Comments Add Comment

तिलोत्तमा नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

शव व्यवस्थापनको जिम्मा पनि नगरपालिकाले लिने

४ कार्तिक, बुटवल । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) नि:शुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने नगरपालिकाले आफैले जिम्मा लिने निर्णय गरेको छ ।

कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नगरवासीको कोरोना जाँच (पीसीआर परीक्षण) र मृतको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको हो ।

यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो भने पीसीआर  सरकारले गर्दै आएको थियो ।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ ।

तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जना निको भइसकेका र ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरवासीको पहिलो पटकको परीक्षणसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरुको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो ।

संघीय सरकारले सबैको पीसीआर परीक्षणसमेत निःशुल्क नगर्ने निर्णय सार्वजनिक गरिरहँदा तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी समेत आफैंले लिने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘संघीय सरकारको निर्णय नागरिकप्रतिको दायित्वबाट पन्छिने खालको भयो, हामी त्यसरी गैर जिम्मेवार बन्न सक्दैनौं भन्ने नगर प्रमुखको निर्देशन अनुसार यस्तो निर्णय गरेका हौं’- प्रवक्ता श्रीले भने ।

तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरे समेत कोरोना संक्रमित भई २० दिनदेखि आइसोलेसनमा छन् ।

यस्तै नगरपालिकाले शंकरनगर आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरको संख्या थप गर्ने निर्णयसमेत गरेको छ । कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्युवरण गर्न परिरहेका खबर आइरहँदा तिलोत्तमाले आइसोलेसनमा अक्सिजन सिलिन्डरको संख्या ६ बाट २० पुर्‍याउने निर्णय गरेको हो ।

हाल आइसोलेशनको क्षमता ४० बेड रहेकोमा बेडको संख्या पनि बढाउने निर्णय सिसिएमसी बैठकले गरेको कार्यवाहक नगर प्रमुख चौधरीले जानकारी दिइन् ।

हाल तिलोत्तमाको आइशोलेसनमा अन्य पालिकाबाट जाँच भई आएका २२ जना संक्रमित रहेका छन् । बैठकले संक्रमितहरुलाई घर-घरमा आयुर्वेदिक जडिबुटी पुर्‍याउने कार्यक्रमलाई निरन्तर दिने निर्णय समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले कोरोना महामारी शुरु भएपछि संघीय सरकारबाट संक्रमण रोकथाम, उपचार तथा राहतको लागि २ लाख र प्रदेश सरकारबाट १५ लाख रुपैंयाँ नगरपालिकाको खातामा आएको जानकारी दिए ।

बैठकले दशैं-तिहार पर्वमा बाहिरी जिल्ला तथा भारत एवं तेस्रो मुलुकबाट नगरपालिकामा आउने नगरबासीलाई स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सुरक्षित तवरले घरमा बस्न र समाजमा घुलमिल नहुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment