
३ कात्तिक, काठमाडौं । नेपाली सेनाले जंगीअड्डामा कार्यक्रम नै गरेर निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको विदाइ गरेको छ । सेनासँग टसल भएकै कारण पोखरेलको रक्षा मन्त्रालय खोसिएको टिप्पणी भइरहेका वेला सेनाले त्रिभुवन आर्मी अफिसर्स क्लबमा पोखरेलको बिदाइका लागि कार्यक्रम राखेको हो ।
कार्यक्रममा पोखरेलले सेनाको र सेनापति पूर्णचन्द्र थापाले निवर्तमान रक्षामन्त्रीको प्रशंसा गरेका छन् ।
पोखरेलको तीन वर्षे कार्यकालमा सेनामा सुधारात्मक कार्यको थालनी भएको थापाले बताएका छन् । ‘यहाँको मार्गनिर्देशन र नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछुु’, उनले विदाइ समारोहमा भनेका छन् ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार पोखरेलले पनि आफू जुनसुकै नियुक्तिमा रहे पनि सदैव नेपाली सेनालाई सहयोग गर्ने प्रतिबद्धता जनाउका छन् ।
रक्षा मन्त्रालयमा आफ्नो नेतृत्व रहेका वेला नेपाली सेनाले राष्ट्रिय विपद्का दौरान गरेका उद्धार तथा राहत कार्यका समेत उनले स्मरण गरे ।
कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरिरहेको भूमिका तथा नेपाल सरकारबाट प्राप्त अन्य विकास निर्माण, प्रकृति संरक्षण आदिमा पनि सेनाले महत्वपूर्ण कार्य गरेको पोखरेलले बताए ।
उनले सेनाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै सेनाको प्रशंसा गरेका थिए । सेनापति थापाले पोखरेलले कार्यभार सम्हालेपछि मन्त्रालयका कामहरुमा सहजता र सरलता अनुभुत भएको समेत उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापना जस्ता धेरै उपलब्धि हाँसिल हुनुमा पोखरेलको नेतृत्व महत्वपूर्ण रहेको समेत थापाले जनाए ।
कार्यक्रममा सेनापति थापाले निवर्तमान रक्षामन्त्री पोखरेललाई सम्झना स्वरुप मेमेन्टो समेत प्रदान गरेका छन् । विदाइ कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4