
४ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै प्रसार हुने भन्दै सचेत हुन अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।
चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ । यसैबीच प्रशासनले सर्वसाधारणलाई समेत अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको हो।
प्रतिक्रिया 4