्राफिक व्यवस्थापन विशेषज्ञका लागि पनि पक्षपाती मापदण्ड निर्धारण गरिएको छ । यस्तो विज्ञ नेपाली नै हुनुपर्छ भनिएको छ । नेपालमा आजसम्म यस्तो परियोजना नै नरहेको अवस्थामा इन्टरसेक्सन सुधार सम्बन्धि काम गरेको अनुभव हुनुपर्ने सर्त राखिएको छ ।

आईटीएस विशेषज्ञले कम्तिमा तीनवटा यस्ता परियोजनामा काम गरेको अनुभव मागिएको छ । यो पनि सोही सोलुसनकै टिमप्रति लक्षित छ । ‘स्वस्थ प्रतिस्पर्धा हुन दिन विदेशीलाई पनि खुला राख्न पर्थ्यो’, एकजना सडक पूर्वाधार विज्ञ भन्छन्, ‘टोली प्रमुख नेपाली भए पनि समस्या हुँदैनथ्यो, तर सिधै मिलेमतोको लागि यसो गरेको देखियो ।’

इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर पनि स्वदेशी मागिएको छ । उनलाई इन्टिग्रेटेड सिग्नल इन्स्टलेसनमा ज्ञान हासिल गरेको हुनुपर्ने, अनि तीन वर्ष अनुभव भए प्राथमिकता दिने भनिएको छ ।

नेपालमा इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर धेरै छन्, तर इन्टिग्रेटेड सिग्नल इन्स्टलेसनका अनुभवी छैनन् । यसमा पनि विभागले सोही टिमप्रति लक्षित गरेर योग्यता तोकेको छ ।

राजमार्ग इन्जिनियर पनि नेपाली नै हुनुपर्ने भनिएको छ । उसका लागि पनि इन्टरसेक्सन सुधार कार्य तथा एसआईडीआरए सफ्टवेयरको अनुभव मागिएको छ । यसमा पनि विभागको सफा नियत छैन । सफ्टवेयर इन्जिनियर -स्वदेशी) को मापदण्डमा पनि त्यस्तै समस्या छ ।

जम्मा १५ दिनको समय

यस्तो जटिल परियोजनामा अन्तर्राष्ट्रिय विज्ञहरुले मिलेर काम गर्नुपर्ने हुन्छ । तर, विभागको टेण्डरमा तयारीका लागि पर्याप्त समय दिइएको छैन । मुख्य चाडपर्व सुरु हुनै लाग्दा जम्मा १५ दिनको समयसीमा राखेर टेण्डर आह्वान गरिएको छ ।

सडक विभाग भन्छ- विदेशी मुद्रा बच्छ

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा एसियाली बिका बैंक (एडीबी)मार्फत यसअघि नै भएको अध्ययन पुनरावलोकन गर्न परामर्शदाता छान्न लागिएको बताउँछन् । परामर्शदाता छान्दा राम्रो योग्यता भएका विज्ञसहितको टिम होस् भन्ने उद्देश्य राखिएको उनले बताए ।

‘राम्रो कम्पनी र टिम लिडर आएनन् भने यो फेरि पनि आशय पत्र आह्वान हुनसक्छ,’ उनले भने, ‘परामर्शमा खर्च हुने ठूलो रकम किन विदेशीलाई तिर्ने भनेर टिम लिडर र सदस्यहरु नेपाली हुने सर्त राखेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment