Comments Add Comment

सेनाले देखेको राष्ट्रिय सुरक्षाका दुई मुख्य चुनौति

४ कात्तिक, काठमाडौं । नेपाली सेनाले महामारीका बीच भर्चुअल उपस्थितिमा पृतनापति समन्वयात्मक बैठक गर्दै आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गरेको छ ।

आइतबारदेखि तीन दिनसम्म भएको बैठकमा कोरोना संक्रमणको अवस्था तथा प्रतिकार्य एवं रोकथामको रणनीति, राष्ट्रिय सुरक्षाको अवस्था, चुनौति र भूराजनीतिक परिवेशबारे पनि छलफल भएको छ ।

जंगीअड्डाका जर्नेलहरुले हालको मुख्य चुनौति कोभिड–१९ (कोरोना) भाइरसको बढ्दो संक्रमण र त्यसबाट सिर्जित हुनसक्ने स्थितिलाई मानेका छन् । हाल नेपालमा कोरोना संक्रमणको दर विश्लेषण गर्दै सेनाले आगामी दिनमा संक्रमणको स्थिति थप जटिल बन्दै जानसक्ने आँकलन गरेको छ ।

विभिन्न मुलुकमा कोरोना भाइरसको फैलावट र नेपालमा कोरोनाको प्रवृत्तिगत विश्लेषणले पनि यसलाई संकेत गरेको सैनिक अधिकृतहरुको निष्कर्ष छ । ‘जाडो मौसमका कारण पनि कोभिड–१९ को महामारी बढ्दै जाने पुर्वानुमान गर्न सकिन्छ’, प्रधानसेनापति पूर्णचन्द्र थापाले भनेका छन्, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नुहोला ।’

संक्रमण रोकथाम तथा प्रतिकार्यका लागि अग्रमोर्चामा रहेर काम गर्नुपर्ने भएकाले आफ्ना फौजको सुरक्षामा विशेष ध्यान दिनुपर्ने पनि उनले भनेका छन् । ‘संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन सबैलाई निर्देशित गर्दछु’, थापाले भनेका छन् ।

महामारीको नियन्त्रणका लागि हालसम्म सेनाले गरेको काम पनि उपलब्धिमुलक भएको जर्नेलहरुको ठम्याइ छ । विदेशमा अलपत्र नागरिकको उद्दार, व्यवस्थापन, स्थलमार्गबाट आउने नागरिकको सहजिकरण, क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनसँगै प्रतिकार्यमा सेनाले खेलेको भूमिकाबारे पनि छलफल भएको एक अधिकृत बताउँछन् ।

सम्मेलनमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको विषयमा समेत छलफल भएको छ । उनलाई यही कात्तिक महिनाभित्र नेपाल ल्याउने गरी जंगीअड्डाले तयारी गरेको छ । यद्यपि, छलफलमा केके भए भन्ने विषय जंगीअड्डाले गोप्य राखेको छ ।

उपत्यकाबाहिरका जर्नेलहरुले भर्चुअल उपस्थिति जनाएको सम्मेलनमा जंगीअड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग तथा कार्यालयको नेतृत्व गर्ने सहायक रथीको भौतिक उपस्थिति थियो ।

जंगीअड्डाका एक अधिकृतका अनुसार सम्मेलनमा युद्धकार्य महानिर्देशनालयले मुलुकको अहिलेको स्थितिबारे समिक्षा गर्दै चुनौतिबारे प्रस्तुतिकरण दिएको थियो । त्यसमा आन्तरिक चुनौतिका रुपमा विप्लव समूह जस्ता भूमिगत समूहलाई हेरिएको छ ।

हरेक प्रदेशमा रहेका पृतनाका नेतृत्व गर्ने उपरथीहरुले प्रदेशगत रुपमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको गतिविधिबारे पनि सम्मेलनमा विश्लेषण गरेका छन् । यद्यपि, उनीहरुले प्रदेशमा कोभिड–१९ भाइरस संक्रमणको अवस्थालाई केन्द्रमा राखेर प्रस्तुतिकरण दिएको सैनिक स्रोतको भनाइ छ ।

सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्दै अहिले विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु सक्रिय भएको बताएका थिए ।

राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको उनको भनाइ थियो ।

परिस्थिति अनुसार जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार रहनुपर्नेमा जर्नेलहरू एकमत रहेको अधिकृतहरू बताउँछन् ।

घाँटीबगर क्षेत्रमा सेनाले घोरेटो बनाउनुलाई सेनाले उपलब्धीको रुपमा प्रस्तुत गरेको छ ।

छाङरुका जनतालाई सहजतासँगै सडक निर्माणले त्यसक्षेत्रका जनतालाई राज्यको उपस्थितिको अनुभुत गराएको सैनिक अधिकृतहरुको विश्लेषण छ । यो राष्ट्रिय अण्डतासँग जोडिएको विषय भएको अधिकृतहरुको भनाइ थियो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडरु भविष्यको लागि महत्वपूर्ण मार्गनिर्देशन हुने विश्वास लिइएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment